शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेंगुबाट प्रत्येक वर्ष ५ करोड मानिस प्रभावित, के छ जोगिने उपाय ?

बिहीबार, १८ कात्तिक २०७८, १८ : ३३
बिहीबार, १८ कात्तिक २०७८

एक बर्षको अन्तरालपछि काठमाडौंमा डेंगुले ‘कमब्याक’ गरेको देखिन्छ । डेंगु दोश्रो विश्व युद्धको समयदेखि विश्वव्यापी रूपमा समस्या बनेको हो । हाल यो रोग विश्वका ११० देशमा व्याप्त छ । प्रत्येक वर्ष यो रोगका कारण करीब ५ करोडदेखि ५ करोड २८ लाख मानिस बिरामी पर्ने गरेका छन् । जसमध्ये करिब १० देखि २० हजार मानिसको मृत्यु हुने गरेको छ । डेंगुको महामारीको बारेमा सन् १७७५ मा लिखित तथ्य भेटिएको छ । यो रोग भाइरसका कारण लाग्ने र लामखुट्टेका कारणले सर्ने गरेको तथ्य बीसौं शताब्दीमै पत्ता लागेको थियो । लामखुट्टेलाई निर्मुल पार्न असम्भवजस्तै भएकोले सिधै भाइरसलाई नियन्त्रण गर्न औषधीहरुको बारेमा पनि अध्ययन भइरहेको छ ।

डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाईबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसबाट संक्रमित भएको एडिस रजिष्टाइ जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

यसले स–साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खासगरी वर्षाको पानी जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फुलदानी गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ । शहरी क्षेत्रमा यस्ता वस्तुहरु पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे शहरमा बढी देखिन्छ ।

डेंगु एडिस एजिप्टाइ र एडिस एल्वोपेक्टस नामक् लामखुट्टेले टोकेर हुने तीब्र भाइरस संक्रमण हो । यो भाइरस डेंगु–१, डेंगु–२, डेंगु–३ र डेंगु–४ गरी चार प्रकारका हुन्छन् । एडिस लामखुट्टे कालो रङ्गको हुन्छ, जसमा सेतो थोप्ला पनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । औंलो उत्पादन गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भएपनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

डेंगु रोग क्लासिक डेंगु हेमोरहेजिक र सोके सिन्ड्रोम गरी तीन प्रकारका छन् । डेंगु लामखुट्टेको टोकाइबाट सर्ने शीतोष्ण र समशीतोष्ण भू–भागमा फैलिने रोग हो । यो रोग डेंगी भाइरसका कारण लाग्ने गर्दछ । सामान्यतया डेंगी भाइरसको संक्रमण भएको तीन दिनदेखि चौध दिनपछि पछि यसको लक्षण देखिन्छ । यसका प्रमुख लक्षणहरु ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने मांसपेशी तथा जोर्नीहरुमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्छ ।

केही बिरामीहरुमा यो रोग डेंगी हेमोरेजिक फिवर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तश्राव मात्र हुने नभई रगतमा प्लेटलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्दछ । त्यस्तै डेंगुको अर्को विकसित रुप डेंगु सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ । डेंगु धेरै प्रजातिको लामखुट्टेहरुको माध्यमबाट मानिसहरुमा सर्न सक्दछ ।

डेंगुका भाइरसहरु चार प्रकारका छन् । यीमध्ये कुनै एकको संक्रमण भएमा हाम्रो शरीरले जीवन भरीका लागि त्यस प्रजातिको भाइरसविरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्छ । तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिको भाइरसविरुद्ध छोटो अवधिका लागि मात्र काम गर्छ । एकपछि अर्को गरी लगातार हुने संक्रमणले गम्भीर खतरालाई बढावा दिन्छ । डेंगुको पहिचानको टुङ्गो लगाउन धेरै परीक्षणहरु उपलब्ध छन् । यस्ता परीक्षणहरुमा विरामीको रगतमा डेंगुको भाइरसविरुद्ध शरीरले पैदा गर्ने एन्टीबडी वा उक्त भाइरसको आरएनए पत्ता लगाउने गरिन्छ ।

केही देशमा डेंगुको संक्रमणबाट बचाउन एउटा खोपलाई मान्यता दिइएको छ । तर, अहिलेसम्म यसको व्यापारिक उत्पादन गरिएको छैन । डेंगुबाट बच्न लामखुट्टेको वासस्थान नष्ट गर्ने तथा लामखुट्टेको टोकाईबाट बच्नुपर्छ । यसका लागि मानिसको बसोबास क्षेत्रमा अनावश्यक रुपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा शरीरको सबै भाग छोप्ने कपडा लगाउनु पर्छ । भर्खरै देखा परेको मन्द वा मध्यम खालको डेंगु छ भने मुखबाट वा नशाबाट तरल पदार्थ दिएर उपचार गरिन्छ । गम्भीर खालको डेंगुको उपचार गर्न बिरामीलाई रगत दिनु आवश्यक हुन्छ । यो रोगको कारणले प्रत्येक वर्ष विश्वमा ५ लाख मानिसहरु अस्पताल भर्ना हुने गरेका छन् । डेंगु लागेको बेला माइबुप्रोफिनजस्ता ननस्टेरोइडल एन्टी इन्फ्लामेन्टरी औषधि प्रयोग गर्नु हुँदैन ।

डेंगुको लक्षण

सामान्यतया डेंगु भाइरसको संक्रमण भएका करीब ८० प्रतिशत मानिसमा रोगको कुनै लक्षण देखिदैन वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षण मात्र देखिन्छ । संक्रमितमध्ये ५ प्रतिशत मानिसमा गम्भीर प्रकारको डेंगु लाग्ने गर्छ भने तीमध्ये पनि निकै कम मानिसहरु यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् । यो रोग परिपक्व हुन ३ देखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीहरुमा यो रोगले ४ देखि ७ दिनमा नै पूर्णता पाउँछ । त्यसैले डेंगुको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसहरुमा घर पुगेको १४ दिनपछि डेंगु वा अन्य लक्षण देखा पर्ने सम्भावना हुँदैन ।

बालबालिकामा प्रायः डेंगुको संक्रमण हुँदा सामान्य रुघा तथा संक्रामक पखाला भएको जस्तै लक्षणहरु देखिन्छ । त्यस्तै बालबालिकाहरुमा विभिन्न जटिलताहरु देखापर्ने जोखिम पनि तुलनात्मक रुपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरु मन्द खालका भए पनि उच्च ज्वरो पनि देखा पर्दछ । डेंगुको पहिचानको लागि मुख्य लक्षणहरु अचानक ज्वरो आउने, टाउको दुख्ने साधारण तथा आँखाको पछाडी दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेंगुका रोगीहरुको मांसपेशी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ ।

यो रोग लागेको अवधिलाई तीन चरणमा विभाजन गरिएको छ । पहिलो लक्षण सुरु हुने अवस्था फेब्राइल, दोस्रो गम्भीर अवस्था क्रिटिकल तथा तेस्रो निको हुने अवस्था रिक्भरी । लक्षण सुरु हुने अवस्थामा ४० डिग्री सेल्सियसभन्दा पनि उच्च ज्वरो आउने शरीरमा पीडा महशुश हुने तथा टाउको दुख्ने जस्तो लक्षण देखिन्छन् । यो अवस्था प्रायः दुइदेखि सात दिनसम्म रहने गर्दछ । वाकवाकी लाग्ने तथा वान्ता पनि हुन सक्दछ ।

डेंगुको संक्रमण भएका ५० देखि ८० प्रतिशत बिरामीहरुमा लक्षण देखिन सुरु भएको पहिलो वा दोस्रो दिनमा छाला रातो तथा तातो हुने समस्या देखा पर्न सक्छ । पछि बढ्दै गएर दादुरा लागेको जस्तो स–साना फोकाहरु देखा पर्छन् । रातोको बीचमा सेतो हुने फोका पनि देखिन सक्दछ । यस्ता फोकाहरुलाई अङ्ग्रेजीमा आइसल्याण्ड अफ ह्वाइट इन अ सी आफ रेड (रातो समुन्द्रमा गोराहरुको टापु) भन्ने गरिन्छ । यो अवस्थामा शरीरमा हुने कोशिकाहरु फुटेर छालामा स–साना थोप्लाहरु देखा पर्ने र मुख तथा नाकका म्यूकस मेम्बे्रनबाट सामान्य रक्तश्राव हुने लक्षण पनि देखा पर्दछन् ।

स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरिन्छ । डेंगु ज्वरो विरुद्धको खोप र खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाईबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेंगु ज्वरोको शङ्का लागेमा हुन सक्ने जटिलताबाट जोगिन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

लेखक वरिष्ठ पशु चिकित्सक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. केदार कार्की
डा. केदार कार्की
लेखकबाट थप