आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

शेरबहादुरजीले बोलेपछि तरंग आयो, संशोधन नगरी एमसीसी पारित हुँदैन : प्रचण्ड

शुक्रबार, १९ कात्तिक २०७८, १५ : ४१
शुक्रबार, १९ कात्तिक २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको स्पष्ट पारेका छन् । एमसीसी पारित गर्ने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको विषले देशभरि तरंग आएको बताउँदै प्रचण्डले संशोधन नगरी एमसीसी पारित नहुने बताएका छन् ।

देउसी खेल्न खुमलटारस्थित आफ्नो निवासमा आइपुगेको कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी परिवारसँग कुरा गर्दै प्रचण्डले एमसीसी सम्झौता पहिले सही नै भए पनि बीचमा थपिएका प्रवाधानहरुले प्रश्न उब्जाएको बताए ।

‘हिजो प्रधानमन्त्री शेरबहादुरजीले एउटा महाँ बोलिदिनुभएछ प्रचण्डजीले र मैले चिठी पठाइसकेका छौं भनेर । देशैभरि साथीहरुको तरंग पैदा भएको छ’ प्रचण्डले भने, ‘त्यस्तो चिठी पठाएको हैन । पछि प्रधानमन्त्रीजीले त्यस्तो भनेको त होइन भनेर आफैंले सच्याउनुभएको छ ।’

एमसीसी सम्झौता नसच्याई पारित नहुने बताउँदै प्रचण्डले अगाडि भने, ‘हामीले भनेको के हो भने देशमा सबै दलहरूसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसको निम्ति हामीलाई समय पनि चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ, त्यसको निदान कसरी गर्न सकिन्छ, उपाय निकाल्छौँ भनेर लेखेको चिठी हो । हामी पास गर्छौं भनेर लेखेको चिठी होइन । यो कुरा प्रष्ट होस् ।’

विदेशी सहायता स्वीकार गर्नु स्वभाविकै हुने भएता पनि एमसीसीमाथि प्रश्न उठेको प्रचण्डले बताए । उनले भने, ‘अमेरिकाले, बेलायतले या दुनियाँको कुनै पनि विकसित देशले दिएको सहयोग नलिने भन्ने चाहिँ हुँदैन । अनुदान सहयोग दिने र लिने कुरा सामान्य कुरा हो । तर, यो एमसीसीमा यति धेरै बहस विवाद किन भयो भने पहिलो सुरुमा सहमति हुँदा यो एमसीसी सम्झौता संसदमा लानुपर्ने र संसदबाट अनुमोदन गर्नुपर्ने केही कुरा थिएन । अमेरिकाले सहयोग दिने र नेपालले लिने भन्ने मात्रै थियो ।’

माओवादी अध्यक्ष प्रचण्डले थपे, ‘त्यतिबेला हामी पनि सरकारका थियौं । शेरबहादुर देउवाकै नेतृत्वमा सरकार थियो । त्यतिबेलाको अर्थमन्त्रीले सम्झौता गरेको हो । त्यो सम्झौतामा पार्लियामेन्टमा लगेर ऐन सरह हुने गरी अनुमोदन गर्ने कुरा थिएन । पछि त्यसमा त्यो थपियो । त्यसो हुँदा यसका पछाडि के हो त रहस्य भन्ने प्रश्न खडा भयो र यो विवाद बन्न आएको हो ।’

सत्ता गठबन्धनका नेता प्रचण्डले एमसीसी यथास्थितिमा पारित नहुनेमा जोड दिँदै भने, ‘यसको समाधान पनि ओरिजिनल सहमतिसँग डराउनुपर्ने कुरा छैन, बीचमा थपिएका कुराले गर्दा नेपालको राष्ट्रिय हितमाथि नै असर पर्ने भन्ने आम जनतालाई लागिसकेपछि यसलाई सम्वोधन नगरिकन यसलाई पारित गर्न सकिँदैन ।’

एक अर्को प्रसंगमा माओवादी अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धन चुनावसम्मै जाने र चुनावमा सकेसम्म तालमेल गरिने बताए । उनले भने, ‘ हिजो प्रधानमन्त्रीजीले पनि त भनिसक्नुभएको छ, यो गठबन्धन चुनावसम्म जान्छ, यो गठबन्धन राम्रैसँग जान्छ । यसैले चुनाव गराउँछ । चुनावमा हामी सकेसम्म तालमेल गरेर जान्छौं ।’  


     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप