शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फूलले फक्राइदिएको जीवन

मङ्गलबार, १६ कात्तिक २०७८, १६ : २२
मङ्गलबार, १६ कात्तिक २०७८

‘यो ‘कामिनी’ हो । धार्मिक बोट । यसलाई ‘गुडलक प्लान्ट’ पनि भनिन्छ ।’ ग्राहकहरुको जिज्ञासा मेटाउँदै र आफूले टेक्ने लठ्ठीले सानादेखि ठूला बोटलाई पालैपालो देखाउँदै उनले भने, ‘यसको ४ सय ५०, यसको ७ सय ५० र यसको ९ हजार रुपैयाँ ।’

‘कम्ब्याट’ ज्याकेट अनि त्यसैसँग मेल खाने ‘ह्याट’ पहिरिएर प्लास्टिकको कुर्सीमा बसेर ग्राहकसँग ‘डिल’ गरिरहेका जेपी गुप्ताले आफ्नो नर्सरीमा आएका लगभग प्रत्येकजसो ग्राहकलाई निकै जोशिलो हुँदै यही कुरा बारम्बार दोह्र्याइरहेका थिए ।

फूलैफूलको चाड भनिने तिहारलाई लक्षित गर्दै ललितपुरस्थित जावलाखेलको खेलमैदानमा आयोजना गरिएको १४ औं गोदावरी पुष्प प्रदर्शनीमा राखिएका ४८ वटा स्टलमध्येको एक थियो ‘मेरो नर्सरी’ । यसैका सञ्चालक हुन् जेपी गुप्ता ।

६ कक्षाबाटै फूलको कारोबार

२००७ सालमा इलामको पशुपतिनगरमा जन्मिएका गुप्ताले कक्षा ६ सम्म नेपालमा नै पढे । सात कक्षापछि दार्जिलिङको सुखियापोखरी हाइस्कूलमा पढे । त्यहाँ चिया बगानका साथीहरुसँग उनको भेट भयो । घरमा आउजाउ हुन थाल्यो, फूल रोपेको देखे । उनको मनले भन्यो, ‘ओहो, यहाँका मानिस त फूलको सौखिन रहेछन् ।’ त्यसपछि उनको दिमागमा फूलको व्यापार गर्ने सोच पलायो । स्कूलमा जाडो महिनाको छुट्टी हुँदा कमान बस्तीमा घुम्न थाले । साथीभाइको घरबाट १० रुपैयाँमा फूलको बोट किने र दार्जिलिङ शहरमा लगेर बेच्ने सोच बनाए । बेगुनिया, ग्लोक्सिनिया दार्जिलिङका निकै चर्चित फूलहरु हुन् । यीसँगै अर्किड फूलहरु कमान बस्तीका साथीहरुसँग सस्तोमा लिएर दार्जिलिङमा गएर बेच्न थाले उनी ।

रमाइलो के भइदियो भने १० रुपैयाँमा किनेका फूल ४०–५० रुपैयाँमा बिक्री हुन थाले । कतिपटक त के भइदियो भने ल्याएको फूल जति एकैजनाले किनिदिने । त्यसपछि उनी निकै हौसिए । घरको आर्थिक स्थिति कमजोर भइरहेको अवस्थामा फूलका बोटबिरुवा बेचेकै भरमा ‘पकेट मनी’ जोहो हुन थालेपछि उनको फूलप्रतिको मोह थप चुलिँदै गयो । तर उनलाई यत्तिमा मात्रै चित्त बुझेन । व्यापारको दायरा फराकिलो पार्ने सोच बनाए । धरानमा बिक्री गर्न थाले ।  त्यहाँ पनि राम्रै भयो । अब उनको कन्फिडेन्स राम्रोसँग बढिसकेको थियो । काठमाडौंमा पनि राम्रो व्यापार हुन्छ भन्ने कतै सुनेपछि उनी यतैतिर हानिए ।  

दुई झोला फूलको गानो बोकेर काठमाडौं

२०५० सालमा गुप्ता दुई झोला फूलको गानो (फ्लावर बल्स)  लिएर काठमाडौं भित्रिए । सुरुमा त्यसलाई घर–घर डुलाए । फूल चिन्ने कतिले त किन्थे तर थाहा नहुनेहरुले वास्तै गर्दैनथे । त्यतिबेलाको समय याद गर्दै उनी भन्छन्, ‘कोही त फूलको गानोसहित आएको देख्दा असाध्यै खुसीसमेत हुन्थें । ’

घर–घर हिँडेर फूल बेच्न सोध्धे । उनले नर्सरी कहाँ छन् भनेर खोजीखोजी गर्न थाले । त्यतिबेला काठमाडौंमा दुई तीनवटा मात्रै नसरी खोलिएको उनी स्मरण गर्छन् । नर्सरीमा फूलका लागि सम्पर्क गर्दा नर्सरी सञ्चालक निकै खुुसी भएको उनी बताउँछन् । नर्सरीमा संलग्न भएका साथीहरु सबैले ‘तिमी त बोर्डरको मान्छे रहेछौ । तिम्रो एरियाबाट दार्जिलिङ, सिक्किम, कालिम्पोङ नजिक पर्छ, त्यहाँबाट  फूल ओसार्ने काम गर’ भनेर विभिन्न खालका अर्डर दिने र यसका लागि अग्रिम भुक्तानीसमेत गर्न थाले । ‘होटलमा नबस, हाम्रोमा नै बस’ भनेर नर्सरीमा नै बस्न आग्रहसमेत गरे ।  

त्यसपछि उनले माग गरिएका फूलको खोजीमा दार्जीलिङ, सिक्किम, कालिम्पोङ चहार्न थाले । दार्जिलिङका निकै चर्चित बेगुनिया, ग्लोक्सिनियाका फूलहरु काठमाडौं भित्र्याउने गुप्ता पहिलो व्यक्ति हुन् । बुके बनाउन प्रयोग हुने कट फ्लावर पनि उनैले काठमाडौंमा भित्र्याएका हुन् ।

कमलादीमा फूलका पसलहरु खोलिन थालेपछि त झन् उनलाई भ्याइ नभ्याइ भयो । ती पसलहरुले बुकेका लागि ग्लेडेरिया कट फ्लावरहरु मगाउन थाले । यी माग पूरा गर्न उनी कलकत्तासम्म पनि पुग्ने गर्दथे ।  

३५ वर्षदेखि यही पेशा

फूल व्यवसायमा उनले आफ्नो ३५ वर्ष बिताइसकेका छन् । सुरु सुरुमा त फूलको नाम नै थाहा हुँदैनथ्यो । नर्सरीले फूलको माग गरेपछि नाम लेख्थे, कहाँ पाइन्छ सोधीखोजी गर्दथे र ल्याइदिन्थे । फूल देखेपछि मात्रै ‘ए, यसको नाम यो हो ?’ भनेर चिन्दथे । ‘जाम्बिया भनेको यो हो, कार्नेसन भनेको यो हो, गेलेड्रियल भनेको यो हो,’ पछि त नामकै भरमा के कहाँ पाइन्छ, उनलाई थाहा हुन थाल्यो, फूलको खानी जता हुन्थ्यो, त्यहाँ पुगिहाल्थे । उनी भमराजस्तै भएका थिए, जहाँ फूल त्यहाँ गुप्ता ।

पहाडी क्षेत्रमा हुने प्रायः लगभग सबैजसो फूल उनले काठमाडौं भित्र्याइसकेका छन् ।

उत्कृष्ट स्टलको उपाधि

यता थापा नर्सरी कीर्तिपुरका सञ्चालक कृष्णराम थापाले पनि यो पेशामा आफ्नो २४ वर्ष बिताइसकेका छन् । नुवाकोटमा जन्मिएका थापाले १८ वर्षसम्म अन्य नर्सरीमा काम गरे । यसमा जति काम गर्दै गए, यसप्रति जागरुक पनि भए र आत्मैदेखि रुचिसमेत जाग्यो । बीचमा आफूले काम गरेको मालिकको निधन भएपछि भने उनले त्यहाँ छोडेर आफ्नै नर्सरी सञ्चालनमा ल्याए । उनको नर्सरीले पनि ८ वर्ष पूरा गरिसकेको छ ।

थापा नर्सरी कीर्तिपुरको स्टलले यस वर्षको प्रदर्शनीमा उत्कृष्ट स्टलको उपाधिसमेत जित्न सफल भयो ।

पहिला उच्च घरानाको मात्रै, अब सबैको रोजाइ

गुप्ताका अनुसार काठमाडौंमा २०५० सालतिर बुझकी जस्तो देखिने, उच्च घरानाका व्यक्तिहरुले मात्रै फूल किन्ने गर्दथे । अहिले त यो परिपाटीमा परिवर्तन आएको उनी बताउँछन् । ‘अहिले त पल्लो घरमा फूल देख्यो, वल्लो घरकोले पनि फूल रोप्न थाले, टिभीबाट पनि प्रचार हुन थाल्यो । विदेशतिरका बगैंचाहरु पनि देख्न थाले । यहाँका मानिसहरु पनि विदेश जान थाले, उताका मानिसहरु पनि यहाँ आउन थाले । यसरी पनि फूलको व्यापार फस्टाएर गयो ।’

गुप्ताका अनुसार २०५५–५६ सालदेखि नै मानिसहरु फूलका सौखिन हुन थालेका हुन् । जुन बढेको बढ्यै छ । कोरोनाले यसको व्यापार थोरै खस्किए पनि क्रमिक रुपमा यसमा सुधार आउन थालेको उनी बताउँछन् ।

यसमा गुप्ता र थापाको धारणा लगभग उस्तै छ । थापाका अनुसार पछिल्लो समय मानिसहरु फूल र बोटबिरुवाप्रति निकै आकर्षित भएका छन् । पछिल्लो पाँच वर्षमा यो ट्रेन्ड ह्वात्तै बढेको उनी बताउँछन् ।

जनचेतनाका कारण पनि यस्तो भएको हो कि भन्ने उनले अनुमान गरेका छन् । ‘बोटबिरुवा प्रतिको मोह, सर्वसाधारणले थाहा पाए कि हामीलाई यो धर्तीमा बोटबिरुवाले नै जोगाइरहेका रहेछन् । त्यतिबेला पैसा हुनेले मात्रै फूल, बोटबिरुवाहरु किन्छन् भन्ने हुन्थ्यो । कतिले किन्न मन लाग्दालाग्दै पनि बोटबिरुवामा पैसा खर्च गर्न हिच्किचाउँथे,’ थापा भन्छन् ।

कस्ता फूल र बोटबिरुवाको माग बढी छ त भन्ने प्रश्नको जवाफमा गुप्ताले भने, ‘इन्डोर प्लान्ट, आउटडोर प्लान्ट, बल्ब भेराइटी । १२ महिना फूल्ने फूलहरुको माग बढी छ ।’

यता थापाले भने समय र मौसमको हिसाबले बोटबिरुवाको माग फरक पर्ने बताए । ‘वर्षायाममा ठूला रुखहरु, फलफूलका रुखहरु, हर्ब प्लान्ट, मेडिसिन प्लान्टको माग बढी हुन्छ ।’ 

आर्थिक रुपमा सबल

गुप्ताले यो व्यवसायलाई निकै राम्रो मानेका छन् । व्यवसाय सुरु गर्दादेखि अहिलेसम्म उनले खासै त्यस्तो ठूलो समस्या झेल्नुपरेको छैन । फूलमा र बोटबिरुवामा रुची भएका कारण पनि उनले यसमा आफ्नो जति ऊर्जा र समय खर्च गरे, त्यो उनलाई ठूलो लागेन । नेपाल र भारतको सीमामा घर भएका कारण पनि उनलाई यो व्यवसाय गर्न निकै सजिलो भएको उनी बताउँछन् । यद्यपि, अहिले सीमामा कडा निगरानीका कारण आफ्ना सामानहरु नेपाल भित्र्याउन उनलाई कहिलेकाँही हम्मे हम्मे पर्ने बताउँछन् । हाल प्रतिस्पर्धा बढेका कारण पनि थोरै गाह्रो भएको उनको भनाइ छ । तर पनि यसलाई उनी ठूलो समस्या ठान्दैनन् । भन्छन्, ‘३५ वर्ष भयो, यो पेशामा खासै त्यस्तो ठूलो कष्ट मैले सहनु परेको छैन ।’

गुप्तालाई काठमाडौंमा हाल उनका छोरी ज्वाईंले नर्सरी सञ्चालनमा सहयोग गरिरहेका छन् । जेठो छोराले दार्जिलिङमा बसेर कालिम्पोङ, सिक्किमका फूलहरू काठमाडौं ल्याउन सहयोग गरिरहेका छन् । एक हिसाबले गुप्ताले आफ्नो यो व्यवसाय दोस्रो पुस्तालाई हस्तान्तरण गरिसकेका छन् ।  

......

यता थापा पनि यो व्यवसायले आफूलाई पूर्ण रुपमा सन्तुष्टि दिएको बताउँछन् । यस्तै, हाल आफूले आफ्नो लगानीको प्रतिफल पाइरहेको उनी बताउँछन् । ‘आफूले जानेको सीपमा मैले लगानी पहिले नै गरेको थिएँ, यतिखेर मैले फाइदा लिने बेला हो । मेरो दुईजना छोराछोरी छन्, बुढाबुढी छौँ । अहिले जीवन सहज भएको छ । म व्यापारमा पनि सन्तुष्ट छु, काममा पनि सन्तुष्ट छु, मेरो छोरा पनि यसमा नै भिज्छ । छोरीलाई पनि एकदम रुची छ । बोटनी पढ्छु भन्छे ।’

कुनै बेला कोठाभाडा तिर्न र दुई छाक टार्न बाध्यताबस् नर्सरीमा जागिर खाएका थापाको यो पेशा उनका सन्तानले पनि अपनाउने छाँटकाँट देखाएका छन् । उनको फार्ममा अहिले २१ जना कर्मचारी छन् । उनी चार पाँचवटा साइट चलाउँछन् ।

फूलमा परनिर्भरता हुनुमा सरकार दोषी  

उक्त पुष्प प्रदर्शनीको उद्घाटन गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले अर्को वर्षदेखि फूल आयात नगर्ने सङ्कल्पका साथ अघि बढ्न पुष्प व्यवसायीलाई आग्रह गरे ।

फूलको व्यवसायले केही व्यक्तिको जीवन फक्रिएको छ । यसमा कुनै शंका छैन तर नेपाल फूलमा आत्मनिर्भर भने हुन सकेको छैन । आयात नरोकेसम्म आत्मनिर्भर बन्न नसकिने पुष्प व्यवसायी बताउँछन् ।

तर यसमा सरकारले नै केही नगरेसम्म एक्लो व्यक्ति वा संस्थाले मात्रै चाहेर केही पनि नहुने थापा बताउँछन् । ‘आयात रोक्न यहाँकै उत्पादन बढाएर माग पुर्याउन त सम्भव छ तर सरकारले कृषि अनुदान, औजार, बीउ बिजनलगायतका सुविधा प्रदान गर्नुपर्छ । एक साल गर्याे, कहिले हुरी आएर उडाइदिन्छ, कहिले पानीले सखाप पारिदिन्छ, त्यति बेला नेपाल सरकारले केही नीति ल्याइदियो भने व्यवसायीलाई निकै राहत हुन्छ,’ उनी भन्छन्, ‘एक वर्ष ऊ तल परेपनि  अर्को वर्ष प्रोत्साहन दिने खालको केही पनि छैन । एकचोटि ऊ थिचियो भने थिचिएकै थिचिएको हुन्छ । उसलाई सबैजना मिलेर उठाउने कोसिस नै गरिँदैन । उसको डुब्यो भन्यो, हेर्यो, हाँस्यो । ठिक्क पर्यो भन्यो, यस्तै प्रवृत्तिले पनि हामी पछि परेका हौं ।’

‘प्रकृतिसँग त कसैको केही लाग्दैन तर पनि यीसँग जुध्न हामीसँग खासै राम्रो प्रविधि छैन । कुनै बिरुवामा असाध्यै धेरै मिहिनेत लागेको हुन्छ तर उचित मूल्य पाइरहेको अवस्था हुँदैन,’ समस्या केलाउँदै उनले सुनाए ।

यता गुप्ताको पनि गुनासो छ, ‘सरकारले कुनै सुविधा दिएको छैन । सुविधा नभएपछि आफ्नो लगानीले कति गर्ने ? समस्या यही नै हो । यहाँका धेरैजसो मानिस विदेशमा छन् । खेतीयोग्य जमिन सबै बाँझो छ । ज्ञान पनि छैन । ज्ञान नभएपछि विदेश जानुको विकल्प छैन । ’

यो व्यवसायबाट निकै राम्रो आम्दानी गर्न सकिए पनि यसका लागि उन्नत बिउ, उन्नत किसिमको संरचना र अहिलेको समय अनुसारको वृद्धि गर्ने मेसिनरी सामानहरु हुनुपर्ने थापा बताउँछन् । यसका लागि राज्यले आफ्नो भूमिका निर्वाह गर्नैपर्ने उनको धारणा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता कार्की
सरिता कार्की

सरिता कार्की रातोपाटीकी डेस्क सम्पादक हुन् ।

लेखकबाट थप