सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

फूलखेतीमा व्यावसायिक भविष्य खोज्दै वडा अध्यक्ष घलान

बिहीबार, १८ कात्तिक २०७८, १२ : १८
बिहीबार, १८ कात्तिक २०७८

विद्यालय जीवनमै नेकपा माओवादीको सशस्त्र द्वन्द्वमा हिँडेका ललित घलान हाल हेटौंडा उपमहानगरपालिका–१२ का वडाध्यक्ष छन् । १७ वर्षकै उमेरमा माओवादीको जनयुद्धमा होमिन पुगेका उनी कलिलो उमेरमै जनयुद्धमा जानु नै राजनीतिको पहिलो पाइला राख्ने खुड्किलो भएको बताउँछन् ।

विद्यालय जीवनमा आफूले भोगेका दुःख र पीडा त्यहाँका अन्य नागरिक र बालबालिकाले भोग्न नपरोस् भन्ने हेतुले उनी वडाको विकास तथा समृद्धिका लागि समर्पित हुँदै आएका छन् । राजनीतिलाई व्यापार बनाउन नहुने मान्यता बोकेका उनी आयआर्जनका लागि वैकल्पिक व्यवसाय गर्न सुझाउँछन् ।

उनी स्वयं पनि आयआर्जनका लागि वैकल्पिक उपाय अवलम्बन गर्दैछन् । त्यसैले राजनीतिमा मात्र नभएर उनी एक सफल व्यावसायिक पुष्प उत्पादक कृषक पनि बन्न सफल भएका छन् । आफू वडाध्यक्षमा निर्वाचित भए लगत्तै उनले फूलखेती सुरु गरे । जनप्रतिनिधिले गलत कामबाट पैसा कमाउँछन्, उनीहरुको जीवन चलेको हुन्छ भन्ने मानसिकतालाई तोड्न आफूले फूलखेती तर्फ केन्द्रित भएको उनी बताउँछन् ।

जनताको सेवा र फूलखेतीलाई समानान्तर रुपमा अघि बढाइरहेका उनी राजनीतिमा अझ माथिको खुड्किलोमा पुग्ने प्रयासमा त छन् नै फूल व्यवसायमा पनि गतिलो भविष्य खोज्दै छन् । वार्षिक रुपमा २५ लाख रुपैयाँको फूलको कारोवार गर्ने वडा अध्यक्ष घलानले आफ्नो जग्गाका साथै छिमेकीको जग्गासमेत भाडामा लिएर करिव ३ बिगाहा क्षेत्रफलमा फूल रोपेका छन् ।

उनको बगैँचामा यतिबेला सयपत्री ढकमक्क फूलेका छन् । उनले टनेल र खुल्ला ठाउँमा करिव १ लाख रुपैयाँको लागतमा फूल रोपेका छन् । तिहारमा मात्र करिव १० लाख रुपैयाँको फूल बिक्री हुने उनको भनाइ छ । उनले सिंचाई सुविधासम्म नरहेको पान्तले डाँडामा फूल उत्पादन गरिरहेका छन् ।

हेटौंडामा हुने प्रायः प्रदेशस्तरीय कार्यक्रम, विभिन्न सहकारी तथा संघसंस्थाको कार्यक्रमका लागि उनी सयपत्रीको माला उपलब्ध गराउँछन् । सयपत्रीको प्रति माला उनले ८० रुपैयाँदेखि एक सय रुपैयाँसम्म लिने गरेका छन् । गत वर्ष कोरोना संक्रमणको त्रासका कारण सार्वजनिक कार्यक्रम कम भएपछि उनको व्यवसायमा केही असर परेको थियो । अहिले भने त्यस्तो नरहेको उनले बताए ।

फूलखेतीलाई एकीकृत गरी व्यावसायिक ज्ञान र सिप प्रदान गर्ने हो भने आम नागरिकको जीवनस्तरमा निकै परिवर्तन आउने उनको बुझाइ छ । तीनै तहका सरकारले फूलखेतीलाई प्राथमिकतामा राखेर आवश्यक पूर्वाधार र बजारीकरणको काम गर्न सके फूल व्यवसायमा लाग्ने कृषकहरुलाई सहयोग पुग्ने उनी बताउँछन् ।

भारतबाट आउने फूललाई विस्थापित गर्न नसक्नु र त्यसतर्फ सरकारको ध्यान नपुग्नु फूलखेतीमा लागेका कृषकहरूका लागि ठूलो समस्याको विषय बनेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप