शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तिहारमा महँगियो फूल

बिहीबार, १८ कात्तिक २०७८, १० : ४१
बिहीबार, १८ कात्तिक २०७८

प्रदेश सरकारले लुम्बिनीलाई फूलैफूलको प्रदेश बनाउने लक्ष्य राखेकै बेला कोराना र बेमौसमी झरी बाधक बनेको छ । प्रदेशलाई फूल उत्पादनमा आत्मनिर्भर बनाउँदै भारतीय फूलको आयात रोक्ने अभियानका साथ पुष्प खेतीमा लागेका प्रदेशका किसानहरु कोरोना र हालैको बेमौसमी  झरीका कारण मारमा परेका छन् ।

फूलैफूलको पर्व मानिने तिहारलाई लुम्बिनीका किसानले अवसरका रुपमा लिन सकेनन् । गत वर्ष कोरोनाका कारण थलिएका किसान यो वर्ष फूल खेतीमा हौसिएका थिए । तर, यस वर्ष बेमौसमी झरीले फूल खेतीमा प्रतिकुल असर गर्दा उनीहरु मारमा परेका हुन् ।

पुष्प व्यवसायी संघ लुम्बिनी प्रदेशका संयोजक रमेश पाण्डेले दसैँ सकिएलगत्तै बेमौसमी झरीले फूलका बोट ढालेका कारण उत्पादन कम भएको बताए । अर्कोतिर भारतको विहार लगायतका ठाउँमा पनि वर्षाले त्यस्तै असर गर्दा यो सिजनमा फूल उत्पादन घटेको छ ।

उत्पादन घटेसँगै तिहारमा फूलको मूल्य बढेको छ । जसले गर्दा उपभोक्ताका लागि तिहार महँगो पर्ने भएको हो । फूलमा लुम्बिनी प्रदेशलाई आत्मनिर्भर बनाउन प्रदेशका विभिन्न ठाउँमा समूगतरूपमा र एकल लगानीमा फूलखेती गर्न थालिएको थियो । आवश्यक फूल भारतीय बजारबाट ल्याउनु नपर्ने गरी काम भइरहेका बेला कोरोना र झरीले नोक्सान गरेको संयोजक पाण्डेले बताए ।

प्रदेश सरकारका कृषि मन्त्रालयका सूचना अधिकारी शालिकराम गौतमले धेरै पानी परेकाले अन्य क्षेत्रका किसानको जस्तै लुम्बिनीका पुष्प व्यवसायी पनि मर्कामा परेको बताए ।​ फूलैफूलको लुम्बिनी प्रदेश बनाउन किसानलाई तालिम र आवश्यक बीउबिजन प्रदेशको कृषि मन्त्रालयबाट प्राप्त हुनेगरी प्रदेश सरकारकै योजनाअनुसार फूलैफूलको प्रदेशका रूपमा लुम्बिनीलाई चिनाउने गरी काम भएको उनले दाबी गरे । 

आयात रोक्ने योजना असफल

तिहारमा लुम्बिनी प्रदेशमा ५ लाख माला आवश्यक पर्ने अनुमान पुष्प व्यवसायीहरूको छ । यसैअनुसार लुम्बिनी नर्सरीले मात्रै २ लाख फूलका बिरुवा र समूहगतरूपमा प्रदेशका ९ जिल्लामा २ लाख गरी ४ लाख र घर घरबाट व्यक्तिगत रुपमा झन्डै १ लाख माला हुने गरी फूल उत्पादन गर्ने लक्ष्य थियो ।

तिहारको लागि तयार हुन थालेका फूलमा बेमौसमी झरीले झट्का दिएको पुष्प व्यवसायी पाल्पा जिल्लोको माथागढी गाउँपालिका–२ का दामोदर घर्ती बताउँछन् । उनले गत वर्ष ३ रोपनीमा फूलखेती गरेकोमा अहिले वृद्धि गरेर ५ रोपनीमा लगाएका थिए । बेमौसमी वर्षाले फूलका बोट ढलेसँगै उनको उक्त योजना पनि पूरा नहुँदै ढलेको छ ।

बोट ढलेपछि स्वाभाविक रुपमा फूल उत्पादन कम हुन्छ । उनले पाल्पामा उत्पादन गरेको फूल तानसेन, बुटवल, भैरहवा, नवलपरासीको बर्दघाटसम्म बिक्री गर्ने गरेका छन् । घर्तीले लामो समय भारत बसेर काम गरेका थिए । पछिल्ला वर्षमा उनी घरमै बसेर फूलखेती गर्न थालेका हुन् । भारतबाट हुने फूल आयात रोक्न संघले पहाडका किसानहरुसँग समन्वय गरेर तराईमा फूल तथा मालाहरु पठाउने काम गरिरहेको संयोजक पाण्डेले बताए ।

फूलको बजार

फूल उत्पादन गर्दै आएकाहरुले नयाँ नयाँ ठाउँमा फूल लगाउन प्रेरित गर्ने गरेका छन् । पुष्प व्यवसायी संघ रुपन्देहीको अध्यक्ष तथा लुम्बिनी प्रदेशको संयोजक रमेशले उत्पादनकर्ताले नै बजार विस्तार गर्नुपर्ने बताए । ‘उपभोक्ताहरु आफै पनि नयाँ नयाँ ठाउँमा फूल प्रयोग गर्न रुचाउने गर्दछन्,’ उनले भने, ‘त्यसमा हामीले पनि विशेष ध्यान दिनु पर्छ, अनिमात्र पुष्प व्यवसायीको व्यापार पनि थप फस्टाउँछ ।’

किसानहरूको समूह गठन गरेर फूलखेतीको तालिम र आवश्यक बिरुवा सहयोग अभियानमा लागेको उनी बताउँछन् ।

सरकारको सहयोग

पाल्पाको माथगढी–२ का दामोदर घर्तीलाई फूलको नर्सरी व्यवस्थापनका लागि गाउँपालिकाले ५ हजार रुपैयाँ सहयोग गरेको थियो । यस्तै फूलको व्यवस्थापन र उत्पादनका लागि प्रदेश सरकारले काठमाडौँ गोदावरीमा लगेर एउटा एडभान्स तालिममा सहभागी बनाएको थियो ।

अन्य स्थानीय तहले फूलमा आत्मनिर्भर बनाउन विशेष रणनीति बनाएका छन् । लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रविधि मन्त्रालयका सूचना अधिकारी शालिकराम गौतमले लुम्बिनीका सबै जिल्लामा पुष्प खेती भएको बताउँदै प्रदेश सरकारले  किसानलाई साथ दिने गरी तालिम, बिउ सहयोग आदि गरेको बताए ।

यस्तै फूल धेरै खपत हुने धार्मिक क्षेत्रहरुका पनि स्थानीयहरुलाई फूलखेती गर्न आकर्षण गर्ने गरी काम भइरहेको उनले बताए । उनले लुम्बिनी प्रदेश सरकारले नवलपरासी पुष्प पार्क बनाउन डीपीआरको काम भइरहेको जानकारी दिए ।

पुष्प खेतीका लागि लुम्बिनी सातै प्रदेशमा अगाडि छ । पहिले चितवनमा धेरै पुष्प खेती हुने भए पनि अहिले रुपन्देही अगाडि रहेको उनको दाबी छ ।

लुम्बिनी प्रदेशको रुपन्देहीसहित पाल्पाका ४ वटा गाउँपालिकामा व्यावसायिक फूलखेती गरिएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा मात्र ४४ वटा समूहले व्यावसायिक फूलखेती गरिरहेका छन् । त्यस्तै गुल्मीको चन्द्रकोट, दाङको घोराही, तुल्सीपुर, बाँकेको कोहलपुर, नेपालगञ्ज, अर्घाखाँची, नवलपरासीमा सामूहिक फूलखेती भइरहेको उनले बताए ।

कृत्रिम मालाको व्यापार पनि उस्तै

तिहारका लागि बजारमा कृत्रिम मालाको व्यापार पनि फस्टाइरहेको छ । कृत्रिम माला व्यापार फस्टाउँदै गएको बुटवल अमरपथका व्यापारी अब्दुल मियाले बताए । तिहारलाई सप्तरंगी टीका र सयपत्री अनि मखमली फूलको माला लगाउने पर्वका रुपमा मान्ने भए पनि प्राकृतिक फूलको उत्पादन कमीसँगै कृत्रिम मालाको आयात बढ्दै गएको व्यापारीहरु बताउँछन् ।

हेर्दा आकर्षक, थरीथरीका रङमा बनाएका कृत्रिम मालालाई प्राकृतिक फूलको विकल्पमा प्रयोग गर्न थालिएको छ । प्राकृतिक फूलहरुको अभावमा मानिसहरु नचाहँदा नचाहँँदै पनि कृत्रिम माला किन्न बाध्य भएका छन् । दाजुभाइ तथा दिदीबहिनीलाई लगाइदिने मालाको अभावमा कृत्रिम मालाको माग बढेको हो । सहरका ठेलादेखि सटर अनि पसलहरुसम्म यसको व्यापार हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप