बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश : राहत दिन निर्देशिका संशोधन

सोमबार, १५ कात्तिक २०७८, २१ : ३२
सोमबार, १५ कात्तिक २०७८

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्राकृतिक प्रकोपबाट मृत्यु भएका व्यक्तिको परिवारलाई राहत दिने गरी विपद व्यवस्थापन तथा राहत वितरण निर्देशिका पहिलो संशोधन २०७८ स्वीकृत गरेको छ ।
प्रदेश मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विपदमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत सहयोग दिने व्यवस्था गर्न निर्देशिका संशोधन गरेको हो । विपदमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहत, २० हजार क्रिया खर्च र पूर्णरुपमा घर क्षति भएका परिवारलाई ५० हजार राहत उपलब्ध गराइने गरी निर्देशिका संशोधन गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले यसअघि पीडित परिवारले राहत नै नपाउने र पाएपनि एकदमै थोरै पाउने व्यवस्था रहेको हुनाले निर्देशिका संशोधन गरेको जनाइन् । यस्तै, मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालयको मातहतमा रहेका अस्थायी कार्यालयको अवधि थप गरेको छ ।

मन्त्रालय मातहत रहेको सामाजिक विकास कार्यालयको म्याद एक वर्षको थियो । ‘यसको अवधि एक वर्षको मात्र राखिएको थियो,’ उनले भनिन्, ‘नौ वटै जिल्लामा रहेका ती कार्यालयको निरन्तरतासँगै संगठन संरचना र दरबन्दीको व्यवस्था गरिएको छ ।’

त्यस्तै व्यवसायिक सीप विकास तालिम केन्द्रको संगठन संरचना र दरबन्दीको व्यवस्था गर्ने निर्णय पनि भएको मन्त्री जोशीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप