हाम्रो कुनै गल्ती छैन तर मारमा परेका छौं : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनमा नेपालको कुनै भूमिका नभएपनि नेपाल त्यसको मारमा परेको बताएकी छन् । सोमबार मनाङ पुगेकी राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले एग्रो मनाङ प्रालिमार्फत् सञ्चालन गरेको नेपालकै सबैभन्दा ठूलो स्याउ फार्मको अवलोकनपश्चात् बोल्दै जलवायु परिवर्तन सामान्य परिवर्तन मात्रै नभएर संकटतर्फ गइराखेको बताइन् ।
जलवायुलाई प्रतिकूल बनाउन नेपालको कुनैपनि भूमिका नरहेको उल्लेख गर्दै उनले विश्वका अन्य देशहरुले प्रकृतिको दोहन गरेका कारण भएको जलवायु परिवर्तनको असर भने नेपालले भोग्नुपरेको बताइन् । उनले हालै बेलायतमा कोप २६ मा भाग लिन प्रधानमन्त्री देउवा पुग्नुभएको भन्दै देउवाले जलवायु परिवर्तनको सम्बन्धमा नेपालको विषयवस्तु उठाउने विश्वास व्यक्त गरिन् ।
नेपालले विश्वका विभिन्न मञ्चहरूमा जलवायु अनुकूलन कार्यान्वयन गर्नका लागि आवाज उठाइरहेको पनि उनले स्मरण गरिन् । उनले भनिन्– ‘जलवायु परिवर्तन सामान्य परिवर्तन मात्रै नभएर संकटतर्फ गइराखेको छ । यो विश्वव्यापी नै एउटा प्रवृत्ति हो । जलवायुलाई त्यसरी प्रतिकूल बनाउने कुरामा हामी नेपालीहरुको कुनै पनि भूमिका छैन । हाम्रो कुनै पनि गल्ती छैन । तर पनि अन्य देशमा भइरहेको प्रकृतिको अति दोहन गर्ने प्रवृत्तिले जलवायु परिवर्तन मात्रै होइन, विश्व संकटतर्फ गइराखेको छ । आज कस्तो संयोग छ भने, युएनको आयोजनामा कोप २६ बेलायतमा हुन गइरहेको छ । नेपालको तर्फबाट पनि उच्च स्तरीय प्रतिनिधित्व भएको छ । नेपालको प्रधानमन्त्रीले भाग लिनुभएको छ । निश्चय पनि उहाँले नेपालको विषयवस्तुलाई उठाउनु हुने नै छ ।’
राष्ट्रपति भण्डारीले पर्वतीय देश भएको कारण नेपालले जलवायुको ज्यादा मार परिराखेको विषयलाई विश्व मञ्चहरूमा उठाउँदै आएको बताइन् । उनले जलवायु अनुकूलनका लागि विश्व समुदायको ध्यान जानुपर्नेमा समेत जोड दिइन् । विशेषगरी शक्ति राष्ट्रहरुको ध्यान जानु जरुरी रहे पनि नेपालले पनि वातावरण र पर्यावरणलाई अनुकूल पारिराख्नुपर्ने उनको भनाई थियो ।
राष्ट्रपति भण्डारीले नेपाल कृषि प्रधान देश भएर पनि किनेर खानुपर्ने अवस्था लज्जाको विषय भएको भन्दै कृषिमा आत्मनिर्भर हुनुपर्ने बताइन् । उनले भनिन्– ‘यसलाई अनुकूलन गर्ने धेरै उपायहरु छन् । हामीले मात्रै गरेर हुँदैन । यसमा विश्व समुदायको ध्यान जानु आवश्यक छ । ठुला शक्ति राष्ट्रहरुको ध्यान जानु आवश्यक छ ।’
राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको मारमा मनाङ जिल्ला परेको उल्लेख गर्दै बाढी, पहिरोका कारणले मनाङमा अपूरणीय क्षति भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
सगरमाथा आरोहणको तयारी सुरु, बाटो बनाउन खटाइए ‘आइसफल डाक्टर’
-
एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा
-
राजावादी सक्रीय भएपछि माधव नेपालको पार्टीले गर्यो सङ्घर्ष गर्ने निर्णय
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण
-
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई