शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलको सडक पाइला–पाइलामा खाल्टाखुल्टी : कहिले हिलो, कहिले धुलोले हैरान

मङ्गलबार, १६ कात्तिक २०७८, १२ : ५९
मङ्गलबार, १६ कात्तिक २०७८

 बुटवलको सडकमा महिनौंदेखि यात्री तथा स्थानीयवासीले सास्ती व्यहोर्नु परेको छ । बुटवलको चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक स्तरोन्नति समयमै नहुँदा वर्षामा हिलो र घाम लाग्दा धुलोको समस्या छ ।

ठाउँ ठाउँमा परेको खाल्टाखुल्टीले चालक तथा यात्रीलाई यो सडकखण्डमा यात्रा गर्न निकै सास्ती हुने गरेको छ भने मोटरसाइकल चलाउन पनि धौधौ हुने गर्दछ । निर्माणको नाममा कतिपय ठाउँमा सडक भत्काएर अलपत्र छाड्दा लामो समयदेखि चालक र यात्रीले दुःख पाएको बुटवलको मिलनचोकका केवश श्रीस बताउँछन् ।

लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलको बजार क्षेत्रकै सडकको यस्तो दुर्गतिले प्रदेशमा विकास निर्माण कस्तो होला भन्ने नमूना नै देखाएको स्थानीयवासी बताउँछन् । बुटवलको ज्योतिनगर र लक्ष्मीनगरमा साउनमा आएको पहिरो बगाएको माटो बुटवलको सडकसम्म आइपुग्दा अझ सास्ती हुने गरेको उनीहरुको भनाइ छ ।

बुटवलको भित्री सडक कालिननगर नगरदेखि पुुरानो बसपार्कसम्मको अवस्था पनि उस्तै छ । त्यहाँ ई–रिक्सा र  मोटरसाइकल चलाउन निकै सास्ती हुने गरेको चालकको भनाइ छ ।

व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडक आयोजनाले समयमा निर्माण नसक्दा यस्तो समस्या भएको सरोकारवाला बताउँछन् । खाल्टाखुल्टीका कारण दिनहुँजसो सडक दुर्घटना हुने गरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

बुटवल राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साढे ३ किलोमिटर सडक विस्तार आयोजनाको सम्झौता अनुसार २०७६ असोज १२ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर बीचमा सडकको जग्गाभित्र घर भएकाहरूले पटक–पटक अदालतमा मुद्दा दायर गरेकाले निर्माण कार्य अघि बढ्न सकेको थिएन । गत माघदेखि अदालतले सडक विस्तारका लागि बाटो खोले पनि निर्माण कम्पनीको लापरवाहीले काममा ढिला हुँदै आएको छ ।

उक्त सडक स्तरोन्नतिको जिम्मा पाएको कम्पनी द कञ्चनजंगा बिरुवा जेभी काठमाडौंले समयमा काम नगर्दा स्थानीयवासी र यात्रीले सास्ती खेप्नु परेको हो । सडक विस्तार आयोजनाका प्रमुख जयलाल मरासिनीले अहिले निर्माण कम्पनीले काम सुरु गरेको  बताए । उनले छिटो निर्माण सम्पन्न गर्न पटक पटक ताकेता गरेको पनि जानकारी दिए ।

उक्त सडक स्तरोन्नतिका लागि तेस्रो पटक २०७९ साल असार ३२ गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप भएको छ । ४७ करोड २७ लाखमा निर्माणको ठेक्का सम्झौता भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप