बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मिस युनिभर्स नेपाल सुजिता : अमेरिकामा जन्म, नेपालमा पूरा भयो सपना

बुधबार, १७ कात्तिक २०७८, १२ : २०
बुधबार, १७ कात्तिक २०७८

विश्वको शक्तिशाली र विकसित राष्ट्र हो अमेरिका । त्यहाँ पुग्न धेरै नेपालीलाई डीभी भर्न हतारो हुन्छ । धेरैले यसलाई आफ्नो सपनाको संसार ठान्छन् । ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेतको सपना भने नेपालबाट पूरा भएको छ । अमेरिकामै जन्मिएर, त्यहीँ पढेबढेकी बस्नेतको सपना ‘मिस युनिभर्स’मा पुग्ने थियो । त्यो सपना पूरा गर्न उनी नेपाल आइन् । ‘मिस युनिसर्भ नेपाल’मा सहभागी भएर विजेता बन्दै सपना पूरा गरिन् ।

नेपालमा बस्नेतको परिचय एनआरएन हो । अमेरिकामै जन्मिएककाले धेरैलाई लाग्न सक्छ उनी नेपाली राम्रा बोल्न सक्दिनन् । तर होइन, उनी राम्रो नेपाली बोल्छिन् । ‘म अमेरिकामा जन्मिए पनि सानैदेखि बेलाबेलामा नेपाल आउँथेँ’, बस्नेतले भनिन्, ‘मेरो मनभित्रै नेपाल छ ।’ पहिलो प्रयासले उनले यो उपाधि हात पारेकी भने होइनन् । गत वर्षको प्रतियोगितामा फस्ट रनर अप बन्न सफल उनले यो वर्ष भने उपाधि हासिल गर्न सफल भइन् ।

बस्नेतको सौन्दर्य प्रतियोगिताप्रतिको लगाव सन् २०११ बाट बढेको हो । त्यो वर्ष ‘मिस नेपाल यूएसए’ विजेता बनेपछि उनले अमेरिकामै ४, ५ वटा प्रतियोगितामा भाग लिइन् । त्यसले उनको हौसला बढ्यो । उनमा एकपटक नेपालमा गएर नेपालको प्रतिनिधित्व गर्ने इच्छा जाग्यो । ‘मिस युनिभर्स नेपालमा’ एनआरएन पनि सहभागी हुन सक्छन् भन्ने थाहा पाएर भाग लिएँ । पटक पटकको प्रयासमा सफलता हात पर्यो,’ उनले थपिन् ।

‘मिस युनिभर्स नेपाल भएलगत्तै आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’को तयारी थालेकी सुजिता बस्नेतसँग रातोपाटीका लागि गरिएको कुराकानीः

‘मिस युनिभर्स नेपाल’को उपाधि जित्नु भएको छ । कस्तो महसुस गरिरहनुभएको छ ?

एकदमै रमाइलो अनुभव गरिरहेकी छु । मेरो टिन एजदेखिको सपना थियो ‘मिस युनिभर्स नेपाल’ भएर ‘मिस युनिभर्स’मा प्रतिनिधित्व गर्ने । त्यो अहिले पूरा भयो । अहिले पनि म ट्रेनिङमै छु । त्यसैले पनि उपाधि मैले जितेँ जस्तो लागेको छैन । बिहान ‘मिस युनिभर्स’को विकिपिडिया हेरेको थिएँ । त्यसमा अबको सहभागी राष्ट्र र प्रतिनिधि उल्लेख गरिएको थियो । त्यो पेजमा नेपालको झण्डा र मेरो नाम थियो । त्यो देखेपछि भने म ‘मिस युनिभर्स’मा जाँदैछु भन्ने विश्वास भयो ।

गत वर्ष फस्ट रनरअप हुनुभएको थियो । त्यसपछि पनि फेरि भिड्नुभयो ?

‘मिस युनिभर्स नेपाल’ बनेर नेपालको प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स’मा जाने मेरो सपना हो । सपना देखेपछि त पूरा गर्नुपर्यो नि । फस्ट रनरअपले मेरो त्यो सपना पूरा भएन । कोरोनाका कारण यो वर्ष पनि मेरो उमेर हद पुग्यो । यो भगवान्ले दिएको अवसर र सपना किन अधुरो छोड्नु भन्दै सहभागी भएँ । जित पनि हासिल भयो ।

कहिलेदेखि सुरु भयो सौन्दर्य प्रतियोगिताको यात्रा ?

सन् २०११ मा पहिलो पटक ‘मिस नेपाल यूएसए’ मा भिडेको थिएँ । विजेता भएँ । त्यसपछि मैले यूएसएमा ४, ५ वटा प्रतियोगितामा भाग लिएँ । त्यसले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स’मा सहभागी हुने इच्छा जाग्यो । एनआरएनले पनि ‘मिस युनिभर्स नेपाल’मा सहभागी हुन पाउने थाहा पाएँ र भाग लिएँ ।

अमेरिकाबाटै ‘मिस युनिभर्स’मा जान सकिन्थ्यो । नेपालबाट किन जाने सोच आयो ?

म अमेरिकामा जन्मिए पनि मेरी हजुरआमासँग सानैदेखि देशमा बसेर यहाँको वातावरणमा घुलमिल हुने अवसर पाएँ । त्यसले मेरो नेपाली कला संस्कृतिप्रति रुचि रहँदै आयो । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा कसरी जाने भनेर सोच्थेँ । अमेरिकाको प्रतियोगितामा भाग लिँदा पनि नेपाली भन्थेँ । अवसर मिले नेपालको प्रतिनिधित्व गर्छु भन्ने थियो ।

यो पटक भने ‘मिस युनिभर्स नेपालको’ उपाधि जित्छु भन्ने लागेको थियो त ?

अपेक्षा थिएन । जागिरबाट म एक वर्षको बिदा लिएर नेपाल आएकी थिएँ । उपाधि जिते पनि नजिते पनि भाग लिन्छु । नेपाल बस्छु, मज्जाले देश घुम्छु भन्ने थियो ।

अन्तर्राष्ट्रिय क्षेत्रमा देशकै प्रतिनिधित्व गर्दै हुनुहुन्छ । प्रेसर फिल भएको छ कि ?

गर्व लागेको छ, जिम्मेवारी बोध भएको छ । प्रेसर लिएकी छैन । प्रेसर फिल गरेँ भने मैले राम्रो प्रतिनिधित्व गर्न सक्दिनँ ।

यो पटक ‘मिस युनिभर्स’को ताज नेपाल आउने आशा गर्न सकिन्छ ?

निश्चय पनि त्यसका लागि मिहिनेत गरिरहेकी छु । सबैले आआफ्नो ठाउँबाट पहल गरौँ । जित भयो भने मेरो मात्र हुनेछैन । त्यो नेपालकै जित हुन्छ । मलाई सबैको सपोर्ट र माया चाहिन्छ । मैले जित्न कोसिस गर्नेछु ।

अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपाल कसरी चिनाउनु हुन्छ ?

नेपाली के हो र नेपालीको माया कस्तो हो लगायतका विषय दर्शाउँछु ।

देशको कला–संस्कृति कसरी झल्काउनुहुन्छ ?

यसका लागि हाम्रो टिमले नै काम गरिरहेको छ । यो कुरो अहिले गोप्य राख्नुपर्ने भएकाले भन्न मिल्दैन । त्यसका लागि प्रतीक्षा गरौं ।

तपाईंको अन्य रुचिको विषय ?

म बाल्यकालदेखि नै नृत्य गर्दै आएकी छु । मैले आठ वर्षसम्म ट्रिपुटी भन्ने नृत्य गर्थें । डान्सबाट नै स्टेज मोह बढ्यो । त्यसैले कलेज सकिएपछि प्रतियोगितामा आएकी हुँ । हाइकिङ पनि मनपर्छ ।

तपाईंको बुझाइमा सौन्दर्य प्रतियोगिता के हो ?

यो एक नेतृत्व उत्पादन गर्ने प्लेटफर्म हो । यसले जिम्मेवार बनाएर धेरै कुरो सिकाउँछ । यो एक महत्त्वपूर्ण प्लेटफर्म हो ।

कलाकारितातिर पनि रुचि छ कि ?

भविष्यमा के हुन्छ भन्न सक्दिनँ । अहिलेसम्म कलाकारितामा आउँछु भन्ने छैन । राम्रो अवसर मिल्यो र रमाइलो फिल गरेँ भने आउन सक्छु ।

जीवन के हो ?

यो गहन प्रश्न हो । जीवन अगाडि बढाउने हो । भविष्यको प्लानिङ त हुन्छ । तर अपेक्षा भने केही राख्दिनँ । अपेक्षा राखियो भने खुसी दुःखमा बदलिन्छ । जीवन आनन्दले जिउनुपर्छ ।

प्रेम र विवाह ?

जीवनमा एक पटक प्रेम र विवाह हुन्छ । अहिले मेरो फोकस प्रतियोगितामा छ ।

भिडियो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप