शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दीपकराज गिरीको प्रश्न : सीडीओ कार्यालयमै देउसी खेलौँ ?

कलाकार भन्छन्– रातभर देउसी भैलो खेल्न पाउनुपर्छ
बुधबार, १७ कात्तिक २०७८, १६ : ५४
बुधबार, १७ कात्तिक २०७८

‘तिहारमा देउसी भैलो नखेलेर के लुँडो खेल्ने हो त ?’, रविजीको कडा भनाइ भन्दै इशा गुरुङ नामक एक सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो फेसबुकमा पोष्ट गरेकी छन् ।

अर्काे, देवराज पन्त नामका युजर्स लेख्छन्, ‘डान्सबार रातभर खोल्न दिने प्रशासन, तिहारको देउसी भैलो चाहिँ ८ बजे नै बन्द गर्न तम्सिन्छ । विकृति विसङ्गति नियन्त्रण गर्ने कि सांस्कृतिक परम्परा धुलाम्मे पार्ने ? प्रशासकज्यू ।’

त्यस्तै, द नेपाली फेवर नामका अर्का युजर्स लेख्छन्, ‘यो के हो ? औँसीको रातमा खेलिने देउसी भैलो किन लोप गराउन खोजिँदैछ । १०, १२ वर्ष भयो, क्रमशः समय सीमा लगातार घटाइँदैछ ।’

माथिका प्रसङ्ग सामाजिक सञ्जालमा देउसी भैलोबारे सर्वसाधारणले व्यक्त गरेका आक्रोश हुन् । यी र यस्ता आक्रोशले यतिबेला सामाजिक सञ्जाल रंगिएको छ । परम्परादेखि तिहारमा रातभर खेलिँदै आएको देउसी र भैलो संस्कृतिमाथि हस्तक्षेप गर्दै स्थानीय प्रशासन कार्यालयहरूले कसैले ८ त कसैले रातको ९ बजेसम्म समयसीमा तोकेपछि सर्वसाधारण प्रशासनको निर्णयको विरोधमा उत्रिएका हुन् ।

स्थानीय प्रशासनले कोरोनाको कारण देखाउँदै राति देउसी भैलो खेल्न नदिने निर्णय गरेपछि प्रशासनको उक्त निर्णयको सर्वसाधारणले विभिन्न प्रसङ्ग जोड्दै बिल्ला उडाइरहेका छन् ।

स्थानीय प्रशासनको यो निर्णयको विरोधमा सर्वसाधारण मात्र होइन, थुप्रै कलाकर्मीसमेत देखिएका छन् । उनीहरू प्रशासनको यो निर्णयलाई राज्यको सुरक्षा कमजोरी, राजनीतिक पार्टीको हस्तक्षेप, कला संस्कृति माथिको ठाडो प्रहारसमेत बताउँछन् । देउसी भैलोको समय सीमाको विषयमा जिल्ला प्रशासन कार्यालयको निर्णय कस्तो लाग्यो ? हामीले एउटै प्रश्न धेरै सेलिब्रेटीलाई राखेका छौँ । उनीहरूको जवाफ जस्ताको तस्तै ।

देउसी भैलोमा बन्देज लगाउन मिल्दैन

मनोज गजुरेल

कोरोनाले मानिस दुई वर्षसम्म थुनिएका छन् । मानसिक रूपमा समेत धेरै विक्षिप्त देख्न सकिन्छ । यस्तो समयमा उनीहरू रमाउने, हाँस्ने, नाच्ने पर्व तिहार आएको छ । यो पर्वमा मानिस रमाउने भनेको देउसी भैलोमा पनि हो । यसमा बन्देज लगाउन मिल्दैन ।

राज्यले सर्वसाधारणको अधिकारमा बन्देज लगाउने होइन, शान्ति सुरक्षा बलियो गरेर पूर्ण रूपमा खेल्ने स्वतन्त्रता दिनुपर्छ भन्ने मेरो धारणा हो । शान्ति सुरक्षा दिनु राज्यको कर्तव्य पनि हो । जनताले आफ्नो समयअनुसार पूर्ण स्वतन्त्र भएर देउसी भैलो खेल्न पाउनैपर्छ । शान्ति सुरक्षा सरकारको कुरो हो । देउसी भैलोको नाममा पहिले पहिले जस्तो झैझगडा गर्ने जनता अहिले छैन भन्ने मलाई लाग्छ ।

‘जिल्ला प्रशासनमा खेल’ भने हुन्छ

दीपक राज गिरी

प्रशासनले अहिले मात्र होइन, कोरोना नभएको पहिलेको समयमा पनि यसो भनेको थियो । मेरो बिचारमा सबैतिर सुरक्षा दिन सकिन्न भनेर यसो गरिएको हो । यो सुरक्षा निकायको कमजोरी हो ।

सबैतिर सुरक्षा दिन सकिन्न, केको लफडा लिने’ सुरक्षा निकायले सोचेको होला । यो निर्णय चाडपर्व, कला संस्कृति भनेको जेसुकै होस् । हामी आनन्दले सुतौँ भने जस्तो भयो ।

मेरो विचारमा परम्परा जोगाउने हिसाबले यो गलत काम हो । देउसी भैलो भनेकै रातभर घर–घर चाहारेर खेल्ने खेल हो । यसरी यति बेलासम्म खेल भन्नुभन्दा सबैजना आएर ‘जिल्ला प्रशासनमा खेल’ भनेको राम्रो हो । त्यसो भयो भने सबै सीडीओकोमा गएर खेल्थे । सीडीओले पैसा दिएपछि घरतिर लाग्थे । कि त्यसो गर्नुपर्‍यो, हैन भने सुरक्षाको कारणले हाम्रो संस्कृति, हाम्रो परम्परा मास्न पाइँदैन ।

राज्यले सुरक्षा बढाएर पनि संस्कृति जोगाउनतिर लाग्नु पर्‍यो । प्रशासनले समय तोकेर होइन, कोरोनाका लागि माक्स लगाएर खेल्नु भन्नुपर्थ्यो । तिहारको महत्त्वपूर्ण पाटो र रमाइलो भनेको नै देउसी भैलो हो । सानोमा हामी ९, १० बजेबाट मात्र खेल्न सुरु गर्थ्यौँ । ८, ९ बजेसम्म त देउसी भैलो खेल्ने साथीभाइ जुट्ने समय हो । यो एक किसिमले भन्ने हो भने सरकारको कमजोरी हो ।

प्रशासनको निर्णय संस्कृति मास्ने कुरो हो 

दीपाश्री निरौला

प्रशासनको निर्णय संस्कृति मास्ने कुरो हो । देउसी भैलो भनेको पहिलेदेखि राति नै खेल्ने चलन चलिआएको छ । यो हाम्रो संस्कृति हो । हामी आफैँले पनि जागृत भएर सबै कुरो विचार गरेर खेल्न पाउनुपर्छ ।

देशको प्रशासन राजनीतिक पार्टीमा निहित भयो । उनीहरूले जे गर्दा पनि हुनेजस्तो भयो । नेपालमा परम्परागत रूपमा चल्दै आएको संस्कृति हामीले जोगाउन पाउनुपर्छ  । त्यसका लागि हामीले देउसी भैलो खेल्न आफ्नै हिसाबले पाउनुपर्छ । कला संस्कृति नेताको पकेटको सम्पत्ति होइन, उनीहरूले आफ्नो अनुकूल गर्नै पाउँदैनन् ।

देउसी भैलो संस्कृति मास्न मिल्दैन

सीताराम कट्टेल ‘धुर्मुस’

देउसी भैलो तिहारमा खेलिने धेरै पहिलेदेखि चलिआएको चलन हो । यो पहिलेदेखि नै राति खेलिँदै आएको छ । हामीले यो अहिले पनि स्वतन्त्र रूपमा खेल्न पाउनुपर्छ । सुरक्षा र कोरोनाका कारण देखाएर देउसी भैलो संस्कृति मास्न मिल्दैन र हुँदैन । कला संस्कृतिमा हामी धनी छौँ । त्यो हामीले लोप हुन दिनु हुँदैन । यो जीवित राख्ने पहल सबैले गर्नुपर्छ ।

हाम्रो देशमा केही कुरो फिक्स भएन

जीतु नेपाल

हाम्रो देशमा केही कुरो पनि फिक्स भएन । दिउँसो सुरक्षा भरपुर भएको र कोरोना नसर्ने होइन । नेताहरूले भीड गर्दा कोरोना नसर्ने, सुरक्षा हुने र सर्वसाधारणले देउसी भैलो खेल्दा सुरक्षा नहुने र कोरोना सर्ने हो र ? कि नेताहरूको क्रियाकलाप, प्रशासनको भीडभाड सबै बन्द गर्नुपर्छ । होइन भने देउसी भैलो मज्जाले पहिलेझैं खेल्न पाउनुपर्छ ।

देउसी भैलोमा विकृति भित्रिनु हुँदैन । देउसी भैलोको नाममा झैझगडा गर्नुहुँदैन । देशको कला संस्कृति बचाउन राम्रोसँग खेल्छन् भने प्रशासनको केमा टाउको दुख्यो ?

देउसी भैलो तिहारमा मात्र खेलिने खेल हो । यसका लागि समय सीमा यतिउति भन्ने हुन्छ र ? देउसी भैलो खेल्नेले संयमतापूर्वक खेल्नुपर्छ । पटाका सटाका पड्काउन भने मिल्दैन । समय तोक्नु कुरो राम्रो होइन । देउसी भैलो आफ्नो इच्छाअनुसार खेल्न पाउनुपर्छ ।

एउटा टोलीले मात्र खेल्ने हो र ?

केदार घिमिरे

मेरो विचारमा राति १२ बजेसम्म देउसी भैलो खेल्न खुल्ला गर्नुपर्छ ।  किनभने, एउटा टोलीले एक घरमा मात्र देउसी खेल्ने होइन ।  प्रशासनको निर्णयले हाम्रो परम्परालाई असर पारेको छ । देउसी भैलो पहिलेदेखि राति खेलिँदै आएको छ । पहिले पहिले यो रातभर खेल्ने चलन थियो । अहिले पनि राति नै उपयुक्त हुन्छ । तर पटका, देउसी भैलोका नाममा भित्रिने विभिन्न उच्छृङ्खल प्रवृत्ति नियन्त्रण गर्नुपर्छ । देउसी भैलोको नाममा बजाइने लाउड स्पिकर भने कम गर्नुपर्छ ।

देउसी भैलो दिउँसो खेल्दा भैगो नि

करिश्मा मानन्धर

विगत तीन वर्षयता पहिले जस्तो देउसी भैलो खेलेको देख्न पाइएको छैन । यो संस्कृति बिस्तारै कम भएर गएको महसुस गरेको छु । सुरक्षाको दृष्टिकोणबाट पनि यो समय महिला पहिले जस्तो सुरक्षित छैनन् । त्यसैले पनि प्रशासनले यो निर्णय गरेको होला । ठीक छ, देउसी भैलो दिउँसो खेल्दा भैगो नि । समय र परिस्थितिअनुसार समय परिमार्जित गरेर देउसी भैलो खेल्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप