शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो : प्रधानमन्त्री देउवा

आइतबार, १४ कात्तिक २०७८, १३ : १५
आइतबार, १४ कात्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम रहँदै आएको धारणा व्यक्त गरेका छन् ।

नेपालका लागि सर्वदलीय संसदीय समूह (एपिपिजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले  शनिबार साँझ आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उनले ब्रिटिश गोर्खाहरूको लामो समयदेखिकोे योगदानले सम्बन्धको अर्को महत्वपूर्ण कडीको रूपमा काम गरेको उल्लेख गरे । यी सम्बन्धलाई थप सुमधुर बनाउन दुवै देशका संसदहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले सर्वदलीय समूहले निर्वाह गरेकोे भूमिकाप्रति आभार व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले दुई देशका संसद बीचको  विद्यमान सम्बन्धलाई अझ प्रगाढ बनाउन संसदीय प्रतिनिधिमण्डलको भ्रमणलाई निरन्तर र नियमित गर्न आग्रहसमेत गरे । उनलेभने, “संसदीय लोकतन्त्रमा साझा विश्वास नेपाल र बेलायत बीचको घनिष्ठ सम्बन्धको आधारभूत पक्ष हो, नेपालप्रति समर्पित संसदीय निकायका रूपमा, समूहले यी सम्बन्धलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । बेलायती संसद्लाई बेलायती लोकतन्त्रको संस्थाको रूपमा मात्र नभई बहुदलीय प्रजातन्त्र र मौलिक स्वतन्त्रताको प्रतीकको रूपमा पनि प्रशंसा गरिन्छ ।”

नेपालको  प्रजातन्त्रले आफ्नो लोकतान्त्रिक संस्थाको जग बलियो बनाउन इमान्दार प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्र र स्वतन्त्रताका लागि लामो सङ्घर्ष गर्नुपरेको बताए । प्रजातन्त्र र स्वतन्त्रताका लागि आफूले दशकौंदेखि कडा सङ्घर्ष गरेकाले प्रजातन्त्र र स्वतन्त्रता आफूलाई प्यारो भएको उनको भनाइ थियो ।

“संसदीय लोकतन्त्र, आवधिक निर्वाचन, समावेशी प्रतिनिधित्व, विधिको शासन, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन तथा राजनीतिक शक्तिको शान्तिपूर्ण हस्तान्तरणका प्रमुख विशेषतालाई सुदृढ गर्ने संविधान हो” प्रधानमन्त्री देउवाले उल्लेख गरे ।

 नेपालको संविधानले सङ्घीय संसद् र प्रदेशसभामा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको प्रत्याभूति गरेको जानकारी गराउँदै उनले अहिले सबै निर्वाचित निकायमा ४१ प्रतिशत महिला प्रतिनिधित्व रहेको बताए । 

लोकतन्त्रले जनताको सामाजिक र आर्थिक विकासको आकांक्षा पूरा गर्नुपर्छ भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताउँदै प्रधानमन्त्री देउवाले नेपालजस्तो मुलुकका लागि आर्थिक विकास गर्न स्रोतसाधनको कमी ठूलो चुनौती भएको र त्यसमाथि कोभिड–१९को महामारीले विकास गर्ने आफूहरुको क्षमतालाई थप बाधा पुर्याएको धारणा व्यक्त गरे ।

बेलायतको संसदमा विभिन्न अवसरमा नेपालप्रति व्यक्त गरिएको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउँदै उनले कोभिड सङ्कटको समयमा बेलायती सांसदहरुले नेपालको सहयोगका लागि गरेका कार्यहरू र ऐक्यबद्धताका लागि धन्यवाद दिए ।

समारोहमा समूहका अध्यक्ष वीरेन्द्र शर्मा, उपाध्यक्ष तथा मञ्चका अध्यक्ष लर्ड शेख, लर्ड ल्यान्कास्टर, सांसद क्याथरिनलगायतले सम्बोधन गर्दै द्विपक्षीय सम्बन्धबारे चर्चा गरेका थिए । प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति यहाँ आइपुगेका छन् ।

आइतबार बिहान भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिले प्रधानमन्त्री देउवासँग भेट्ने  र लण्डनस्थित नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । आइतबार साँझ उनी स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो प्रस्थान गर्नेछन् । कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गोमा आयोजना हुँदैछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप