शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए जापानाको टोलीले परराष्ट्रमन्त्रीलाई बुझायो ज्ञापनपत्र

बुधबार, १७ कात्तिक २०७८, ०९ : २९
बुधबार, १७ कात्तिक २०७८

गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेल सहितको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर जापानवासी नेपालीका समस्या र दुई देशबीच गरिनुपर्ने अत्यावश्यक काम कारवाहीका बारेमा ज्ञापनपत्र बुझाएको छ ।

एनआरएनए जापानका उपाध्यक्षहरू राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ, यूवा संयोजक राकेश रुम्बा एवं निवर्तमान प्रवक्ता परशु बस्नेत सहितको टोलीले नोभेम्बर २ तारिख मन्त्री खड्कालाई परराष्ट्र मन्त्रालयमा भेटेर टोलीले ९ बुँदे ज्ञापनपत्र बुझाएको हो । तत्काल सम्बोधन गरिनुपर्ने दुई र दीर्घकालीन रुपमा गर्नुपर्ने ७ वटा महत्वपूर्ण विषय समेटिएको ज्ञापनपत्रमा रिक्त राजदूत तत्काल नियुक्तिसहित दुई देशबीचको कुटनीतिक सम्वन्ध मजबुद बनाउन आग्रह गरिएको छ ।

नेपालमा सिओई आएर रोकिएका सबै भिसा स्टाटसको नेपालीहरुको प्रवेशमा सार्थक पहल गर्न तथा नेपाल एयरलाइन्सको सिधा हवाई उडानमा चर्को भाडादर रहेकाले समायोजनको पहल गर्न परराष्ट्रमन्त्री मार्फत आग्रह गरिएको छ ।

श्रमिकको सीपमूलक क्षमता अभिवृद्धिमा पहल, जापानमा पाउने पेन्सन नेपालमा लिन सकिने व्यवस्थाको लागि सम्झौतामा पहल गर्न समेत सरकारको ध्यानाकर्षण गराइएको छ । जापानको आम्दानीलाई दोहोरो कर छुटको व्यवस्था गर्न दुई देशबीच दोहोरो कर छुट सम्झौताको पहल गर्न, अल्पविकसित राष्ट्रका नागरिकहरु लाभान्वित हुनेगरी बनेका नियम, सेवा र सुविधाको लागि सरकारलाई सहजीकरण गर्न र यसमा एनआरएनए जापानले समन्वयात्मक काम गर्ने प्रतिबद्धता एनआरएनए जापानको टोलीले गरेको छ ।

कुक भिसामा जापान जाने नेपालीहरूबाट लिने गरिएको चर्को रकम, सम्झौता अनुसार जापान पुगेपछि तलब नदिने गरेका समस्या र उनीहरुमाथिकाे दुःख बढ्दो क्रममा रहेकाले समस्या सुल्झाउन एनआरएनए जापानले जोडदार आग्रह गरेको छ ।

जापान र नेपाल सरकारबीच भएको सम्झौता अनुसार नेपाली कामदार लैजाने सहमति भएपनि प्रक्रियामा भएको ढिलासुस्तीले गर्दा हजारौं नेपालीले मौका गुमाइ रहेकाले यसमा तदारुकताका साथ काम गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

भियतनाम, चीनलगायत कतिपय राष्ट्रका विद्यार्थीहरुको पार्टटाईमबाट हुने आम्दानीमा कर तिर्नुनपर्ने व्यवस्था रहेपनि नेपालले सो सुविधा नपाएकाले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न आग्रह गरिएको छ ।

हाल जापानको लागि नेपालको तर्फबाट राजदूत नियुक्ति नभएकाले  छिटो कुटनीतिक क्षेत्रमा दक्षता राख्नसक्ने राजदूत नियुक्तिको पहल गर्न एनआरएनएको आग्रह छ । सरकारले चाल्ने कदममा सबै किसिमको साथ र समन्वयको भूमिका निभाउने एनआरएनए जापानले प्रतिबद्धता जनाएको छ ।

एनआरएनए जापानको तर्फबाट ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री नारायण खड्काले सरकारले ज्ञापनपत्रमा उल्लेख बुंदाहरुको अध्ययन गरेर तत्काल आवश्यक कदम चाल्ने आश्वासन दिएको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप