शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

द्वन्द्वपीडितको तिहार: ‘८ भाइको निधार खाली हुने भो, सेनाले मारेको छोरीको शव टिचिङ अस्पतालमा छ’ (भिडियो)

शुक्रबार, १९ कात्तिक २०७८, १६ : ३७
शुक्रबार, १९ कात्तिक २०७८

जब हरेक वर्षको तिहार आउने गर्छ, काभ्रेकी देवी सुनारको आँखा रसाउँछन् । तिहारमा टिका लगाउने परिवारका ८ दाजुभाईको पनि मन भक्कानिन्छ । सबैतिर तिहारको उज्यालो रौनक छाए पनि देवीको तिहार अँध्यारो छ । २०६० सालदेखि न्यायको उज्यालो खोज्दै हिँडेकी उनले अझै त्यो उज्यालो भेटेकी छैनन् । बरु जो अन्याय कर्तालाई काभ्रे जिल्ला अदालतले न्यायको कठघरामा उभ्याउन फैसला गर्यो उनीहरु खुलेआम हिँडेका छन् । उल्टो देवीलाई नै मुद्दा हालेर अदालतको तारिख धाउन बाध्य पारेका छन् । 

काठमाडौंमा महिला कानुन र विकास मञ्चका साथै अन्य ४ वटा द्वन्द्वपीडितको पक्षमा काम गर्ने संस्थाहरुले संयुक्त रुपमा गरेको कार्यक्रममा अन्य द्वन्द्वपीडितका झै देवीका आँखा रसाए ।

उनले भनिन्–‘आजको दिनमा मेरो परिवारमा ८ वटा छोरा छन् । ती ८ दाजुभाइलाई टिका लगाउने मेरी छोरी मात्र थिई । राज्यले १४ वर्षकी छोरीलाई ओछयानबाट उठाएर लगेर मार्यो पाँचखाल ब्यारेकमा गोली हानेर । मेरी छोरीको लास अहिले पनि टिचिङ हस्पिटलमा छ । मैले दाहसंस्कार गरेको छैन । जहिले अपराधीलाई कठघरामा लान्छु त्यही दिन दाहसंस्कार गर्छु भनेको छु । छातीमा हात राखेर भन्नुस् त । मेरो जस्तो अवस्था भयो भने तपाईहरु कसरी खप्नुहुन्छ होला ?’ 

२०५२ सालदेखि देशमा चलेको १० वर्षे माओवादी सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्ष र विद्रोही पक्षबाट धेरै नेपाली मारिए, कैयौँ अंगभंग भए भने कैयौँ बेपत्ताको अवस्थामा रहेका छन् । ती मध्येकी एक द्वन्द्वपीडित हुन काभ्रे खरेलथोककी देवी सुनार । 

तत्कालीन माओवादी जनयुद्धका क्रममा २०६० साल फागुनमा तत्कालीन शाही नेपाली सेनाले काभ्रे खरेलथोककी १४ वर्षकी मैना सुनारलाई घरबाट उठाएर काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा चरम यातना दिएर हत्या गरेको थियो । 

तत्कालीन प्रमुख सेनानी बबी खत्रीको आदेशमा कैयौँ पटक पानीको  ठूलो भाँडोमा मैना सुनारको टाउको डुबाइएको, सैनिकहरूले उनका भिजेका हात र खुट्टामा कैयौँ पटक करेन्ट लगाइएको र पछि गोली हानेर हत्या गरेका थिए । घटनालाई ढाकछोप गर्न उनको शवको पिठ्युँमा गोली हानिएको र शवलाई तालिम केन्द्रभित्र गाडिएको थियो । पछि सेनाको हिरासतबाट भाग्न खोज्दा मैना सुनारलाई गोली हानिएको झुटो प्रतिवेदन तयार पारिएको थियो । 

छोरीको हत्यापछि न्यायका लागि देवी सुनार र उनका श्रीमानले लामो समयसम्म कानूनी लडाई लडे । २०७४ साल बैशाखमा जिल्ला अदालत काभ्रेले मैना सुनारको हत्या आरोपी तीन सैनिक अधिकृतलाई जन्मकैदको फैसला सुनाएको थियो ।

निर्दोष मैना सुनारलाई पक्राउ गरी यातना दिएर हत्या गरेका अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीहरू अमित पुन र सुनील अधिकारीलाई जन्मकैदको फैसला गरेको थियो । तर अदालतको आदेश कार्यान्वयन हुनु त परको कुरा उल्टै सेनाले आफूविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेर तारिख खेप्न बाध्य पारेको गुनासो देवीले गरिन् । 

उनले भनिन्– ‘५ वर्षअघि काभ्रे अदालतले फैसला गरेको छ, सेनाहरूलाई जन्मकैदको । अहिले उल्टै सेनाहरुले सर्वोच्चमा मुद्दा हालेर मैले तारिख खेपिरहेको छु । त्यसैले यो देशमा गरिबका लागि मात्रै कानुन हो, धनी मानी, हैसियतवालाका लागि कानून हैन । हामीले सडकमा कराएर मात्र केही हुने हैन । कि हामीले पनि मान्छे मार्नेलाई मार्न सुरुवात गर्नुपर्यो ।’

उनले द्वन्द्वपीडितका परिवार न्याय नपाई मरेको बताउँदै कतिपय द्वन्द्व पीडितका सन्तान उचित शिक्षा दीक्षाको अवसरबाट समेत बञ्चित हुनुपरेको बताइन् । भोलिका दिनमा द्वन्द्व रोक्नका लागि द्वन्द्व पीडितलाई न्याय दिन र प्रभावकारी कानून बनाएर लागू गर्न उनको माग छ । 

सरकार र विद्रोही पक्षले विस्तृत शान्ति सम्झौता गरेको आउँदो मंसिर ५ गते १५ बर्ष पुग्दैछ । तर अझैपनि द्वन्द्वपीडितले न्याय पाउन नसकेको र सरकारले शान्ति सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउन नसकेको आवाज उठिरहेको छ ।  

हेर्नुहोस् भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप