शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

रवीन्द्र मिश्रलाई प्रकाशमानको प्रश्न : सानो पार्टी पनि जोगाउन नसक्नेले ठूला कुरा गर्ने ?

शुक्रबार, १९ कात्तिक २०७८, १३ : १६
शुक्रबार, १९ कात्तिक २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले देशको विकासका लागि काँग्रेसको विकल्प नरहेको बताएका छन् । शुक्रबार नेपाल संवत्का अवसरमा बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले नेपालका कम्युनिष्ट पार्टीहरुले जनतामा भ्रम मात्रै सिर्जना गरेको भन्दै काँग्रेस मात्रै भरोसा गर्ने पार्टी भएको बताए ।

‘पहिलो संविधानसभामा चार जना कम्युनिष्ट प्रधानमन्त्री बने तर संविधान बनाउन सकेनन् । दोस्रो संविधानसभामा काँग्रेसको सरकार बन्यो । संविधान पनि बन्यो। दुई तिहाईको कम्युनिष्ट सरकार बन्यो तर काम गर्न सक्यो त ?’ नेता सिंहको प्रश्न छ ।

भ्रम फैलाउने प्रतियोगिता भए एमाले अध्यक्ष केपी शर्मा ओलीले ओलम्पिक नै जित्ने भन्दै सिंहले कटाक्ष गरे । ‘कम्युनिष्टहरुले जनतामा भ्रम फैलाएर भोट माग्छन् ।  भ्रम फैलाउने प्रतियोगिता भए ओलम्पिक जित्छन् ओलीले । संसार भरमै यति झुटो र भ्रम फैलाउने काममा नेपालका कम्युनिष्टहरुले मात्रै सक्छन्,’ उनले भने । 

यस्तै नेता सिंहले काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्नेमा जोड दिए । उनले काम नगर्ने तर लोकप्रिय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणी गरे ।

नेता सिंहले  नयाँ नारा मात्रै दिएर राजनीति सम्भव नहुने बताए । ‘मेरो निर्वाचन क्षेत्रलाई एलिटहरु बस्ने ठाउँ भन्छन् । पढेलेखेका मतदाता छन् । चुनावका बेलामा नयाँ नयाँ पार्टीहरू आउँछन् । काम केही गरेको  हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ,’ उनले भने । 

०७४ को चुनावमा आफूसँग प्रतिस्पर्धा गरेका विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नै पार्टी जोगाउन नसकेको भन्दै ठूला कुरा गर्नुको अर्थ नरहेको बताए ।

 ‘(विवेकशील साझा)पार्टी सानो छ, तर पटकपटक विभाजित भएको छ । आफ्नै पार्टी जोगाउन नसक्ने तर ठूला कुरा गर्ने ? यीनीहरुको काम छैन भन्ने कुराको पर्दाफास भएको छ ।’ 

उनले जनतालाई विश्वास दिलाउन सक्ने व्यक्ति मात्रै नेता हुने बताए । ‘पोलिटिक्सको ‘पी’ पनि नजान्ने तर नयाँ नारा दिनेहरुबाट जोगिनुपर्छ । जनतालाई विश्वासमा दिलाउनु पर्‍यो । गफ गरेर मात्रै हुँदैन । काम गर्नुपर्‍यो । काम गर्न सजिलो छ र ? नेता सिंहले  भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप