बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउँछु : मुख्यमन्त्री राई

बिहीबार, १८ कात्तिक २०७८, १५ : ११
बिहीबार, १८ कात्तिक २०७८

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरणलाई चाँडै टुंगो लगाउने बताएका छन् । बिहीवार काठमाडौँमा कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामकरणलाई चाँडै टुंगो लगाउने बताएका हुन् । अघिल्लो सरकारले शुरु गरेका कामलाई पूरा गर्ने र बजेटलाई श्रोत खोजेर ठूलो बनाउने बताए ।

मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा बजेटलाई सही ढंग र सही स्थानमा खर्च गर्ने बताउँदै नेकपा एमालेको सरकारले प्रदेशको नामकरणका लागि पहल नै नगरेको आरोप लगाए । उनले प्रदेशको नामकरण गर्न दुई तिहाई मतको आवश्यक पर्ने भएकोले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुसँग पनि छलफल गर्ने र सहयोग पु¥याउन आग्रह गर्ने बताए ।

मुख्यमन्त्री राईले भने, ‘पहिलो कुरा त यसको नाम तोक्ने काम हामी आरम्भ गर्दछौँ र प्रक्रिया पूरा गरेर नाम तोक्छौँ, थालेका कामहरूलाई सम्पन्न गर्छौं, बजेटको आकार सानो छ, त्यो बजेटलाई हामी अर्को बजेट अधिवेशनसम्ममा स्रोतहरु खोजेर ठूलो बनाउने प्रयास गर्छौं ।’ 

उनले भने, ‘बजेटको सही सदुपयोग नहुने, बजेटलाई कार्यान्वयन गर्नको लागि योजना सही ढंगले छनोट नहुने, त्यसको प्राथमिकता सही ढंगले नहुने, यस्ता कमी कमजोरीहरूलाई हामी रोक्ने प्रयास गर्छौं, सांसदहरुलाई निरीह बनाइएको छ, योजना छनोटमा, विधेयक निर्माणमा सांसदहरु बलियो बनाउने ढंगले हामी अघि बढाउने प्रयास गर्छौं, शान्ति सुव्यवस्था कायम गर्ने, सुशासन कायम गर्ने कामहरु गर्नेछौँ ।’

अघिल्लो सरकारले प्रदेशको नामकरण गर्ने प्रयास नै नगरेको बताउँदै उनले भने, ‘यदि प्रयास गरेको भए नेकपा हुँदा आफैँमा दुई तिहाई सांसदहरु थिए, नाम तयार गर्न सक्छ तर त्यसलाई औपचारिक रुपमा छलफल गर्ने, संसदमा प्रवेश गराउने, काम नै गरेन, म यो तिहारपछि संसद शुरु भएदेखि नै नामलाई छलफल गराउने, संसदमा प्रवेश गराउने र प्रक्रियाद्वारा टुंगो लगाउने ढंगले जान्छु, यसका लागि दुई तिहाईको जरुरत पर्छ, त्यसको लागि प्रतिपक्षमा रहेको नेकपा एमालेको पनि साथ र सहयोग जरुरी छ, उनीहरुसँग पनि म सौहार्दपूर्ण ढंगले छलफल गरेर यसलाई टुंगो लगाउने दिशामा अघि बढ्छु ।’

मुख्यमन्त्री राईले नेपालमा संघीयता सही ढंगले अघि बढ्न नसकेको बताए । उनले अहिले पनि नेपालमा केन्द्रिय ढंगले नै काम हुने गरेको बताउँदै प्रदेशलाई दिनुपर्ने अधिकार संघले नदिएको बताए । मुख्यमन्त्री राईले केन्द्रीय सरकारसँग ऋण लिएर भएपनि जनहितका काम गर्ने र बजेटको दायरालाई बिस्तार गर्ने बताए । उनले बजेटमा भ्रष्टाचार र अनियमितता बढेको भन्दै त्यसलाई आफ्नो कार्यकालमा नियन्त्रण गर्ने बताए ।

मुख्यमन्त्री राईले भने, ‘नेपालमा संघीयता सही ढंगले अघि बढ्न सकेको छैन, कार्यान्वयन हुन सकेको छैन, अहिले पनि एक हिसावले भन्ने हो भने केन्द्रीयता नै केन्द्रीय प्रणाली जस्तो ढंगले नै अगाडि बढेको छ, यसले अधिकारहरू पनि प्रदेशलाई जति दिनुपर्ने दिएको छैन, बजेट पनि जति दिनुपर्ने दिएको छैन, सानातिना कामहरु स्थानीयले गर्नुपर्ने, मझौला खालका प्रदेशले गर्नुपर्ने भन्ने संघले गर्नुपर्ने भन्ने मान्यता हो, तर सानातिना दुई/चार लाख, १० लाखका योजनाहरु केन्द्रले अझै निरन्तरता दिइरहेको छ, केन्द्रबाट ऋण लिएर भएपनि काम जन अपेक्षाअनुसार भेट्ने गरी अगाडि बढ्नुपर्छ, बजेटको दुरुपयोग पनि छ, चुहावट छ, भ्रष्टाचार हुन्छ, गर्नुपर्ने काममा पैसा नलगाउने, नगर्नुपर्ने काममा पैसा उडाउने यस्तो कुरालाई हटाएर बजेटलाई सही ढंगले सदुपयोग गर्ने ढंगले अघि बढ्छु ।’

मुख्यमन्त्री राईले बजेटमा खराब कर्मचारी, उपभोक्ता समिति, जनप्रतिनिधि, समाजका अगुवाहरुले भ्रष्टाचार गरेको बताए । उनले बजेटलाई सही ठाउँमा प्रयोग नभएको बताउँदै  ऐन, कानून बनाएर अनियमितता गर्नेलाई कारबाही गरिने बताए । –न्यूज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप