शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कलाकारको तिहार योजनाः भाइटीकादेखि ‘बहिनीटीका’ सम्म

भाइटीका नलगाए पनि उपहार दिने मनसुवा
शुक्रबार, १९ कात्तिक २०७८, ११ : १३
शुक्रबार, १९ कात्तिक २०७८

तिहारले छपक्कै छोपिसक्यो । झिलिमिली बत्ती, थरिथरिका फूलमाला, मिठाई र मसलाले सिँगारिएका छन् सहर । सेलिब्रेटीलाई तिहार नलाग्ने कुरै भएन । किनमेलदेखि गाउँ फर्किनेसम्मको हतारो उनीहरुमा देख्न सकिन्छ । दिदीभाइ तथा दाजुबहिनीको प्रेमको पर्वका रूपमा चिनिने तिहारमा लक्ष्मीको पूजा, देउसीभैलोमा रमाउनेदेखि दिदीबहिनीसँग भाइटीका थापिन्छ । तिहार मनाउने सबैको आ–आफ्नै योजना छ । कलाकारको भने तिहार योजना यस्तो छ ।

शैलेन्द्र सिंखडा (हास्य कलाकार) :
तिहार मेरो मनपर्ने पर्व हो । देउसी भैलो पनि असाध्यै मनपर्छ । पछिल्लो समय हास्यब्यङ्ग्यमार्फत् देउसी भैलो कार्यक्रममा सहभागी हुने गरेको छु । यो पटक ‘हासने’ले संयोजन गरेको आलुपार्टीमा सहभागी हुन्छु । तिहारको मनपर्ने परिकार सेलरोटी हो । जाडोको लागि उपयुक्त कपडा दिदीबहिनीलाई तिहारमा उपहार दिने मेरो चलन छ । मैले तिहारमा नगर्ने कर्म भनेको जुवातास र मदिरा सेवन हो ।

देविका बन्दना (गायिका) :
तिहारका लागि बुटवल आएकी छु । सपिङ, घरको सरसफाइसमेत गर्दैछु । तिहार रमाइलोसँग मनाउने विचार छ । केही बर्ष अगाडिसम्म देउसी भैलो खेल्थें । गत बर्षझंै यो पटक पनि कोरोनाको कारणले देउसी भैलो खेल्न जाँदिन । घरमै रमाइलो गर्ने, सेलरोटी खाने, लक्ष्मी पूजा गर्न, रंगोली बनाउने यस्तै यस्तै हो मेरो तिहार । दाजुभाई नभएकाले भाइटीका लाउँदिन । दिदीहरुकहाँ गएर मनाउँछु । दिदी बहिनीलाई जहिले पनि उपहार दिने मेरो बानी छ ।
   
रजनी केसी (अभिनेत्री) :
तिहार उज्यालोको पर्व हो । झिलिमिली बत्ती मलाई धेरै मनपर्छ । यो पटकको तिहारका लागि मेरो त्यस्तो केही योजना छैन । भाइलाई भाइटीका लगाइ दिएर आफ्नो हातले बनाएको खुवाउने योजना छ । भाइका लागि मेरो सबैभन्दा ठूलो उपहार उसको सुस्वास्थ्य र दीघार्युको कामना नै हो ।

दीपाश्री निरौला (अभिनेत्री/निर्देशक) :
तिहारको देउसी भैलो, झिलिमिली बत्ती धेरै मनपर्छ । पहिले साडी, चोलो नेपाली ड्रेस लगाएर खेल्थे । अहिले पनि घर घर हिँडेर खेल्न मनपर्छ । तिहारमा अघिल्लो दिन पकाइएको सेलरोटी चियामा चोपेर खान मनपर्छ । 
तिहार आफ्नै जन्मस्थान बिराटनगर गएर मनाउँछु । तिहारमा दाजुभाइलाई पुज्न पाउँदा खुसी लाग्छ । भाइहरुले कसैले लुगा र कसैले पैसा दिन्छन् । 

जीतु नेपाल (हास्य कलाकार) :
अहिले तिहारको किनमेल र घरको सरसफाइमा ब्यस्त छु । तिहार परिवारसँग सामान्य तवरले मनाउँछु । दिदी बहिनीसँग टीका थाप्छु । रमाइलो र परम्परा जोगाउन हाम्रो टोलमा रहेको सामाजिक संस्थाबाट केही घरमा देउसी भैलो खेल्ने सोचमा छु । तिहारमा जताततै झिलिमिली बत्ती, सेलरोटीको बास्ना हुन्छ । दिदी बहिनीका लागि उपहार किनेको छैन, नगदै दिनु विचार गरेको छु यसपटक । 

सञ्चिता लुईटेल (अभिनेत्री) :
फिल्म ‘राजेश हमाल’को सुटिङ सकाएर केही दिन भयो काठमाडाँै फर्किएकी । तिहार उज्यालोको चाड भएकोले पनि धेरै यो मनपर्छ । झिलिमिली बत्ती, फूलमालाको यो फेष्टिभल काठमाडौंमा राम्रो देखिन्छ । देउसी भैलो सानोमा खेल्थे, अहिले खेल्न जान्न । अरुले खेलेको हेर्न मनपर्छ, हेर्छु । तिहारको मनपर्ने पक्ष भनेको लक्ष्मीपूजा हो । मेरो दाईभाई कोही नभएकोले हामी तीन दिदीबहिनी नै आ–आफै ‘बहिनीटीका’ थाप्छौ र एक अर्काेलाई गिफ्ट दिन्छौ ।

भरतमणि पौडेल (कमेडियन) :
तिहारको रौनकले अहिले अलिअलि छोएको छ । केही दिनमा पुरै छोला । यो पटकको तिहार झापा मामाघरमा मनाउँदैछु । तिहार ब्रत बसेजस्तो गर्दा कहाँ रमाइलो हुन्छ र ! देउसी खेल्छु । सबैतिर झिलिमिली बत्तिले भरिएको, दैउसी भैलोको आर्शिवाद तिहारको मनपर्ने पक्ष हो । दिदीबहिनीको माया र आर्शिवादले हर्षोल्लास हुने पक्का छ । भाइटीका बहिनीको हातबाट लगाउँछु । लुगा उपहार दिने सोचेको छु ।

नम्रता सापकोटा (अभिनेत्री) :
तिहार छपक्कै लागेको छ । सधैझै परिवार र छरछिमेकीसँग मनाउँछु । लक्ष्मी पूजा, काग पूजा, कुकुर पूजा, भाइटीकालगायत सबै पूजा मनपर्छ । भाइलाई भाइटीका गरेर गिफ्ट दिन्छु, किन्न भने बाँकी नै छ ।

दुर्गा खरेल (गायिका) :
मलाई तिहार सबैभन्दा मनपर्ने र रमाइलो लाग्ने पर्व हो । तिहार खानेकुराले भन्दापनि फूलको मौसम भएकाले मन परेको हो । दाजुभाईसँगको सम्बन्ध बलियो होस् भनेर भाइटीका गर्दै आएको छु । आफूलाई धेरै मनपर्ने उपहार उनीहरुलाई दिन्छु ।

कर्णराज गिरी (गायक) :
यो बर्ष आमा बित्नु भएकोले दसैँ, तिहार केही छैन । दिदीबहिनीको हातको टीका थाप्न पहिले सधंै गाउँ जान्थे । यो पटक काठमाडौंमै बसेर देउसी भैलो खेल्छु । सानोमा तिहारमा देउसी भट्याउन लगाउँथे, त्यही भएर पनि अहिले गायक भएँ जस्तो लाग्छ । मेरो दुई दिदी छन् । टीका थाप्न नमिले पनि उनीहरुको लागि उपहार किन्छु । 

लक्ष्मी आचार्य (गायिका) : 
म अहिले गृह जिल्ला सुदूरपश्चिम आएकी छु । घरपरिवार, भाइहरुसँग रमाइलो गर्दै, गाउँमा पुराना सथीभाइ भेटघाट गरेर तिहार मनाउँछु । देउसी भैलो धेरै खेल्ने योजना हो । यो दिदीबहिनी र दाजुभाइको सम्बन्ध प्रगाढ बनाउने पर्व हो । तिहारको बहानामा धेरै समय टाढिएका दिदीबहिनी, दाजुभाइको भेट हुन्छ । भाइलाई भाइटीका गरेर आफूले पकाएको मनपर्ने खानेकुरो दिन्छु । मेरो विचारमा उपहार महत्वपुर्ण कुरो होइन, आर्शिवाद र शुभेच्क्षा महत्वपूर्ण कुरो हो ।

सुष्मा अधिकारी (अभिनेत्री) :
विगत दुई बर्षदेखि कोरोनाको कारणले घरभित्र पर्व मनाउन बाध्य भयांै हामी । यो पटक कोरोना सामान्य भएकोले रौनक छ । तिहारको भाइटीकाका लागि बुटवल जाँदैछु । तिहार दाजुभाई दिदीबहिनीसँग रमाइलो गरेर बिताउने योजना छ । म गुलियो धेरै खाँदिन । तर, पनि सेलरोटी धेरै मनपर्छ । देउसी भैलो खेल्न जाँदिन । तर आफ्नो घरमा खेल्न आउनेसँग भने रमाउँछु ।

प्रेम पाण्डे (अभिनेता) : 
तिहारको रौनकले अहिलेसम्म छोएको छैन । घरमै बसेर मनाउने हो । देउसी भैलो खेल्ने ‘सियोर’ छैन । तिहारको महत्वपूर्ण खानेकुरो भनेको सेल र मसला हो । तर यसपाली घरमा यस्ता सबैकुरो बन्द छ । 

साक्षी लम्साल (अभिनेत्री) :
भोलिसम्म काम भएकाले तिहारको रौनकले छुन सकेको छैन । जताततै झिलिमिली बत्तीले गर्दा तिहार आएको महसुस हुन्छ । एउटा दाजु त्यो पनि विदेश भएकोले सानो मामाको छोरालाई टीका लगाउँछु । देउसी भैलो पहिले अलिअलि खेल्थे । पछिल्लो समय लाज लाग्न थालेको छ । तिहारको मनपर्ने पक्ष भनेको लक्ष्मी पूजा, झिलिमिली बत्ती हो ।

गजित विष्ट (अभिनेता) :
दसैँ, तिहारले मनमा एक किसिमको उर्जा, उमंग पैदा गर्छ । साथीभाई, परिवार भेटघाट गरेर रमाइलो गर्ने बिचार छ । तिहार मेरो मनपर्ने चाड हो । यो पटक पनि दिदीबहिनीको हातबाट भाइटीका लगाउँछु । गत तिहारमा बहिनीलाई टिभी उपहार दिएको थिएँ । यो पटक पनि केही दिने सोचमा छु । मलाई तिहारको सेलरोटी धेरै मनपर्छ । परिवारसँग अलिअलि तास पनि खेलिन्छ । यो पटक देउसी भैलो खेल्ने केही योजना छैन । घरमा खेल्न आउनेसँग नाच्छु ।

जानु गौतम (गायिका) :
गतबर्ष कोरोनाले दसैँ, तिहार मनाउन निकै असर गरेको थियो । अहिले खुलेर हिँड्डुल गर्न र मनाउन सहज  छ । तिहार बिराटनगरको माइतीघरमा मनाउँदैछु । लक्ष्मी पूजा गर्ने, साथीभाइसँग देउसी भैलो खेल्ने यस्तै यस्तै हो मेरो तिहारको योजना । भाइटीका लगाएर दाजुभाइलाई ढाकाटोपी उपहार दिन्छु ।


श्रीदेव भट्टराई (अभिनेता) :
यो तिहारमा म गाउँ जान्न, काठमाडौंमै मनाउँछु । तिहार मेरो मनपर्ने चाड हो । धेरै ठाउँबाट देउसी भैलो खेल्न निम्तो आएको छ, खेल्न जान्छु । दाजुभाईसँग दिदीबहिनीको सुमधुर सम्बन्ध तिहारको  राम्रो पक्ष हो ।

ऋषिराज आचार्य (फिल्म निर्देशक) : 
तिहारको रौनकले छोएको छ । देउसी भैलो हाम्रो परम्परा भएकोले थोरै समय भएपनि खेल्छु । तिहारमा झिलिमिली बत्ती बाल्न मनपर्छ । दिदीको हातबाट टीका र आशिर्वाद थाप्छु । दिदीलाई उपहार दिन्छु ।
 
प्रभा बर्ताैला (गीतकार) :
झिलिमिली बत्तीले जताततै उज्यालो हुने भएकोले तिहार सबैभन्दा बढी मनपर्छ । तिहारमा देउसी भैलो पहिले धेरै खेल्थें । केही बर्षयता खेल्न पाएकी छैन । तिहारमा टाढा भएका दाजुभाइसँग पनि भेट हुन्छ । भाईलाई भाइटीका गर्दै लुगा र मनपर्ने खानेकुरो मसलाको साथमा दिन्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप