आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पार्टीका मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही हुन्छः प्रचण्ड

बिहीबार, १८ कात्तिक २०७८, १८ : २४
बिहीबार, १८ कात्तिक २०७८

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताएका छन् । 

बिहीवार नेकपा(माओवादी केन्द्र) मध्यपुर थिमि नगर कमिटीले नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने बताएका हुन् । उनले पार्टीमा जतिसुकै ठुलो पदको भएपनि राम्रो काम नगर्ने मन्त्रीको सन्दर्भमा कडा स्टेप चाल्ने बताए । उनले भने, ‘हाम्रा मन्त्रीहरुलाई जनताको पक्षमा काम नगरे जस्तोसुकै ठुलो पदको पार्टीको भएपनि हामी कडा स्टेप चाल्नेमा छौँ अहिले । तपाईँहरुको साथ भयो भने जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट हामी अगाडी बढेका छौँ ।’

अध्यक्ष प्रचण्डले देशी, विदेशी शक्तिहरु माओवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको बताए । माओवादीलाई चार टुक्रा बनाएर फुटाउँदापनि प्रचण्ड ज्यूँदै रहुञ्जेल माओवादी पार्टी झन जागेर आउने देखेर खासगरी प्रचण्डलाई नै तारो बनाउन खोजेको उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले केही समयपछि माओवादी पार्टी एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गरे । माओवादी बलियो पार्टी भएन भने राष्ट्र दुर्घटनामा पर्ने खतरा रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप