शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

८ वर्षसम्म पनि सडक मर्मत भएन, आन्दोलनमा उत्रिने जनप्रतिनिधिको चेतावनी

सोमबार, १५ कात्तिक २०७८, १२ : ४४
सोमबार, १५ कात्तिक २०७८

भक्तपुर जिल्लाको कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मको सडक विस्तारमा चरम ढिलासुस्ती भएको भन्दै स्थानीय जनप्रतिनिधिले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । उक्त सडक विस्तारका लागि ठेक्का लागेको ८ वर्ष भए पनि समयमै काम नसकिँदा स्थानीयवासी र नगरकोट जाने पर्यटकले सास्ती भोग्दै आएका छन् ।

उक्त सडक आयोजना समयमै निर्माण नभएको भन्दै चाँगुनारायण नगरपालिकाले सोमबार भक्तपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्रमा १५.६६ किलोमिटर सडक चौडा र कालोपत्रे गर्न २०७३ साल असार ३ मा कार्य सम्पन्न गर्ने गरी भारतीय कम्पनी एआइपिएल र सैलुङ्ग कन्ट्रक्सन जेभीले २०७१ असार २ मा ठेक्का सम्झौता गरे पनि विभिन्न समयमा पटकपटक म्याद थप गर्दै आजसम्म कार्य सम्पन्न हुन नसकेको उल्लेख छ ।

अधिकांश भाग आफ्नै नगर क्षेत्रमा पर्ने सो सडकको निर्माण कार्य समयमा सम्पन्न हुन नसक्दा नगरपालिकाको वडा नं ५, ६, ७ का नगरवासीका अलावा नेपाल र संसारभरिबाट नगरकोट घुम्न आउने पर्यटकहरु प्रत्यक्ष प्रभावित भएको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

विगत ८ वर्षदेखि हिउँदमा धुलो वर्षामा हिलो र दैनिक असुरक्षित यात्रा पर्यटक र नगरवासीहरुको नियति बन्न पुगेको भन्दै ज्ञापनपत्रमा स्थानीय सरकारको हैसियतमा नगरपालिकाले सम्बन्धित निर्माण व्यवसायी, संघीय सरकारको आयोजना कार्यालय, मन्त्री, प्रधानमन्त्री तथा विभिन्न पार्टीका शीर्ष नेताहरु र संघीय संसदको विकास तथा अर्थ समितिमा पटक पटक लिखित तथा मौखिक प्रयासहरु गरेता पनि हालसम्म प्रगति हुन नसकेको जनाइएको छ ।

संघीयताको मर्म अनुसार उक्त सडक निर्माणको कार्य श्रोतसहित स्थानीय सरकार समक्ष हस्तान्तरण हुन वा २०७१ सालमा २ वर्षमा सक्नेगरी भएका ठेक्का रद्दगरी नयाँ प्रकृया सुरु गर्न नगरपालिकाका तर्फबाट माग गरिएको छ । ‘नगरवासीको जीवन प्रणालीको रुपमा रहेको उल्लेखित सडकका सम्बन्धमा एक महिनाभित्र माग अनुसार निर्णय नभए सम्पूर्ण नगरवासीको मागको प्रतिनिधित्व गर्दै नगर प्रमुख तथा जनप्रतिनिधिहरु जुनसुकै कडा कदम चाल्न बाध्य हुने व्यहोरा अनुरोध छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यस सम्बन्धमा चाँगुनारायण नगरपालिकाको नवौँ नगरसभाले सर्वसम्मत रुपमा गरेको निर्णय संलग्न गरिएको छ ।’

ज्ञापनपत्र बुझाउँदै नगर प्रमुख सोमप्रसाद मिश्रले अब नगरवासी आन्दोलन गर्न बाध्य भएको र त्यसको नेतृत्व नगरपालिका गर्ने चेतावनीसमेत दिए ।

प्रमुख जिल्ला रुद्रादेबी शर्माले भक्तपुर–नगरकोट सडक निर्माण कार्य सक्न आफूले पहल गर्दै आएको बताइन् । उनले सो कार्यका लागि सबै सरोकारवालाको ध्यानाकर्षण गराउने प्रतिबद्धता पनि जनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप