आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री बेलायत भ्रमणमा गएका बेला राष्ट्रकै बेइज्जत भयो : पूर्वराष्ट्रपति यादव

आइतबार, १४ कात्तिक २०७८, १७ : ५८
आइतबार, १४ कात्तिक २०७८

पूर्वराष्ट्रपति डा.रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएको बेला राष्ट्रकै बेइज्जत भएको टिप्पणी समेत गरे । ‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच विमोचन गर्दै उनले न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नुपर्दैन ? भनेर सरकारलाई प्रश्न गरे । 

कानुनमन्त्रीले यो समस्याको समाधान गर्न नसक्ने बताउँदै पूर्वराष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुँर्याएको बताए । उनले सारा न्यायाधीशहरु, नेपाल बार, कानुनविद्हरु एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कसको आडमा भनेको भनेर सरकार र राजनीतिक दलहरूमाथि प्रश्न समेत तेस्र्याए ।

उनले भने, ‘न्यायालयमा सारा न्यायाधीशहरु एकातिर छ । बुद्धिजीविहरु एकातिर छ । संविधानविद्हरु, कानुनविद्हरु एकातिर छ । यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छन् कि म छोडिदिन । केही नभएपनि एक्लै बेन्चमा बस्छ । कसको तागतमा ?’

उनले थप भने, ‘सरकारले आफ्नो ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर ती समस्यालाई हल गर्नुपर्दैन ? कानुनमन्त्री जसले ल्याण्ड गर्न सक्दैन ? आज संसारको सामुन्ने न्यायालयको अवस्था यस्तो छ । तर सम्माननीय प्रधानमन्त्री बेलायत जानुभएको छ । तर आज बेलायतको सामुन्ने, संसारको सामुन्ने न्यायालयको यो अवस्था छ । यस्तो अवस्थामा हामी संसारको सामुन्ने टाउको देखाउन सक्छौं ?’

पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति पनि असन्तुष्टि जनाए । उनले संविधानमा नभएको संसद भंग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । 

जीएम मिडियाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप