शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

भूकम्पपीडितका आँखामा अझै आँशु (भिडियो)

मङ्गलबार, १६ कात्तिक २०७८, ०७ : ४२
मङ्गलबार, १६ कात्तिक २०७८

भूकम्पले ठूलो क्षति पुर्‍याएको काठमाडौंको उत्तर पूर्वी क्षेत्रमा रहेको ऐतिहासिक सहर साँखु पुनर्निर्माणको अन्तिम अवस्थामा पुगेको छ । साँखुका अधिकांश भूकम्प प्रभावितले  घर बनाइसकेका छन् । कतिपयले सरकारले दिने ३ लाख अनुदानबाहेक नगरपालिकाबाट पाउने थप एक लाख अनुदानबाट घरको बाहिरी स्वरूपलाई परम्परागत स्वरूप पनि दिएका छन् ।

तर, केही भूकम्प प्रभावितहरू अझै पनि जस्तापाताले बारेको टहरोमा बसिरहेका छन् । तीमध्ये एक हुन् शंखरापुर नगरपालिका वडा नम्बर ६ साँखुका ओम श्रेष्ठको परिवार । घर बनाउन नसकेपछि उनीहरू अझै पनि जस्ता–पाताको छाप्रोमा बसिरहेका हुन् ।  । भूकम्पले घर भत्काएपछि ६ वर्षको पुस–माघको चिसो हिउँद कटाएका उनीहरू भूकम्पपछिको सातौँ वर्षको जाडो पनि जस्ताको टहरोमा बसेर पार लगाउने तयारीमा छन् ।

ओम श्रेष्ठ पेसाले आफै डकर्मी हुन् । घर बनाउँदा गर्नुपर्ने हरेक काम उनलाई आउँछ । कस्तो घर बनाउने, मार्बल, टायल राख्ने, घरमा बुट्टा भर्ने हरेक काम जानेका छन् तर भूकम्पले भत्काएपछि उनले आफ्नै घर भने बनाउन सकेका छैनन् । ४ जना रहेको परिवारमा कमाइ गर्ने उनीमात्रै हुन् । एक छोरा र एक छोरी पढ्दैछन् । उनकी श्रीमती निरुको पनि कुनै काम छैन । एकजनाले गरेको ज्याला मजदुरीको पैसाले छोराछोरी पढाउन र दुई छाक टार्न समेत धौ–धौ भए पनि उनको घर बनाउने सपना टाढा पुग्यो । बरु सरकारले दिएको पहिलो किस्ताको ५० हजार नै उनीहरूका लागि पासो बनेर आएको छ ।

अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ लिएर घर नबनाएको भन्दै नगरपालिकाले त्यो पैसा फिर्ता माग्ने कुरा आएपछि उनको परिवार तनावमा छ । शनिवार दिउँसो श्रेष्ठ कामको खोजीमा निस्किएका थिए । उनकी श्रीमती निरु सरकारले दिएको ५० हजार फिर्ता मागे कसरी तिर्ने भन्ने चिन्तामा डुबेकी थिइन् ।

भूकम्पले भत्काएका बजारभरीका घर नयाँ बनिसक्दापनि आफ्नो घर बन्ने कुनै निश्चित नभएको र छोराछोरीलाई कसरी पढाउने भन्दै चिन्ताको पहाडले थिचेको उनका आँखाभरीमा आँशुले बताइरहेका थिए ।

घरमा  दुई छाक खानाका लागि नै समस्या भएको परिवारले कसरी घरको जग राख्ने ? उनको प्रश्न थियो । उनले भनिन्–‘दुई छाक खानका लागि समस्या भएको मान्छेले कसरी बनाउने घर ? कि भोकै मर्नुपर्‍यो । खेत बेचेर बनाऊँ भने पनि आफ्नो खेत छैन । त्यसैले यस्तै छाप्रोमा बाचुञ्जेल बस्नुपर्ने अवस्था छ ।’

श्रीमान डकर्मी अर्थात घर बनाउने पेशामा भए पनि आर्थिक समस्याका कारण घर बनाउन नसकेको बताइन् ।  उनले भनिन्, ‘श्रीमान डकर्मी भएर के गर्नु, घर बनाउन जानेर मात्र भएन । सामान चाहियो, हात खुट्टा मात्र भएन । अरूको सिमेन्ट बालुवा चोरेर ल्याउने कुरा पनि भएन । घरमा भाँडामा चामल पनि चाहियो । छोरा छोरी पढाउनुपर्‍यो, त्यसैले पनि घर बनाउन सकिएन ।’

उनले आफ्ना  श्रीमानलाई ओम श्रेष्ठलाई घर बनाउनका लागि गर्नुपर्ने सबै काम आउने उनले बताइन् । उनले भनिन्–‘घर बनाउन, टायल, मार्बल, बुट्टा हाल्न सबै आउँछ । आएर के गर्नु आफ्नो घर बनाउनका लागि पैसा छैन, सामान छैन ।’

अलि अलि जम्मा गरेको पैसा पनि दुई पटक लकडाउन हुँदा सकिएको उनले सुनाइन् । ‘लकडाउनमा काम भएन, भएको अलिकति पैसा पनि सकियो ।’

साँखुमा उनीजस्ता घर बनाउन नसक्ने केही परिवार भए पनि अधिकांशले घर बनाई सकेका छन् । कुनै परिवारले बजार क्षेत्रबाट आफ्नो खेततिर गएर घर बनाएका छन् । बजार क्षेत्रका धेरैजसोले परम्परागत स्वरूप दिएर घर बनाएका छन् ।

उनले भनिन्–‘खेत पनि छैन, एक जनाको कमाई चार चार जनाले खानुपर्छ । राहतमा दिएको जस्ता माथि छानामा हाल्यौँ । अनि पुरानो घरको जस्ताले यसलाई बारेका छौँ । पहिलो किस्तामा दिएको पैसा पनि यो बनाउँदैमा सकियो ।’

एक त जस्तापाताले बारेको चिसो छाप्रोमा बस्नुपरेको छ । अर्कोतिर रोगले पनि गाँज्दै लगेको उनको पीडा छ । सुगर भएपछि अहिले नियमित औषधी खानुपर्ने अवस्थामा रहेको उनले बताइन् । भूकम्प गएपछि नै खानपान तथा बसोबास अव्यवस्थित हुँदा सुगर बढेको उनले बताइन् ।

उनले भनिन्, ‘भूकम्पको बेला सुत्न स्कुलमा जानु पर्‍यो, घर भत्कियो, रोयो, पिर लियो, त्यो बेलादेखि सुगर रोगले समात्यो । लड्ने, ढल्ने भयो । डाक्टरलाई देखाउँदा सुगर भएको भन्यो । धेरै पिर नलिनु भयो, डाक्टरको काम त्यही भन्ने नै हो, रोग लागिहाल्यो निकालेर फाल्ने कुरा भएन । बिहान बेलुका औषधी खानुपर्छ ।’

पहिलो किस्तामा लिएको ५० हजार रुपैयाँ फिर्ता माग्ने कुरा सुनेपछि उनीहरू दिनरात तनावमा छन् । दुई छाक खानाका लागि पैसा नभएका बेला त्यो पैसा कहाँबाट ल्याएर तिर्नु भन्दै उनको गला अवरुद्ध भयो ।

समस्या घरको मात्रै छैन । कोरोना सङ्क्रमणका कारण लकडाउन भएपछि उनको परिवारले अझै समस्या भोग्नुपर्‍यो । स्कूलले लकडाउनका बेला अनलाइन कक्षा सुरु गर्‍यो तर उनका छोराछोरीले राम्रोसँग पढ्न पाएनन् । छोराछोरीलाई पढाउन मोबाइल र इन्टरनेटको व्यवस्था गर्न नसक्दा उनीहरूले राम्रोसँग पढ्न नपाएको उनको गुनासो थियो ।

उनले भनिन्, ‘पहिला माटोले बनेको ४ तलाको ठिकैको घर थियो । कहाँबाट राक्षस भूकम्प आएर मैदान बनाइदियो । छोराछोरी सबै भुईँमा सुत्नुपर्‍यो । त्यैबेला भत्किएको घर चोरले खोतलेर दुःख दियो । त्यो बेलादेखि धेरै दुःख भोगियो । अहिले आएर पनि आफ्नो घर बनाउन सकिएको छैन । कमाएको खानका लागि मात्र ठिक्क छ ।’

सरकारले भूकम्प प्रभावितको घर बनिसकेको र भूकम्पले भत्काएका अन्य भौतिक संरचनाको पुनर्निर्माणको काम पनि सकिन लागेको बताइरहेका बेला निरु श्रेष्ठको परिवार जस्तै आर्थिक अभाव भएका परिवारहरुले अझै घर बनाउन सकेका छैनन् । भूकम्प प्रभावित जिल्लामा उनीहरू जस्ता प्रतिनिधि पात्रहरू अझैपनि जस्तापाताको छाप्रोमुनि चिसो रात कटाउन विवश छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप