बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ओखरकै घडी, ओखरकै चस्मा

मङ्गलबार, १६ कात्तिक २०७८, ११ : २९
मङ्गलबार, १६ कात्तिक २०७८

नेपालमा ओखर खासगरी तिहारका बेला भाइमसलामा मिसाउन प्रयोग गरिन्छ । यसैकारण नेपालमा ओखर बिक्रीको मूख्य सिजन तिहार नै हो । भाइमसलामै सीमित ओखर अहिले नेपाल चिनाउने ब्राण्डका रूपमा स्थापित भएको छ ।

पाँचजना युवाको समूहले ओखरलाई तिहारमा मात्र नभइ वर्षैभर चल्ने बनाउँदैछन् । अष्ट्रेलियामा स्नातक गरेर नेपाल फर्किएका प्रकाश दाहाल नेतृत्वको युवा समूहले ओखरलाई ब्राण्ड बनाएका हुन् । 

विदेशमा उच्च शिक्षा लिएपनि आफ्नै देशमा केही गर्ने सोचसाथ नेपाल फर्किएका दाहालले जागिरको साटो आफैँले केही गर्ने योजना बनाए । ‘साथीहरू मिलेर केही गर्ने योजना त बन्यो । के गर्ने भन्नेबारे छलफल थालियो । विकल्प खोज्न लामो समय खर्चिएपछि वातावरणमैत्री व्यवसाय गर्ने निष्कर्ष निस्कियो, नाम खोजी गर्दैगर्दा ‘ओखर’ जुर्‍यो,’ दाहालले रातोपाटीसँग भने ।

नाम जुरेपछि ओखरलाई घडीको ब्राण्डका रूपमा स्थापित गर्न पनि समूह सफल भयो र जन्मियो ‘ओखर घडी’ । योजना बनेर नामाकरण भएपछि गत वर्ष तिहार अघि ‘ओखर घडी’ले नेपाली बजारमा औपचारिक पाइला राख्यो ।

तिहारको तीन दिन अघिमात्रै सार्वजनिक भएको ओखर घडीले बजारमा उत्साहजनक व्यापार गर्‍यो र राम्रै प्रतिक्रिया पायो । ‘तिहार आउन तीन दिनमात्रै बाँकी हुँदा सार्वजनिक गरिएको घडीको व्यापार उत्साहजनक भयो । यसबाट हामी थप हौसियौँ,’ दाहालले भने ।

२० लाख रुपैयाँ लगानीबाट शुरू गरिएको व्यवसायमा बजारको मागअनुसार पटक–पटक लगानी थप हुँदै गयो । अहिलेसम्म लगानी करिब एक करोड रुपैयाँ पुगेको दाहाल बताउँछन् ।

दाहाल नेतृत्वको समूह ओखर ब्राण्डलाई नेपालमा मात्र नभई विदेशमा समेत स्थापित गर्न प्रयासरत छ । स्थापना भएको एक वर्षमै ओखरले राम्रो बजार लिइरहेको संस्थापक दाहाल बताउँछन् । तिहार झल्काउने खालको नाम भएपनि व्यापार वर्षभर नै भइरहेको छ । ओखर घडीको मूख्य सिजन तिहार हो । तर, ‘भ्यालेन्टाइन डे’, कुशे औंशी र मातातीर्थ औंशीमा ओखरको बिक्री बढिरहेको दाहालले बताए ।

ओखरबाट घडी बिक्री गर्ने क्रममा कम्पनीले पहिलोपटक ‘काष्ठमण्डप सिरिज’ नामक घडी सार्वजनिक गरेको थियो । अहिले यो सिरिजको तेस्रो लट घडी समेत बिक्री भइसकेको छ । अब ‘कालापत्थर’ र ‘मुर्चुङ्गा’ नामक घडी सार्वजनिक गर्ने योजना बनाएको छ ।

यसैगरी कम्पनीले ओखरको काठबाटै बनेको चस्मा, झुम्का, टप र मोबाइलको कभरसमेत थुप्रै उत्पादन बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा बिक्री भइरहेका ओखरका उत्पादनको कच्चापदार्थ भने चीनबाट ल्याउँछ । त्यसलाई काठमाडौंमै प्रशोधन र एसेम्बल गरेर घडी र चस्मा लगायत सामग्री बनाउँछ । अनि, बजारमा पठाउँछ ।

यसरी बनाइएको घडी नेपालमा मात्रै नभइ विदेशमा समेत निर्यात हुन थालेको छ । अहिले यूरोप, अमेरिका, अष्ट्रेलिया र कोरियामा ओखर घडी निर्यात हुन थालेको छ । ‘ती देशमा बस्ने नेपालीले हामीलाई माया गरेर घडी मगाउनहुन्छ,’ दाहाल भन्छन्, ‘ठूलो मात्रामा नभएपनि हामीले ओखर घडी विदेश निर्यात गरिरहेका छौँ ।’

ओखरको काठबाट बनेको घडी र चस्मासहित सम्पूर्ण सामग्री ‘ओखरस्टोरडटकम’ नामक वेभसाइटमार्फत बिक्रीवितरण हुँदै आइरहेको छ । एउटा घडी बेचेबापत एउटा बिरुवा रोप्ने नीतिसमेत कम्पनीले लिएको छ ।

‘वातावरणमैत्री व्यवसाय गर्ने लक्ष्यसहित ओरख घडी शुरू गर्‍यौँ, तर ओखर घडी बनाउन रुख काट्नुपर्ने हुन्छ,’ दाहाल भन्छन्, ‘त्यसैले एउटा घडी बिक्री भएपछि एउटा रुख रोप्ने गरेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप