राजधानीका पुलिस : पार्टी प्यालेसमा अनुसन्धान, टेन्टमा बास
काठमाडौँ – २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण भीमसेन थापाको नासो धरहरा मात्रै ढलेन, ‘हनुमानढोका प्रहरी’को निकै पुरानो जग बस्नै नमिल्ने गरी हल्लियो । आफ्नो पुरानो थातथलोको जग हल्लिएसँगै अस्थायी बास खोज्दै टेकु पुगेको काठमाडौँ प्रहरी र अपराध महाशाखा अहिले पनि टेन्टमा बसेर काठमाडौँका महलवालाहरूको सुरक्षा गरिरहेको छ । साढे दुई वर्षदेखि असार साउनको वर्षात र पुस–माघको ठण्डी झेल्दै काठमाडौँको प्रहरीले गरेको कामको फेहरिस्त उतार्ने हो भने पत्रिकाका दर्जन पाना भरिन्छन् ।
म्याच फिक्सिङ, घैँटे इन्काउन्टर, ८८ किलो तस्करीको सुन नियन्त्रण, करोडौँ अवैध डलर बरामद, दुगडको कालोबजारी, भेनिसा हत्यकाण्ड, १६ युवती ठग्ने जीवन तामाङ प्रकरण जस्ता चर्चित घटनाको सफल अनुसन्धान गरेको काठमाडौँ प्रहरीका दुई निकाय ‘महानगरीय अपराध महाशाखा’ र ‘महानगरीय प्रहरी परिसर काठमाडौँ’ अझै कति वर्ष टेन्टमा बस्ने हुन् ?
पहिले ‘हनुमानढोका’को नामले प्रख्यात काठमाडौँ प्रहरीको मुख्यालय भूकम्पका कारण बस्नै नमिल्ने भएपछि टेकु सरेको थियो । एक निजी बैङ्क्वेट र नेसनल ट्रेडिङ लिमिटेडको संरचनामा अस्थायी रूपमा बस्दै आएको काठमाडौँ प्रहरीको स्थायी बसोबासको टुङ्गो अझै लागिसकेको छैन ।
भूकम्पपछि खुल्ला भूभाग खोज्दै टेकु पुगेको काठमाडौँ प्रहरी र अपराध महाशाखा सुरुवाती दिनमा ‘सासा बैङ्क्वेट’मा बसेका थिए । टेकुको मूल सडकसँगै साँध सिमाना जोडिएको नेसनल ट्रेडिङको पछाडितिर रहेको ‘सासा बैङ्क्वेट’मा करिब १५ दिन बसेपछि परिसर नेसनल ट्रेडिङमा बस्ने थालेको थियो भने अपराध महाशाखा अहिले पनि पार्टी प्यालेसमै छ ।
हनुमानढोकामा एकाघरमा बसेको प्रहरीका यी दुई निकाय अहिले ओल्लो घर, पल्लोघरका छिमेकी जसरी अस्थायी दिन काट्दै छन् । दुवैको आँगन एउटै छ ।
रवीन्द्र धानुकको अन्डर ग्राउन्ड अफिस
आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रवीन्द्र धानुकले आफ्नो कार्यकक्षमा एउटा घट्ना सुनाए । ‘अस्ति हाम्रो एकजना जवान यहाँ आए, उनको मुहार सुन्निएको देखेपछि मैले सोधेँ, के भयो ?’ एसएसपी धानुक भन्छन्– ‘अचानक चिसो बढ्यो, टेन्टले चिसो धान्न नसकेपछि उसको मुख सुन्निएको रहेछ ।’
काठमाडौँमा चिसो बढिसकेको छ । बिहान–बेलुकाको जिउ कपाउने चिसोमा काठमाडौँका प्रहरीहरू बस्ने ब्यारेक व्यवस्थित छैन । बाध्यता कतिसम्म छ भने तल्लो दर्जाका सुरक्षा अधिकारीहरू आलोपाले खाटमा सुत्न बाध्य छन्, त्यो पनी टेन्टमा ।
‘नेसनल ट्रेडिङसँग कुरा गरेर केही समयका लागि यही भवनको माथिल्लो तल्लामा सुत्ने व्यवस्था मिलाउँदै छु’ एसएसपी धानुक भन्छन्, ‘तर, त्यो हलमा सबैजना अट्दैनन्, केही जवानहरू टेन्टमै सुत्न बाध्य छन् ।’
धेरैलाई सुन्दा अनौठो लाग्न सक्छ, काठमाडौँ प्रहरी प्रमुख रवीन्द्र धानुक अन्डर ग्राउन्ड अफिसमा बसेर काठमाडौँको अपराध नियन्त्रण गर्ने योजना बनाउँछन् । नेसनल ट्रेडिङको भुइँतलामा रहेको धानुकको कार्यकक्षमा पुग्न मूल सडकतिरबाट जाँदा एक तला ओर्लनुपर्छ । ‘हरेक दिन १५० भन्दा बढी थुनुवा हुन्छन्, शौचालय र पानीको समस्या छ’ एसएसपी धानुकले भने, ‘थुनुवा कक्षको सेक्युरिटी बस्ने समस्या छ, जेनतेन व्यवस्थापन गरेका छौँ ।’
जग्गा मिल्यो, घर कहिले बन्छ ?
लामो प्रयत्नपछि बल्ल काठमाडौँ प्रहरीले जग्गा प्राप्त गरेको छ । प्रहरी प्रमुख प्रकाश अर्यालको निर्देशनपछि आफ्नो सक्रियतामा खाद्य संस्थानको नाममा रहेको ३४ रोपनी जग्गा काठमाडौँ प्रहरीको नाममा आएको एसएसपी धानुकले बताए । ‘मन्त्रिपरिषद्को निर्णयपछि स्वास्थ्य मन्त्रालय र कृषि विकास बैङ्कको पश्चिमतिरको जग्गा काठमाडौँ परिसरको नाममा आएको छ’– उनले भने– ‘अब त्यहाँ भवन बनेपछि बल्ल हामीले स्थायी छाना पाउँछौँ ।’
यसअघि लक्ष्मी बैङ्कले प्रयोग गरेर छाडेको नेसनल ट्रेडिङको भुइँतलाबाटै काठमाडौँ प्रहरीको सबै काम हुँदैन । कार्यालय प्रयोजनका लागि गोदामघरसँगै जोडेर जस्ताको टहरो बनाइएको छ, जसबाट अपराध अनुसन्धानका धेरै काम हुन्छन् ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीको कार्यकक्ष पार्टी प्यालेसको बार्दलीमा रहेको छ । अपराध अनुसन्धानमा ‘काविल प्रहरी’को छवी बनाएका लोहनीको पूरै टिम सासा बैङ्क्वेटको बार्दलीमा बसेर अपराध अनुसन्धानमा लागेको साढे दुई वर्ष भइसकेको छ ।
‘हामीसँग जम्मा एउटा मात्रै कोठा छ, टेन्टमै बसेर काम गरेका छौँ’ महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले भने– ‘स्थायी भवनमा बस्दा जत्ति सजिलो हुन्थ्यो, अहिले असजता पक्कै छ, तर पनि हामीले अपराध अनुसन्धानमा कमी हुन दिएका छैनौँ ।’
पार्टी प्यालेसँगै जाडिएको उपत्यकाभरिको अपराध अनुसन्धान गर्ने निकाय विवाहको मौसममा बज्ने बाजाको धुनबाट समेत हैरान भएको छ । बहुमूल्य सामान बरामद गरेको बेला सुरक्षित भण्डार नभएरसमेत समस्या भएको बताएँछन् एसपी उप्रेती ।
‘हामीले ८८ किलो सुनको अप्रेसन गर्दा सुरक्ष्ाित भण्डारको समस्या अनुभूत गरेका छौँ’ उप्रेतीले भने– ‘टेन्टमा अनुसन्धानको गोपनीयता राख्न पनि गाह्रो हुँदो रहेछ, अभियुक्तलाई सोधपुछ गर्ने कोठासमेत छैन ।’
थुप्रै असहजताको बीच काठमाडौँको केन्द्रभागमा ३४ रोपनी जग्गा फेला परेको छ । तर परिसर र महाशाखाका लागि कहिले पक्की भवन बन्छ भन्ने अझै टुङ्गो लागिसकेको छैन ।
भाडा माग्नेदेखि मुद्दा हाल्नेसम्म
महानगरीय प्रहरी परिसरको अस्थायी मुख्यालय टेकुमा दुई सय ५० भन्दा बढी प्रहरी कर्मचारी कार्यरत छन् । हरक्षण ड्युटीमा रहने प्रहरी कर्मचारीहरूले निकै दुःखद तरिकाले रात काट्ने गरेको पाइएको छ ।
भूकम्प गएको बहनामा प्रहरीले आफ्नो पार्टी प्यालेस कब्जा गरेको भन्दै सासा ब्याङ्क्वेटले मुद्दासमेत हालेको छ । नेसनल ट्रेडिङसँग भाडामा लिएर संरचना निर्माण गरेको ब्याङ्क्वेटले आफ्नो संरचना कब्जा गरेको भन्दै मुद्दा दायर गरेको बताइएको छ ।
यता नेसनल ट्रेडिङले पनि आफ्नो भवन प्रयोग गरेको भाडा उपलब्ध गराउन महानगरीय प्रहरी परिसरसँग पटक–पटक आग्रह गरिसकेको छ । काठमाडौँ प्रहरीले भाडा नदिएपछि नेसनल ट्रेडिङले भवन खालि गरिदिन पत्राचार गरेको लामो समय भइसकेको छ ।
केही महिनाअघि जग्गाको खोजीमा गृह मन्त्रालय पुगेका एसएसपी रवीन्द्र धानुकले तत्कालीन सह–सचिव केदार न्यौपानेलाई उक्त पत्र देखाउँदै भनेका थिए, ‘नेसनल ट्रेडिङले यसरी पत्र पठाएको छ, जग्गासम्बन्धी फाइल चाँडै अगाडि बढाइदिनु पर्यो ।
प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले नेपाल सरकारले बजेट दिएपछि स्टिमेट गरेर भवन बनाइने बताए । डीआईजी न्यौपानेले भने– ‘नाप, नक्सा, डीआईनको काम हुँदै होला, यसपालि बजेट छुट्याएको छ कि छैन, बुझेर खबर गरौँला ।’
(फोटो : बिजु महर्जन)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो
-
सिन्दुरे रोगको प्रकोप कम गर्न मंसिर २५ गतेभित्र गहुँ छर्न सुझाव
-
जोर्डनमा इजरायली दूतावास नजिक भएको गोलीबारीमा एकको मृत्यु, ३ प्रहरी घाइते
-
प्रतिनिधिसभा सचिव अधिकारीले दिए राजीनामा
-
एमालेलाई जरिवानाको पत्र बुझाउन महानगरको टोली च्यासल जाँदै
-
सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ सोमबारदेखि