ad
पर्व

जनजाति समुदायमा तिहार

person explore access_timeकात्तिक १९, २०७८ chat_bubble_outline0
photo : www.flickr.com

झिलीमिलीको पर्व हो दीपावली । उज्यालो कसलाई पो मन पर्दैन र । तर, २०४६ सालको आन्दोलनपछि विभिन्न जनजातिमा दसैँ बहिष्कार प्रकरणसँगै दीपावलीमा पनि ग्रहण लाग्यो । खासगरी पूर्वी क्षेत्रका किरात अगुवाहरुले हिन्दूकेन्द्रित चाडपर्व आफ्नो नभएको तर्क अघि सारेपछि यस्ता चाडपर्व मनाउने–नमनाउने दुई धार देखिए ।


नेपाल बहुजातीय, बहुधार्मिक अनि बहुसाँस्कृतिक देश हो । त्यसैले यहाँ सबै जातजाति र समुदायका आ–आफ्नै विशिष्ट चाडपर्वहरु छन् । यी चाडपर्वमा एकले अर्कालाई सम्मान र आत्मसात गर्ने सहअस्थित्वको भाव पछिल्लो समयमा विकसित हुन थालेको छ । समय क्रमसँगै दीपावली पनि सबै जातजातिको साझा चाड बन्न थालेको छ ।



यति हुँदाहुँदै पनि हिन्दु आर्य समुदायमा दीपावलीको जुन धार्मिक महत्व छ, आदिवासी जनजाति समुदायमा भने यसलाई बेग्लै किसिमले लिने गरिएको पाइन्छ ।





आखिर कसरी मनाइन्छ त विभिन्न समुदायमा दीपावली ?



मगर, राईहरु रमाउँछन् तिहारमा



मगर समुदायका जानकार लेखक टीकाराम उदासीका अनुसार मगर समुदाय तिहारमा निकै रमाउँछ । तिहारमा तोरण टाँगेर गाउँघर सजाइएको हुन्छ । तिहारमा नाचिने मारुनी, पैसेरु नाचले मगर गाउँ गुञ्जायमान हुन्छ । एक गाउँबाट अर्को गाउँको नाच साटासाट हुन्छ, यसलाई भैलो ख्वाउने भन्छन् । भैलो ख्वाउँदा जाँडरक्सीका साथ राँगा काटेर, सेल रोटी टक्र्याएर नाच टोलीलाई भव्य खानपिनका साथ स्वागत गर्ने चलन छ ।

लक्ष्मी पूजाका दिन बिहान गाई, गोरुको पूजा गरेर तिनलाई पानीमा नुन, पिठो हालेर ख्वाइन्छ । भाइटीका लगाउने चलन पनि छ तिहारमा । दाजुभाइ टीकाको दिन आउन नसके उनीहरुको माला, टीका छुट्याएर राखिएको हुन्छ ।

मगर समुदायले तिहारको भैलीको उत्पत्ति आफ्नै समुदायबाट भएको तर्क गर्दै आएका छन् । पाल्पाका राजा बलिहाङलाई लिन काल आउने भएपछि उनले प्रजाहरूसँग सबैतिर बत्ती बालेर ‘फाइलो’ अर्थात बाँचियो भनेर गाउँदै बस्नु भनेको र त्यस्तो दृश्य देखेर काल पनि फर्केर गएको कथा मनोज घर्ती मगर उल्लेख गर्छन् ।

बान्तवा भाषाको मासिक पत्रिकाका सम्पादक पदम राईका अनुसार राई जातिमा दसैँ बहिष्कारको कुरा उठे पनि तिहार भने दिल खोलेर नै मनाइन्छ । कोरोना कहरले देउसी भैलो बन्द छ । तर, अरु वर्ष राई गाउँहरुमा देउसी भैलो खेलिन्छ । दीयो बालेर लक्ष्मी पूजा गरिन्छ ।

डा. भक्त राई भन्छन्, ‘तिहारमा खेलिने देउसी–भैली यहाँका रैथाने जातिबाटै सुरु भएको र पछि खस–आर्यको आगमनपछि सामाजिक, सांस्कृतिक अन्तर्घुलन भई तिहारमा कुकुर, गोरु, गाई र लक्ष्मीको पूजा गर्ने प्रचलन थपिएको हो ।’ उनको विचारमा नेपाली साझा संस्कृतिका रूपमा तिहारले स्थान बनाइसकेकाले यसलाई अंगीकार गर्नुको विकल्प छैन ।

थारूको डेवारी

आम नेपालीले घर–घरमा बत्ती बालेर उज्यालो बनाएजस्तै थारू जातिले पनि बत्ती बालेर नै यो पर्व हर्षोल्लासका साथ मनाउँछन् । यसलाई पश्चिमा थारूहरूले डेवारी अनि पूर्बिया थारूहरूले सुकराइत भन्छन् ।

नेवार समुदायको योमरीझैं लाग्ने ढिक्री परिकार थारूहरूको डेवारीको प्रमुख परिकारमध्ये एक हो । उज्यालोको प्रतीकका रुपमा दीयोको आकारमा बनाइन्छ ढिक्री । घरको देउता कोठा (डेहुरार)मा पूजा गर्दा देउतालाई ढिक्री नचढाइ खान पाइँदैन ।

डेवारी आउनु पहिल्यै घर सफा सुग्घर बनाइन्छ । किचली माटोले पोतिन्छ । । थारू समुदायमा काग अनि कुकुर तिहारले खासै अर्थ राख्दैन । लक्ष्मी पूजाका दिन बिहान गाई, गोरुको पूजा गरेर तिनलाई पानीमा नुन, पिठो हालेर ख्वाइन्छ लक्ष्मी पूजाको बेलुका सर्वप्रथम डेहुरार (देउता कोठा) बाट दीयो बाल्ने काम हुन्छ ।

गरढुरिया (घरमुली) ले दीयो बालेर देवतालाई ढिक्री, रक्सी, जल प्रसाद चढाउँछन् । कहीँ–कहीँ प्रसाद चढाउँदै ‘भाग अलच्छिन डुर, आ लक्ष्मी घरे’ भन्दै नाङलो पनि ठटाइन्छ । घरभित्र दीयो बालेर सकिएपछि घर बाहिर आँगन, पँधेरा, गोठ लगायत स्थानमा पनि दीयो बाल्दै ढिक्री लुटाइन्छ । ढिक्री लुटाउनु भनेको केटाकेटीहरुलाई ढिक्री बाँड्नु हो । पूजा सकिएपछि ढिक्रीसँगै जाँडरक्सी, सुँगुरको मासु, माछा, पोंइ, पिंडालु लगायत तरकारी खाने चलन छ ।

लक्ष्मीपूजाको दिनदेखि घरघरमा गएर बर्का नाच गर्ने चलन थियो । अब यो नाच गाउँको अगुवाको घरमा सीमित भएको छ । फर्मायसका रुपमा अरुले यो नाच मगाउन सक्छन् । त्यस्तै, रातभरि झुमरा नाच पनि गरिन्छ । हरेरी पूजाबाट शुरू गरिएको बर्का नाच डेवारीमा बरघरको घरमा सकाएर मरूवामा गई डेसबँढ्या गुरूवाबाट पूजापाठ गरी विधिवत अन्त्य गरिन्छ ।

थारु समुदायमा पहिले दीयो बालेर लक्ष्मीपूजा त गरिन्थ्यो, तर भाइटीका लगाइन्नथ्यो । साहित्यकार छविलाल कोपिला भन्छन्, ‘भाइटीका थारू समुदायमा आयातीत संस्कृति हो । अरुको देखासिकीमा आएको यो संस्कृति थारूहरुले अंगीकार गरी राख्नु जरुरी छैन । किनकि दाजुभाइले दिदीबहिनीका लागि निस्राउका रुपमा कोशेली दिन जाने माघ पर्व छँदैछ ।’

उता मानवअधिकारकर्मी सुशील चौधरी समयअनुसार संस्कृति परिवर्तन हुने गरेकाले थारू समुदायमा भाइटीका भित्रिनुलाई राम्रै चलन मान्छन् ।

तामाङ र लिम्बूमा छैन तिहारको रौनक

भाषाविद् अमृत योञ्जन तामाङका अनुसार तामाङ समुदायमा छयालिसको आन्दोलनपछि तिहारको रौनक छैन । उनले रातोपाटीसँग भने, ‘पञ्चायती व्यवस्थामा सरकारी उर्दी जारी हुँदा हिन्दू चाडपर्व मान्नैपर्ने बाध्यता थियो । छयालिसपछि पहिचानको आन्दोलनको उठान भयो । यस क्रममा किरात समुदायका धेरै जनजातिले दसैँ वहिष्कार गरे । तर, तिहारको सवालमा आन्दोलनकारीबीच नै अलमल भयो । यसले तिहारको ह्याङ भने केही मात्रामा जारी छ ।’ तामाङ अगाडि भन्छन्, ‘हाम्रोमा भाइटीका पनि खासै हुँदैन ।’

कञ्चनजंघा बोर्डिङ स्कूल, ताप्लेजुङका प्रिन्सिपल काजीमान पालुङ्वाका अनुसार तिहार लिम्बूहरुको मौलिक पर्व होइन । उनी भन्छन्, ‘याक्थुङ लिम्बू चेली माइतीहरु बीचमा  फूल र माला लेनदेन गर्नुहुन्न भन्ने मुन्धुममा पाइन्छ । बलिहाङ तङ्नामका रुपमा याक्थुङ लिम्बुहरुले मनाउँदै आएको तिहार चाड याक्थुङ लिम्बुहरुको चाड हो कि होइन भन्ने कुरा यहाँबाट प्रष्ट हुन्छ ।’                                                                                                                                      

पालुङ्वाको कथनअनुसार फूलले खेल्दा माइतीले हानेको फूलको थुँंगाले चेलीको बक्षस्थलमा लागेकाले चेलीको मृत्युु भएको मुन्धुम पनि वाचन गरिन्छ । त्यसैले, फूलले रंगिने तिहार लिम्बूहरुको होइन । तर, आफूले तिहारको सम्मान गर्ने उनको भनाइ छ ।                                           

उता सानोठिमी क्याम्पसका उपप्राध्यापक अमर तुम्याहाङका अनुसार कुन जातको फूलले लागेर लिम्बू चेलीको मृत्यु भएको किंवदन्तीमा खुल्दैन । उनी भन्छन्, ‘०४६ सालको आन्दोलनपछि तिहार ओझेलमा परेको थियो । दार्जीलिङतिरका लिम्बूहरुको देखासिकीमा नेपालतिरका लिम्बूहरुले फेरि पनि यसलाई अंगालेका छन् ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।