शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ऐतिहासिक चिसापानी गढीको संरक्षण प्रक्रिया थालनी, प्रधानसेनापतिले आज शिलान्यास गर्ने

बुधबार, १७ कात्तिक २०७८, १० : ५१
बुधबार, १७ कात्तिक २०७८

ऐतिहासिक चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यासका लागि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम थापा मकवानपुर आउने भएका छन् । भीमफेदी गाउँपालिका–६ स्थित ऐतिहासिक चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणका लागि आवश्यक बजेट तथा योजाना तर्जुमा गरिएकाले निर्माण कार्यको शिलान्यासका लागि प्रधानसेनापति थापा बुधबार मकवानपुरको भीमफेदी आउने भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।

गाउँपालिकाको सक्रियतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको ७० प्रतिशत र भीमफेदी गाउँपालिकाको ३० प्रतिशत लगानीमा ऐतिहासिक चिसापानी गढीको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको काम अघि बढाइएको उनले बताए ।

जम्म २८ करोड रुपैयाँको गुरुयोजनासहित अघि बढाइएको उक्त आयोजनाको लागि चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ विनियोजन गरिएको अध्यक्ष लामाको भनाइ छ ।

निर्माण कार्यका लागि गत कात्तिक ७ गते निर्माण व्यवसायी कम्पनी अनक÷माउन्टेन÷गोले जेभीसँग ३ करोड ७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको गाउँपालिकाका योजना प्रमुख बद्री सापकोटाले जानकारी दिए ।

चालु आर्थिक वर्षमा वास्तुकलायुक्त प्रवेशद्वार तथा चिसापानी गढी क्षेत्रको करिब ४ बिगाह क्षेत्रफलमा कम्पाउण्ड वाल निर्माण, आकर्षक नेपालको नक्सा निर्माण, सो क्षेत्रमा रहेको इनार पुनःनिर्माण तथा संरक्षण र सरसफाइको काम सम्पन्न गरिने जनाइएको छ । २ वर्षभित्र अन्य निर्माण तथा संरक्षणका काम सम्पन्न गरिने सापकोटाले बताए ।

बागमती प्रदेशको राजधानी हेटौंडाबाट करिब २९ किलोमिटर उत्तरमा पर्ने चिसापानी गढी अहिले जीर्ण अवस्थामा छ । मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीभन्दा केहीमाथि र देउराली डाँडाको मुनि अवस्थित गढीमा अझै पनि त्यतिबेला युद्धमा प्रयोग भएको तोपको अवशेष छ । चिसापानीमा बटुक भैरवको मन्दिर पनि छ ।

सो क्षेत्रमा पर्यटनको प्रशस्त सम्भावना भएका कारण त्यसको विकास, प्रवर्द्धन र प्रचारप्रसारका लागि पालिकाले पर्यटन गुरुयोजना तयार गरेको छ । उक्त कार्यले राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरमा ऐतिहासिक चिसापानी गढीमा पर्यटकलाई आकर्षण गर्न सहयोग पुग्ने पालिकाको विश्वास छ ।

तत्कालीन राजकीय परिवेशमा सुरक्षा जाँच चौकी, राहदानी चेकपोष्ट रहेको तथा सामरिक महत्वको चिसापानी गढी, त्यहाँ रहेको बटुक भैरव मन्दिर र काली तोपको छुट्टै पहिचान छ ।

उक्त गढीमा आफ्नो भयानक गर्जन र भारतको रक्सौलसम्म मारक क्षमता रहेको काली तोप, यत्रतत्र छरिएर रहेका कार्तुस तथा गोलाहरुले अवलोकनकर्तालाई तत्कालीन समयको परिकल्पना गराउन मद्दत पु¥याउँछ ।

तत्कालीन समयमा चन्द्रागिरि, कुलेखानी, भीमफेदी, हेटौंडा, वीरगञ्ज, रक्सौल जाने एकमात्र बाटो यही रहेकाले र देशभित्र शत्रुहरुको घुसपैठ नहोस् भन्नका लागि बडा हाकिममार्फत् चेक र अनुमतिपत्र लिएरमात्र काठमाडौं प्रवेश गर्न पाइने गरेको जानकारहरु बताउँछन् ।

विकट स्थानमा रहेको किल्लामा बस्ने नेपाली फौजका लागि पर्याप्त पानीको सुविधा होस् भन्नका लागि इनार खनिएको थियो, जुन अहिले पनि छ ।

चिसापानी गढी किल्लाको निर्माण वैज्ञानिक आधारमा भएको छ । किल्लाभित्रबाट पानी र थप हतियार ल्याउन सुरुङ तयार गरिएको छ । सुरुङमा भ¥याङ खुड्किला बनाउँदा सहज हुन्छ भन्ने सोचिएको देखिन्छ । भीमफेदी पुरानो बस्ती भएको क्षेत्र हो ।

ऐतिहासिक चिसापानी गढीमा परापूर्वकालमा काठमाडौं उपत्यका जानका लागि भिसा लगाउने काम हुन्थ्यो । चिसापानी गढीमा रहेको काली तोप, बडाहाकिमको घरलाई जस्ताको तस्तै राखेर संरक्षणको प्रयास थालिने अध्यक्ष लामाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप