बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कर्णाली करिडोरमा पाँच पुल बन्ने

मङ्गलबार, १६ कात्तिक २०७८, १४ : २२
मङ्गलबार, १६ कात्तिक २०७८

उत्तर–दक्षिण करिडोर अन्तर्गतको कर्णाली करिडोरमा चालू आवमा पाँच पुल निर्माणका लागि ठेक्का प्रक्रिया हुने भएको छ । हालसम्म एउटा मात्रै पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा चालू आवमा पाँच पुल ठेक्का गरिने कर्णाली करिडोर हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ ।  हिल्सा सरिसल्ला खण्ड अन्तर्गत हाल चार पुल निर्माणको क्रममा रहेको योजनाका प्रमुख बिसुनदास लामाले बताए । 

पहिलो चरणमा हेप्का, ताग्रु, सल्ली, यङगार पुल निर्माण गर्न लागिएको हो । उनले भने, “यी पुल बनेपछि पनि स्थानीयवासीलाई आवतजावतमा सजिलो हुनेछ ।”यसअघि नै खार्पुनाथमा पक्की पुल र छारे लेप्चेमा दुई बेलिब्रिज राख्नका लागि ठेक्का भई सम्झौता भइसकेको छ । तत्काल पुल आवश्यक भएकामा बेलिब्रिज राखिने भए पनि कर्णाली नदीको वहाब कम नभएसम्म राख्न नसकिने प्रमुख लामाले बताए । 

नदीको सतह घट्नासाथ मङ्सिरको पहिलो सातासम्म बेलिब्रिज निर्माणस्थल पु¥याउने लक्ष्य लिइएको छ । करिडोरमा निर्माण गर्नुपर्ने स्याम्ने, लाली, सुनाखडा, गोठी, न्यासी र सरिसल्ला पुलका लागि समेत बजेट विनियोजन भइसकेको छ । सो पुलको ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट मङ्सिरको अन्तिमसम्ममा ठेक्का गर्ने तयारी भइरहेको छ । 

सरिसल्लाको कर्णाली नदीमा पक्की पुल नबनेसम्म फेरि (गाडी वारपार गर्ने डुङ्गा) समेत राखेर यातायात सञ्चालन गरिने प्रमुख लामाले बताए । राष्ट्रिय गौरबको कर्णाली करिडोरको निर्माण सम्पन्न हुने क्रममा हुँदा पुल निर्माण पनि अघि बढाउन लागिएको हो ।

कूल १४५ किमी लम्बाइको करिडोर हाल १० किमी मात्रै ट्र्याक खोल्न बाँकी छ । हिमाली जिल्ला भएकाले हिउँदमा काम गर्न कठीन भएको योजनाले जनाएको छ । कठीन भूगोलका कारण सडक विभागले सात किमी सडकको ट्र्याक खोल्न सेनालाई जिम्मेवारी दिएकामा तिहारलगत्तै काम सुरु गर्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप