प्रदीप यादवसँग स्पष्टीकरण मागेर पर्सा गए उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीका सांसद प्रदीप यादवलाई स्पष्टीकरण सोधेको छ । मन्त्री नपाएको रिसमा आफ्ना समर्थकबाट पार्टी र पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध नारावाजी गरेको आरोपमा जसपाले सांसद यादवलाई स्पष्टीकरण सोधेको हो ।
असोज २२ गते मन्त्रिपरिषद् विस्तार हुँदा जसपाबाट चारजना मन्त्री नियुक्त भएका थिए । त्यसमा सांसद प्रदीप यादवको नाम नपरेपछि उनी निकट युवाहरुले पार्टीको बोर्ड तोडफोड गर्नुको साथै पार्टीको झण्डा, अध्यक्ष यादवको पुत्लासमेत जलाएका थिए ।
पर्साबाट सुरु गरेको आन्दोलन काठमाडौंसम्म आइपुगेको थियो । पार्टीका केही कार्यकर्ताले ललितपुरको बालकुमारीमा रहेको पार्टी कार्यालयमा ताल्चा लगाउनुको साथै अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका थिए । यस्तो गतिविधि प्रदीप यादवले नै गराएको भन्दै पार्टीले उनीसँग स्पष्टीकरण सोधेको हो ।
पर्सामा आइतबार पार्टीको तर्फबाट शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बनाइएको थियो । अध्यक्ष यादव पर्सा जाने तयारी गरिरहँदा प्रदीप यादव निकट युवाले कालो झण्डा देखाएर विरोध जनाउने योजना थियो । त्यसअघि नै जसपाबाट प्रदीप यादवलाई स्पष्टीकरण सोधिएको हो ।
पार्टी कार्यालय सचिव प्रकाश अधिकारीको हस्ताक्षरसहितको स्पष्टीकरण सांसद प्रदीप यादवलाई कात्तिक ११ गते पठाइएको थियो । यादवलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । स्पष्टीकरण मागेपछि प्रदीप यादव समर्थक युवाले अध्यक्ष उपेन्द्र यादवको विरोधमा कुनै पनि कार्यक्रम गरेनन् । उपेन्द्र यादव कात्तिक १४ गते पर्सा पुग्दा प्रदीप यादव स्वागतका लागि एयरपोर्ट पुगेका थिए । तर अध्यक्ष यादवले उनलाई बेवास्ता गरेको विमानस्थलमै रहेका एक स्थानीय नेताले जनाए ।
जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा सांसद प्रदीप यादवलाई आमन्त्रणसमेत गरिएको थिएन । उनलाई स्पष्टीकरण सोधिएको कारण जिल्ला, प्रदेश, तथा केन्द्रमा पार्टीको कुनै पनि कार्यक्रममा सहभागी नगराउन पार्टी अध्यक्ष यादवले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको बताइन्छ ।
सांसद यादवले सोमबार स्पष्टीकरण बुझाउन लागेको बताए । पर्सा तथा काठमाडौंमा भएको आन्दोलनमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै उनले पर्साबाट मन्त्री नबनाएको कारण त्यहाँका जनताले आक्रोशमात्र पोखेको दाबी गरे । अहिले आफू पर्सामै रहेको र काठमाडौ आएर स्पष्टीकरण बुझाउने उनले जानकारी दिए ।
सांसद यादवलाई यसअघि पनि उपेन्द्र यादव नेतृत्वका तत्कालीन समाजवादी पार्टीले स्पष्टीकरण सोधेको थियो । त्यतिबेला लाटभियाको राजधानी रिगामा ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टरियन अन फ्रि तिब्बत’ कार्यक्रममा सांसद प्रदीप यादवले पार्टीको नीति विपरीत र पार्टीलाई जानकारी नगराई भाग लिएका कारण उनलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ