ad
समाचार

महाकवि देवकोटाको भत्किएको घर !

person explore access_timeकात्तिक १८, २०७८ chat_bubble_outline0

सरकारले २०४८ सालअघिकै स्वरुप कायम हुनेगरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको  मैतीदेवीस्थित घर पुनर्निर्माण गर्न थालेको छ । गत भदौमा महाकवि देवकोटाको घर भत्काइएको थियो । देवकोटाको घर भत्काएकोमा संस्कृतिविदहरुले सरकारको आलोचनासमेत गर्दै आएका छन् ।


पछिल्लो एक सातायता त्यहाँ घर निर्माण कार्य चलिरहेको छ । यसअघि चार तलाको घर बनाउनेगरी डीपीआर तयार भए पनि अहिले डीपीआर फेरेर तीन तलाको घर बनाउने निर्णय गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले रातोपाटीलाई बताए ।



६ करोड ४० लाख रुपैयाँमा संग्रहालय तयार गर्नेगरी विको एमके जेबीले निर्माणको ठेक्का पाएको छ । यसअघि संग्रहालय निर्माणको कुल खर्च ७ करोड ११ लाखको हाराहारीमा थियो । तर, तीन तलामात्रै बन्ने भएपछि निर्माण खर्च घटाइएको प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।





कुल १२ आना एक दाम क्षेत्रफलमा महाकविको घर र परिसर हुनेछ । निर्माणाधीन भवनको दक्षिणतर्फ एउटा परिसर हुन्छ । त्यहाँ केही मानिस बसेर कविता वाचन गर्न सक्नेगरी डबली पनि बन्नेछ । त्यस्तै भवन अगाडि महाकविको पूर्ण कदको प्रतिमा हुनेछ ।  



‘महाकवि प्रकृति प्रेमी हुनुहुन्थ्यो, उहाँ नदी, ताल तलैया, हिमाल र वन जंगललाई माया गर्नुहुन्थ्यो’ उपाध्यायले भने, ‘उहाँको प्रतिमा नजिकै हरियाली प्रकृतियुक्त बिम्ब आओस् भनेर शालिक नजिकै अलि–अलि हरियाली, अलि–अलि पानीको फोहोरा र छहरा राख्ने योजना छ ।’



उपाध्यायका अनुसार संग्रहालयको पहिलो तलामा अतिथि कक्ष हुनेछ । त्यहाँ, सुकुलमा बसेर महाकविले लेखिरहेको प्रतिमा रहन्छ । त्यस्तै, देवकोटाको जीवनका श्रव्य–दृश्य सामाग्रीहरु संकलन गरेर त्यहाँ राख्ने प्रज्ञा प्रतिष्ठानको योजना छ ।

दोस्रो तलामा महाकविले जीवनकालमा प्रयोग गरेका सामानहरु राखिनेछन् । ‘भान्छामा प्रयोग गरेका, लेख्दा प्रयोग गरेका, पहिरनमा प्रयोग गरेका, शयन कक्षमा प्रयोग गरेका सामग्री यहाँ रहन्छ,’ उपाध्यायले भने ।

त्यस्तै तेस्रो तलामा देवकोटाको जीवनकालमा रचना गरिएका प्रकाशित र अप्रकाशित सबै पाण्डुलिपिहरु रहने उपाध्यायले बताए । उनले भने, ‘उहाँका बारेमा अरुले लेखेका सामाग्रीहरु पनि त्यसमा रहन्छन् ।’

मुनामदन, शाकुन्तल, सुलोचनाजस्ता बहुचर्चित खण्डकाव्य, महाकाव्यसहित महाकविले धेरै कविता, निबन्ध, कथा, नाटक, उपन्यास, गीतको सिर्जना गरेका छन् ।

किन भत्काइयो घर ?

महाकवि देवकोटाको जन्म २७ कात्तिक, १९६६ मा डिल्लीबजारको धोबिधारास्थित घरमा लक्ष्मीपूजाका दिन भएको थियो  । यही घरमा बसेर उनले १० वर्षको उमेरमै कविता लेख्न थालेका थिए ।

महाकवि देवकोटाको जन्मघर अहिले उनका भतिजा अर्थात् मित्रनाथका छोरा इन्जिनियर लक्ष्मण देवकोटाको हकभोगमा छ र उनैले यसको संरक्षण गरिरहेका छन् ।

पैतृक सम्पत्तिमा अंशवण्डा भइसकेपछि आफ्नो भागमा परेको अंश भाइ मित्रनाथ देवकोटालाई बेचेर वि.सं.२००० मा देवकोटाले मैतिदेवीमा घर किनेका थिए । जहाँ, देवकोटाले आफ्नो जीवनका अन्तिम १६ वर्ष बिताए । अहिले, प्रज्ञा प्रतिष्ठानले पुननिर्माण गरिरहेको यो घर ‘कवि कुञ्ज’ नामले चिनिन्छ ।

विसं.२०१४ सालमा शिक्षा मन्त्री छँदा पनि देवकोटा यही घरमा बस्थे । उनले एकतले घर खरिद गरेको भए पनि त्यसलाई बढाएर तीन तलाको बनाएका थिए ।

विसं.२०४८ सालपछि महाकविको परिवारले उक्त तीनतले घरलाई चारतलाको बनाएको थियो । त्यस्तै, झिंगटीको छानो हटाएर जस्ताको छानो हालेको थियो ।

प्राविधिक टोलीले घर पुननिर्माण गर्नुपर्ने सुझाव दिएपछि पुरानो संरचना भत्काएर नयाँ बनाउनुपरेको सदस्य सचिव उपाध्यायले बताए । ‘हामीले यस घरको संरक्षण गर्न सकिन्छ कि भनेर प्रयास गरेका हौं’ उनले भने, ‘प्राविधिकहरु क्यामेरासहित पुगेका हुन्, पुरानो संरचना भिडियोमा सुरक्षित छ । तर, प्राविधिक टोली पुग्दा जहाँ टेक्यो, त्यहाँ भासिने भयो । माथिबाट काठका टुक्रा र ईटाका टुक्रा खस्ने सम्भावना थियो । सबलीकरण गर्ने सम्भावना थिएन भन्ने रिपोर्ट प्राविधिक टोलीले दियो ।’

उपाध्यायले अगाडि भने, ‘रेक्टोफिट गर्न नसकिने सुझाव आएपछि हामीले पुननिर्माणको काम अघि बढायौं र घर भत्कायौं । बरु, पुरातात्विक सामाग्रीको प्रयोग गरेर वास्तविक स्वरुप आउने गरी त्यसलाई पुननिर्माण गर्नुपर्छ भन्ने राय आएको थियो । त्यहीअनुसार अघि बढेका छौं ।’

महाकविको घर भत्काउन नहुने मागसहित जनहित संरक्षण मञ्चले सर्वोच्चमा मुद्दा पनि हालेको थियो । तर, सर्वोच्चले पुननिर्माण प्रक्रिया रोक्नका लागि अन्तरिम आदेश दिएन । बरु, पुरातत्व विभागसँग समन्वय गरेर निर्माण कार्य अघि बढाउन प्रज्ञा प्रतिष्ठानलाई आदेश दिएको छ ।

अहिले पुरातत्व विभागसँग समन्वय गरेरै २०४८ सालअघिको स्वरुप आउने गरी तीनतले झिंगटीले छाएको घर बनाउन लागिएको उपाध्यायको भनाइ छ ।

संरक्षणको पहिलो प्रयास

जतिबेला घर भत्काइयो, त्यतिबेला यो निकै जीर्ण अवस्थामा थियो । ‘त्यो घरमा केही पनि थिएन । काठ, ईटा मात्रै थिए । भित्तामा केही तस्विर थिए । पहिल्यै जीर्ण भइसकेको घरलाई भूकम्पले थप काम नलाग्ने बनाइदिएछ,’ उपाध्यायले भने, ‘अब महाकविको परिवार र छोराछोरीसँग सुरक्षित भएका सामाग्रीहरु यहाँ ल्याएर राख्छौं । धेरैजसो ईटा काँचो भएकाले छुने बित्तिकै धुलो हुनेखालका रहेछन् । सग्ला पाइएका ईटालाई भने प्रयोगमा ल्याउनेछौं ।’

उनले देवकोटाको ११४ औं जन्मजयन्ती संग्रहालय प्राङ्गणमा मनाउने आशा राखिएको बताए । उपाध्यायले भने, ‘२०७७ को चैतअघि नै डीपीआर बनेको थियो । त्यतिबेला विवाद थिएन, तर काम सुरु भएपछि विवाद निस्किएकाले केही समय निर्माणमा ढिलाइ भयो । अब काम सुरु भइसकेको छ । पहिलेकै लक्ष्यअनुसार असारभित्र निर्माण सक्ने र आगामी लक्ष्मी जयन्ती त्यही घरमा मनाउने आशा राखेका छौं ।’

महाकविका छोरा भन्छन्– सरकारले चासो दिएन

सरकारले समयमै पुननिर्माणमा ध्यान दिन नसक्दा घर भत्काउनुपर्ने अवस्था निम्तिएको महाकविका छोरा पद्म देवकोटाले बताए ।  उनले भने, ‘परिवारले संरक्षण गरेरमात्रै नहुने रहेछ । सरकारले महाकविको निधन भएको ६० वर्षसम्म पनि यस घरको संरक्षणमा चासो दिएन । जतिबेला चासो दियो, त्यतिबेला प्राविधिक रुपमा घर निकै जीर्ण भइसकेको रिपोर्ट आयो । अब प्राविधिक कुरामा हामीले बोल्ने कुरा भएन ।’

देवकोटाले अगाडि भने, ‘अब संग्रहालय बनोस्, राम्रो होस् । संग्रहालय बन्ने हेर्नका लागि नभएर सिक्नका लागि हो ।’

प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङले देवकोटाका विषयमा धेरै अध्ययन र अनुसन्धान बाँकी रहेको बताए । ‘नेपालमा युग–युगमा मानिसहरु जन्मन्छन् । तर, देवकोटाजस्तो व्यक्तित्व जन्मन गाह्रो हुन्छ,’ देवकोटाले १० दिनमै महाकाव्य लेखेको उदाहरण दिँदै गुरुङले भने, ‘विश्वमा प्रचलित १६ भाषा बोल्ने महापण्डित राहुल सांस्कृत्यायनले पनि देवकोटालाई पन्त, प्रसाद र निरालाको संयुक्त रुप भन्नुभएको थियो । महाकविमा यस्तो गुण कसरी आयो, यसबारे पनि खोजी हुनुपर्छ, लेखिनुपर्छ ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।