शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महँगियो तिहार : भाइमसला, झिलीमिली बत्ती र फूलमालाको मूल्य बढ्यो

बुधबार, १७ कात्तिक २०७८, १० : ५०
बुधबार, १७ कात्तिक २०७८

तिहारमा प्रयोग हुने सबैजसो वस्तु महँगिएको छ । कोरोना महामारी प्रभाव कम हुँदै जाँदा नागरिकहरू यो तिहार अघिल्लो वर्षभन्दा राम्ररी मनाउने योजनामा छन् । यसैकारण माग बढेपछि सबैजसो वस्तुको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् । नेपाल–चीन नाकामा समस्या, कच्चा पदार्थ अभाव र माग बढेपछि तिहारमा सबैभन्दा बढी कारोबार हुने भाइमसला, फूलमाला र विद्युतीय (झिलीमिली) बत्तीको मूल्य बढेको हो ।

महँगियो भाइमसला

कोरोना महामारीका कारणले माग नहुँदा गत वर्ष घटेको भाइमसलाको मूल्य यो वर्ष २५ प्रतिशतसम्म बढेको छ । नेपाल खुद्रा व्यवसायी महासंघका अनुसार अघिल्लो वर्षभन्दा यो वर्ष माग बढेपछि मूल्य पनि बढेको हो । भाइमसलामा प्रयोग हुने सबैजसो वस्तुको मूल्य कम्तिमा २५ प्रतिशतले बढेको छ ।

भाइमसलामा काजू, किसमिस, नरिवल, पेस्ता, बदाम, ल्वाङ, सुकमेल, छोकडा, अन्जिर, दालचिनी, मिश्री र मखना लगायतका सुख्खा फलफूल मिसाइन्छ । यी सबै प्रकारका फलफूलको मूल्य उकालो लागेको संघले बताएको छ ।

यो वर्ष काजूको थोक मूल्य प्रतिकिलो १५ सय, सुकुमेल २९ सय, ल्वांङ १३ सय, बदाम १२ सय, नरिवल ५००, किसमिस ४२५, छोकडा १७५ र अन्जिर प्रतिकिलो १८ सय रुपैयाँ छ । यस्तै, मखना एक हजार, अलैँची १२ सय, खोरपानी एक हजार रुपैयाँ, मिश्री २००, ओखर ७००, पेस्ता १६५० र दालचिनी ५०० रुपैयाँ प्रतिकिलो छ । यी सबै वस्तुको मूल्य अहिलेभन्दा गत वर्ष २५ प्रतिशत कम थियो ।
 

स्रोतः नेपाल खुद्रा व्यापार संघ
 

झिलिमिलि बत्तीको मूल्य ३० प्रतिशतले बढ्यो

विश्वव्यापी महामारीका कोरोना भाइरसको प्रभाव तिहारमा बिक्री हुने वस्तुहरूमा पनि परेको छ । बत्ती र उज्यालोको चाड भनिने तिहारमा फूलमाला र अन्य वस्तुसँगै झिलिमिली बत्तीको व्यापार राम्रै हुन्छ । तिहार मूख्य सिजनका रूपमा रहेको झिलिमिल बत्तीको मूल्य बढेको छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष झिलिमिलि बत्तीको मूल्य बढेको हो । चीनबाट तिहारलक्षित आयात हुने झिलिमिली बत्ती ३० प्रतिशतसम्म मूल्य बढेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले अघिल्लो वर्षको तुलनामा यो वर्ष ३० प्रतिशतसम्म मूल्य बढेको बताए । उनले रातोपाटीलाई भने, ‘नेपालको उत्तरी नाका केरुङ र तातोपानीमा समस्या आउँदा समुन्द्री मार्ग हुँदै सामान ल्याउनुपर्छ । महामारीका कारण सबै वस्तुको मूल्य बढाउँदा झिलिमिली बत्तीको मूल्य पनि बढेको हो ।’

तिहार बेला नेपालमा झिलिमिली बत्तीको व्यापार झण्डै ३० करोड रुपैयाँ हाराहारीमा हुन्छ । महामारीअघि हरेक तिहारमा करिब ५० करोड रुपैयाँ बराबरको बत्तीको बिक्री हुँदै आएकोमा कोभिडले बिक्री घटाएको हो ।

चीनबाट, चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनाको समयमा नै ६४ करोड रुपैयाँको झिलिमिली बत्ती आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

माला पनि महँगो
यो वर्षको तिहारमा मालाको मूल्य पनि उकालो लागेको छ । कात्तिक पहिलो साता आएको बेमौसमी बर्षाका कारण मालाको मूल्य बढ्ने पुष्प व्यवसायीहरू बताउँछन् । बेमौसमी वर्षाले बेच्ने बेला भएका फूल बोटमै कुहाएपछि मूल्य स्वतः उकालो लाग्ने उनीहरूको तर्क छ ।

यसका साथै, अघिल्लो वर्षको तिहारको तुलनामा यो वर्षको तिहारमा फूलको मालाको माग बढ्दा समेत मूल्यमा चाप पर्ने देखिएको छ । गत वर्षको तिहारमा जम्माजम्मी १५ लाख माला बिक्री भएकामा यो वर्ष माग बढ्ने फ्लोरिकल्चर एसोसिएशन अफ नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए ।

अघिल्लो वर्षको कोरोना तिहारमा कोरोनाको व्यापक प्रभाव रहेकाले माग कम भएको थियो । यो वर्ष कोरोनाका प्रभाव कम हुँदा र आर्थिक गतिविधि चलायमान बन्दा माग बढेर १८ लाख वटा माला खपत हुने अनुमान एसोसिएशनले गरेको छ ।

१८ लाखमध्ये १५ लाख सयपत्री र ३ लाख वटा माला गोदावरी र मखमलीको खपत हुन्छ । तिहारमा खपत हुने १५ लाखमध्ये १२ लाख माला नेपालमै उत्पादन हुने र ३ लाख भारतबाट आयात हुने एसोसिएशनले जनाएको छ ।
‘माग बढेपछि यो वर्ष मालाको मूल्य बढ्ने देखिएको छ । गत वर्ष ६० रुपैयाँसम्म पाइएको सयपत्री मालाको मूल्य बढेर १०० रुपैयाँसम्म पुग्छ’, उनले भने, ‘मखमलीको मालाको मूल्य पनि बढेर ६०/७० रुपैयाँसम्म पुग्छ । गत वर्ष यसको मूल्य ४० रुपैयाँसम्म थियो ।’
तिहारमा सयपत्री, मखमली र गोदावरीका २० करोड रुपैयाँ बराबरको माला बिक्री हुने एसोसिएशनले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप