प्रधानन्यायाधीशलाई शम्भु थापाको प्रश्न– तपाईं को हो राजीनामा नदिने ?
नेपाल बार एसोसिएशनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा अपरिहार्य रहेको बताएका छन् । आइतबार बार एसोसिएशनले आयोजना गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आफूहरुले अहिले विनम्रतापूर्वक राजीनामा माग गरेको प्रस्ट पारे । उनले भने, ‘हामी अलि खुलेका छैनौं, प्रधानन्यायाधीशलाई बडो सम्मानपूर्वक भनेका छौं, अहिलेसम्मको भ्रष्टाचार, बेथिति, असक्षमताको जिम्मा तपाईले लिनुपर्छ । अहिले तपाईलाई नै दोष लगाएका छैनौं ।’
न्यायालय भनेको पशुपतिनाथजस्तै पवित्र संस्था रहेको उनले बताए । उनले भने, ‘न्यायालय पशुपतिनाथ जस्तै हो । त्योभित्रको तपाई (प्रधानन्यायाधीश) मुल भट्ट हो । मुल भट्टले पूजा गर्नुपर्ने जुन विधि, प्रक्रिया हो, त्यो अनुसार जसरी पशुपतिनाथको पूजा अर्चना गरिन्छ, तपाई (प्रधानन्यायाधीश)ले त्यसरी न्यायालयको पूजा गर्नुभएको छैन त्यसकारण तपाईले पदबाट राजीनामा दिनुपर्छ भनेर भनेका छौं ।’
आफूहरुले प्रधानन्यायाधीशको व्यक्तिगत कुरा नगरेको पनि उनले बताए । ‘हामीले न्यायालयलाई पूजा गरिरहेका छौं । न्यायालयभित्र तपाईको भूमिका ठिक भएन भनिरहेका छौं,’ उनले भने, ‘तपाई (प्रधानन्यायाधीश) एक वर्ष बस्नुहुन्छ ? आफ्नो कार्यकालभरि बस्नु हुन्छ ? तपाईको कार्यकालभरि नेपाल बारले कार्यक्रम गर्छ, नेपाल बार फर्किदैन ।’
प्रधानन्यायाधीश जबराले न्यायालयमा विद्यमान दुषित प्रक्रियालाई बन्द गर्न नसकेको र सधैँभरि त्यसलाई टार्ने हिसाबबाट अघि बढेको वरिष्ठ अधिवक्ता थापाको आरोप छ । ‘इजलासमा म बस्दिनँ भनेर प्रधानन्यायाधीशले घोषणा गरेको मुद्दासम्म सुनुवाइमा राख्न सक्दैनन् भने यी प्रधानन्यायाधीशलाई प्रधानन्यायाधीशको हैसियतमा हामीले मानिरहनुपर्ने कुरा छैन,’ उनले भने ।
थापाले सेवाग्राही जत्तिकै कानुन व्यवसायी पनि मर्कामा रहेको बताए । उनले भने, ‘अदालतका दुईवटा पाङ्ग्रामध्ये हामी एउटा पाङ्ग्रा हौं । टोटल बार त अफिसर अफ दि कोर्टभन्दा पनि ठुलो हो । न्यायालयको संरक्षण गर्नु प¥यो भनेदेखि बारले गर्दछ, बारले नै जब तपाईसँग राजीनामा मागिसकेको छ भने तपाई को हो राजीनामा नदिने ?’
उनले सर्वोच्च अदालतको प्रशासनतर्फका मुख्य रजिस्ट्रारदेखि लिएर रजिस्ट्रार, सह–रजिस्ट्रार, उप–रजिस्ट्रार लगायत सबैलाई एक हुन पनि आह्वान गरे ।
‘त्यहाँ (सर्वोच्च अदालतमा) बसेर प्रतिकार गर्न कालो कोटहरु बाँडिएको छ । पैसा बाँढिएको छ । पत्रकारहरुलाई अन्य प्रकारले लोभ, लालचमा फसाउन खोजिएको छ र कार्यक्रम गर्न खोजिएको छ भन्ने कुरा वस्तुनिष्ट थाहा पायौं भने तपाईलाई त्यो पदमा हामी बस्न दिँदैनौं भन्ने कुरा पनि घोषणा गर्दछु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण