बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रदेश १ : मुख्यमन्त्री आचार्यले प्रदेशसभा बैठक ‘फेस’ गर्ने

सोमबार, १५ कात्तिक २०७८, १३ : ०४
सोमबार, १५ कात्तिक २०७८

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतको प्रक्रिया पूरा गर्ने योजना बनाएका छन् । अल्पमतमा परेका कारण मत विभाजन नगरी राजीनामा दिन्छन् कि भन्ने अनुमान गरिएकै समयमा मुख्यमन्त्री आचार्यले आजको प्रदेशसभा बैठकमा मत विभाजनको सामना गर्ने योजना बनाएका हुन् ।

प्रदेश सरकारका एक मन्त्रीका अनुसार सोमबार बिहान भएको छलफल र परामर्श पश्चात् मुख्यमन्त्री आचार्य प्रदेशसभा बैठकलाई फेस गरेर अघि बढ्ने निर्णयमा पुगेका हुन् । आफू निकटका मन्त्री तथा केही सांसदसँग मुख्यमन्त्री निवासमा उनले बिहान छलफल गरेका थिए ।

छलफलमा सहभागी ती मन्त्रीले भने, ‘अबको परिस्थितिमा पदबाट राजीनामा दिने भन्दा पनि अब जे हुन्छ, सदनमै फेस गर्ने गरी मुख्यमन्त्रीज्यूले तयारी गर्नुभएको छ ।’ आफूले सरकारको नेतृत्व लिएपछि आफूले गरेका कामको विवरण प्रदेशसभामा पेस गर्ने तयारीसमेत गरेको ती मन्त्रीले बताए ।

भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए । एमाले विभाजन भएसँगै आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । पूर्वनिर्धारित कार्यसूची अनुसार संसद्को प्रक्रिया अघि बढेर मत विभाजन भएमा सत्तारोहणको ६७ दिनमा आचार्य नेतृत्वको सरकार ढल्ने छ । आज प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

आचार्यले विश्वासको मत नपाए वा राजीनामा दिएको अवस्थामा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईको नाम भावी मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । विपक्षी गठबन्धनसँग ५० सांसद छन् । ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ जना चाहिन्छ । प्रदेशसभामा एमालेसँग ४१ सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप