मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

तरलता अभावबीच तीन महिनामै वाणिज्य बैंकहरूको नाफा १८ अर्ब बढी

बुधबार, १७ कात्तिक २०७८, १८ : २२
बुधबार, १७ कात्तिक २०७८

२७ वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउन १ गतेदेखि असोज ३१ भित्र कुल १८ अर्ब ११ करोड ७३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । बैंकहरूले प्रकाशन गरेको त्रैमासिक रिपोर्ट विश्लेषण गर्दा अघिल्लो आर्थिक वर्षभन्दा यो वर्षको समीक्षा अवधिमा नाफा बढेको देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा बैंकहरूले १४ अर्ब ६० करोड ३९ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए । तुलनात्मक रूपमा गत वर्षको पहिलो त्रैमासभन्दा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूले १९.३९ प्रतिशतले बढी नाफा आर्जन गरेका हुन् । 

अघिल्लो अवधि तुलनामा यसपटक बैंकहरूको नाफा ३ अर्ब ५१ करोड ३४ लाख ११ हजार रुपैयाँ वृद्धि भएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको नाफा/घाटा  :

अंक : हजार (०००) मा, थप/घट : प्रतिशतमा

कुन बैंकको नाफा कति ?

समीक्षा अवधिमा बैंकहरूले न्यूनतम २५ अर्ब ३४ करोडदेखि एक अर्ब १८ करोड रुपैयाँसम्म नाफा आर्जन गरेका छन् । सबैभन्दा बढी नाफा कमाउनेमा एनआईसी एशिया बैंक बनेको छ । बैंकले साउन १ गतेदेखि असोज ३१ गतेसम्ममा कुल १ अर्ब १८ करोड ६ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

अघिल्लो वर्षको सोही समयमा बैंकले १ अर्ब २ करोड १० लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो । तुलनात्मक रूपमा यसपटक एनआईसी एशिया बैंकले १५.६४ प्रतिशतले आफ्नो नाफामा वृद्धि गरेको हो ।

यस्तै, नबिल बैंकले अघिल्लो वर्षको तुलनामा यस वर्षको पहिलो त्रैमासमा ५.१८ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३ करोड ५७ लाख १२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस त्रैमासमा ५.०४ प्रतिशत बढीले नाफा कमाउँदै खुद १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ नाफा कमाएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले अघिल्लो वर्षको पहिलो त्रैमासमा जम्मा ८२ करोड ९२ लाख ४५ हजार रुपैयाँ नाफा कमाएकोमा यस वर्ष २६.७० प्रतिशतले बढी नाफा कमाउँदै १ अर्ब ५ करोड ६ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अर्ब माथि नाफा आर्जन गर्ने वाणिज्य बैंकहरूको सूचीमा पाँचौ नम्बरमा पर्दै एनएमबी बैंकले पहिलो त्रैमासमा १ अर्ब ४ करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्ष यस्तो नाफा ७३ करोड २९ लाख ७० हजार रुपैयाँ गरेको थियो । यसको मतलब गत वर्षको तुलनामा एनएमबी बैंकले ४२.४९ प्रतिशतले आफ्नो नाफा वृद्धि गरेको छ ।

चार बैंकको नाफामा गिरावट

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा चारवटा वाणिज्य बैंकहरूको नाफा घटेको छ । नेपाल बंगलादेश बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक र प्रभु बैंकको नाफा घटेको हो । 

नेपाल बंगलादेश बैंकले सबैभन्दा बढी नाफा गुमाएको छ । बैंकले पहिलो त्रैमासमा अधिकतम २७.९३ प्रतिशतले नाफा गुमाएको हो । ४१ करोड १६ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो वर्ष बैंकले ५७ करोड ११ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, प्रभु बैंकले २५.१४ प्रतिशतले नाफा घटाउँदै ६३ करोड ६३ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैकले ८५ करोड १४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा कुमारी बैंक र प्राइम कमर्सियल बैंकले पनि क्रमशः १०.१९ प्रतिशत र ३.९० प्रतिशतले नाफा गुमाएका छन् । 

अघिल्लो वर्षको पहिलो त्रैमासमा ६० करोड २५ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको कुमारी बैंकले समीक्षा अवधिमा ५४ करोड ११ लाख १९ हजार रुपैयाँ कमाएको छ । ९७ करोड ७९ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको प्राइम कमर्सियल बैंकले अघिल्लो वर्ष १ अर्ब १ करोड ७६ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

आक्रामक देखियो सिभिल बैंक

समीक्षा अवधिमा सिभिल बैंकले गुणात्मक नाफा वृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमास तुलनामा यस वर्ष तीन गुणा बढी नाफा आर्जन गर्न सफल भएको हो । समीक्षा अवधिमा बैंकले २०१.८८ प्रतिशत बढी नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्षको पहिलो त्रैमासमा जम्मा ९ करोड ६६ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष झलाङ मार्दै एकैपटक २९ करोड १८ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

नेपाल बैंकले ७५ करोड ४८ लाख ५५ हजार, कृषि विकास बैंकले ४८ करोड ५३ लाख ७८ हजार, नेपाल इन्भेष्टमेन्ट बैंकले ९२ करोड ३७ लाख ९५ हजार, स्टान्डर्ड चार्टर्ड बैंकले ४८ करोड १८ लाख ४७ हजार, हिमालयन बैंकले ४५ करोड २८ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । 

यस्तै, नेपाल एसबिआई बैंकले ३६ करोड २९ लाख ११ हजार, एभरेष्ट बैंकले ५७ करोड ८८ लाख ७३ हजार, लक्ष्मी बैंकले ५५ करोड २८ लाख ७० हजार, सिटिजन्स् बैंकले ६८ करोड ७३ लाख ९९ हजार, सनराइज बैंकले ४३ करोड ७ लाख १६ हजार, सेन्चुरी कमर्सियल बैंकले २७ करोड २४ लाख ७६ हजार, सानिमा बैंकले ५६ करोड ७८ लाख ६० हजार, माच्छापुच्छ«े बैंकले ५६ करोड १५ लाख ३६ हजार, बैंक अफ काडमाडौंले २५ करोड ३४ लाख ७७ हजार, नेपाल क्रेडिट एन्ड कमर्स बैंकले ५१ करोड ८० लाख ५७ हजार र मेगा बैंकले ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप