बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको पालिका अधिवेशन : केहीमा अझै भएन नेतृत्व चयन

सोमबार, १५ कात्तिक २०७८, १० : ०७
सोमबार, १५ कात्तिक २०७८

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले कार्तिक ९ गते स्थानीय तह (नगर/गाउँ पालिका)को अधिवेशन मिति तय गरको थियो । पार्टी फुटेको र कमजोर भएको भन्दै नेतृत्वले सबै स्थानमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै अन्तरपार्टी निर्देशन जारी ग¥यो । तर, कार्तिक १५ गतेसम्ममा पनि बागमती प्रदेशका ६ जिल्लामा पूर्ण रुपमा नगर/गाउँ पालिकाको अधिवेशन सकिएको छैन । सहमति र सर्वसम्मत नेतृत्व चयन गराउन केन्द्रदेखि जिल्ला तहसम्मका नेताहरु लागे पनि केही स्थानमा अध्यक्ष चयन गर्न मतदान नै गर्नु परेको एमाले नेताहरुले जानकारी दिएका छन् ।

बागमती प्रदेशका केही जिल्लाका पालिकामा अझै अधिवेशन सम्पन्न हुन सकेको छैन । लोकतान्त्रिक विधि नपनाउँदा केही पालिकामा विरोध र असहमति प्रकट भए पनि माथिल्लो कमिटीमा लैजाने आश्वासन दिएर नेताहरुले विवादलाई मिलाउने प्रयास गरिरहेका छन् ।

कुन जिल्लामा कस्तो भयो एमाले अधिवेशन ?

१. भक्तपुर

चार स्थानीय तह चाँगुनारायण, भक्तपुर, मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका मध्ये तीनवटामा एमालेको नगर अधिवेशन सकिएको छ । चाँगुनारायण नगरपालिकामा पार्टीले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरे पनि केही असन्तुष्टि देखिएको छ । पार्टीको जिल्ला तह र केन्द्रका नेताहरुले मनलाग्दो पाराले नेतृत्व घोषणा गरेको नेतृत्वका आकांक्षीको आरोप छ । एमालेको नगर कमिटीको अध्यक्षमा रामप्रसाद तिमल्सिना चयन भएका छन् ।

सूर्यविनायकमा सर्वसम्मत रुपमा रविन्द्र सापकोटा नगर कमिटी अध्यक्ष चुनिएका छन् । ​मध्यपुरथिमिमा सूर्यलाल श्रेष्ठको नेतृत्वमा नगर कमिटी चयन भएको छ । भक्तपुर नगरपालिकामा भने आज (कार्तिक १५) गते साँझसम्म नयाँ नेतृत्व छानिने एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिए ।

२. काभ्रे

१३ स्थानीय तह रहेको काभ्रेमा ६ नगरपालिका र ७ गाउँपालिका छन् । तीमध्ये ११ स्थानीय तहमा एमालेको कमिटी चयन भएको एमाले काभ्रेले जानकारी दिएको छ । मण्डनदेउपुर नगर कमिटीको अध्यक्षमा शेर बहादुर डोटेल, पाँचखालमा विष्णुहरि पौडेल, धुलिखेलमा दयाराम महत, बनेपामा रत्नकुश रंजितकार, पनौतीमा सुरेश हुमागाइँ र नमोबुद्धमा कृष्ण खनाल अध्यक्षमा चुनिएका हुन् ।

त्यसैगरी गाउँपालिकातर्फ भुम्लुमा कृष्णमान तामाङ्ग, चौरी देउरालीमा जितराम लामा, महाभारतमा जगत मोक्तान, तेमालमा इन्दमान तामाङ्ग, खानीखोलामा डम्बर तिमल्सिना एमाले गाउँपालिका कमिटीको अध्यक्ष भएका छन् । ​बेथानचोक र रोशी गाउँपालिकामा भने एमालेले अझैसम्म नेतृत्व चयन गर्न सकेको छैन ।

३. सिन्धुपाल्चोक

यस जिल्लामा १२ स्थानीय तहमध्ये ३ नगर र ९ गाउँपालिका छन् । जसमध्ये हालसम्म ६ वटा स्थानीय तहमा मात्रै एमालेको अधिवेशन सकिएको जिल्ला कमिटीका अध्यक्ष झम्क नेपालले रातोपाटीलाई जानकारी दिए । बाह्रबिसे नगरपालिकाको एमाले नगरकमिटीको अध्यक्षमा ज्ञानेन्द्र रावत, हेलम्बु गाउँपालिकाको अध्यक्षमा बेनबहादुर पण्डित, सुनकोशीको अध्यक्षमा प्रेमलाल लामा, इन्द्रावतीको अध्यक्षमा शशीनाथ आचार्य, बेलफीको अध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन भएका छन् ।

लिसङ्गखुपार गाउँपालिकाको सबै पद सर्वसम्मत भए पनि अध्यक्षमा मतदान भएको र प्रदिप भण्डारीले १२९ मत ल्याएर विजयी भएको एमाले सिन्धुपाल्चोकका अध्यक्ष नेपालले जानकारी दिए ।  मेलम्ची नगरपालिकामा आज बन्दसत्र हुने र नेतृत्व चयन हुने उनले बताए । बाँकी रहेका त्रिपुरा सुन्दरी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका, जुगल गाउँपालिका, पाँचपोखरी थाङ्गपाल गाउँपालिका, भोटेकोशी गाउँपलिकामा तिहारपछि मात्रै अधिवेशन हुने एमाले सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

४. रामेछाप

यस जिल्लामा ८ वटा स्थानीय तहमध्ये २ नगर र ६ गाउँपालिका छन् । एमाले रामेछाप जिल्ला कमिटीका अध्यक्ष शान्ति प्रसाद पौडेलका अनुसार एक गाउँपालिकाबाहेक सबैमा सर्वसम्मत रुपमा पालिका अधिवेशन सकिएको छ ।

रोकिएको लिखु तामाकोशी गाउँपालिकामा तिहारपछि अधिवेशन हुने जिल्ला अध्यक्ष पौडेलले जानकारी दिए । मन्थली नगरपालिका नगर कमिटीको अध्यक्षमा राबबाबु घिमिरे, रामेछाप नगरपालिकाको अध्यक्षमा रोशन पाख्रिन चयन भएका छन् । गाउँपालिकातर्फ उमाकुण्डमा रुद्रमणी नेवार, खाँडादेबीमा पुष्कर कार्की, गोकुलगंगामा दिपक कार्की, दोरम्बामा प्रेम लामा अध्यक्ष चुनिएका छन् ।

५. सिन्धुली

९ स्थानीय तह रहेको यस जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका छन् । यी सबैमा पार्टीको पालिका अधिवेशन सकिएको एमाले सिन्धुली जिल्ला कमिटीका अध्यक्ष प्रदिप कटुवालले रातोपाटीलाई जानकारी दिए । जसमा कमलामाई नगरपालिकाको अध्यक्षमा महेन्द्रदेव विष्ट, दुधौली नगर कमिटीको अध्यक्षमा लक्ष्मण कार्की चयन भएका छन् ।

त्यसैगरी गाउँपालिकातर्फ गोलन्जरमा रेशम थापा, घ्याङ्गलेखमा चतुरमान लो, तीन पाटनमा छत्रबहादुर दाहाल अध्यक्ष चुनिएका छन् । यस्तै, फिक्कल गाउँपालिका कमिटीको अध्यक्षमा राम प्रसाद भण्डारी, मरिणको अध्यक्षमा श्रीलाल माझी, सुनकोशीको अध्यक्षमा रोमनराज गिरी र हरिहरपुर गाउँपालिकाको अध्यक्षमा मान बहादुर वाइवा चुनिएका छन् । जसमध्ये हरिहरपुर, कमलामाई र दुधौलीको नेतृत्व चयन गर्न सकस भएको थियो ।

६. दोलखा

९ स्थानीय तह रहेको यस जिल्ला अझै पनि पूर्ण रुपमा पालिका अधिवेशन नसकिएको जिल्ला नेताहरुले जानकारी दिएका छन् । जिरी नगरपालिकाको एमाले पार्टी कमिटीको अध्यक्षमा केशव कार्की, गौरीशंकर गाउँपालिकाको अध्यक्षमा जङ्ग गुरुङ चयन भएका छन् । अन्यको भने विवरण प्राप्त भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप