मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

सोमबार, १५ कात्तिक २०७८, १० : ४७
सोमबार, १५ कात्तिक २०७८

नेपाल राष्ट्र बैंकले एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६ करोडको गरी कूल रु एक अर्ब ६६ करोडको ट्रेजरी बिल सोमबार जारी गर्न लागेको हो ।

बैंकले आइतबार जारी गरेको सूचनाअनुसार ९१ दिने ट्रेजरी आगामी माघ १८ गते परिपक्व हुनेछ भने ३६४ दिने ट्रेजरी २०७९ कात्तिक १५ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक ८ मा बैंकले रु पाँच अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुने बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।
 
के हो ट्रेजरी बिल ?

मुद्रा बजारको एक प्रमुख उपकरणका रूपमा रहेको ट्रेजरी एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन मुलुकको केन्द्रीय बैंकले प्रयोग गर्ने अल्पकालीन सरकारी  ऋणपत्र हो ।  बैंकले प्रमिशरी नोटको रूपमा सर्वप्रथम विसं २०१८ मा वार्षिक एक प्रतिशत ब्याजदरमा रु ७० लाख मूल्यमा ९० दिने ट्रेजरी बिल निष्काशन गरिएको थियो ।

बोलकबोल प्रक्रियाबाट २०४५ मङ्सिर १० देखि निष्काशन हुँदै आएको यो ऋणपत्र २०४८ पुसदेखि हरेक साता र २०७२ असारदेखि प्रविधिमा आधारित भई अनलाइनमार्फत नियमित जारी हुँदै आएको छ । 

यस्तो ऋणपत्रलाई परिपक्व हुनु अगाडि रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिन्छ । सर्वसाधारणले यस्ता ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सक्छन् । नेपालमा केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका ट्रेजरी जारी गर्ने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप