दैनिकी धान्ने हैन, दैनिकी बदल्ने नेतृत्व चाहियो
मानवनिर्मित समूह वा संस्थाभित्र विभिन्न पृष्ठभूमि, अनुभव, दक्षता, क्षमता, योग्यता भएका व्यक्तिहरू रहेका हुन्छन् । यिनीहरूलाई सकारात्मक दिशातर्फ उन्मुख गराई समूह वा संस्थाको लक्ष्य प्राप्त गर्न अवलम्बन गर्ने सामाजिक प्रक्रियालाई नेतृत्व भनिन्छ । नेतृत्वले दूरदृष्टि निर्माण गर्दछ र अरूलाई त्यसप्रति आकर्षण र त्यससँग सम्बन्धित क्रियाकलापमा संलग्न हुने प्रेरणा दिन्छ ।
नेतृत्व शब्द नेताबाट आएको हो । नेता भनेको कुनै पनि समूहलाई अगुवाइ गर्ने, निर्देशन दिने, प्रोत्साहित गर्ने र बाटो देखाउने व्यक्ति हो । नेताले कुशलतापूर्वक आफ्ना अनुयायीहरूलाई सामूहिक लक्ष्यतर्फ उन्मुख गराउँछ भने उसको त्यो अगुवाइ भूमिका नै नेतृत्व हो । नेतृत्व भनेको समूहलाई प्रभाव पार्ने र नेताले सोचे अनुरूप कार्य गर्न प्रोत्साहित गर्ने कला वा प्रयास हो अर्थात् नेतृत्व भनेको परिस्थितिअनुसार निश्चित लक्ष्य प्राप्त गर्नका लागि व्यक्तिहरूलाई प्रोत्साहित गर्ने क्षमता हो ।
नेतृत्व एउटा गुण हो, जुन प्रत्येक व्यक्तिमा लुकेको हुन्छ । अर्थात् हरेक व्यक्तिभित्र नेतृत्व गर्ने नेता बन्ने गुण लुकेको हुन्छ । आफूभित्र सुषुप्त अवस्थामा रहेको नेतृत्व गुणको विकास गर्नु व्यक्तित्व विकास पनि हो ।
हामी हुर्किएको समाजमा नेता भनेका ठूलो ठूलो स्वरमा भाषण गर्ने, आफ्नो गुट बनाउने, अर्को पक्षलाई चर्को स्वरमा गाली गर्ने, आफ्नो अगाडि पछाडि जयजयकार गर्नेहरूको भीड बोकेर हिँड्ने, चाकडी, चाप्लुसीमा प्रफुल्लित हुने समाजका सर्वेसर्वा हुन्, मालिक हुन् भन्ने आभास हुन लागेको छ । समूहको नेता हुनु भनेको आफूलाई मालिक सम्झिने होइन र म आदेश दिन्छु तिमी मान भन्ने सोचको विकास उनमा हुनुहुँदैन । समूहलाई घोडा ठान्ने र आफूले रथ हाक्ने प्रवृत्ति नेतामा हुनुहुँदैन ।
नेतामा धर्म हुनुपर्छ । धर्म भनेको अरूको ख्याल गर्नु हो । जङ्गलमा जनावरहरूले आफ्ना सन्तान बाहेक अरूको ख्याल गर्दैनन् । तर मानिसहरूले अरूको ख्याल गर्ने हुँदा मानिसलाई सबै प्राणीमा विशिष्ट मानिएको हो । त्यसैले समूहको नेताले आफ्ना समूहका सबै सदस्यहरूको ख्याल गर्नुपर्छ ।
आफ्नो र आफ्ना निकटतमहरूमा मात्रै आफूलाई केन्द्रित गर्दा असल नेताको धर्मविपरीतको कार्य हुन्छ, जुन नेपाली राजनीतिमा सबैभन्दा डरलाग्दो विषय बनिसकेको छ र आम जनतामा नेता भन्ने शब्द नै वितृष्णा बनिसकेको छ । नेता सबैको साझा अभिभावक बन्नुपर्छ । जसरी भमराले फूलको रस लिने बेला फूलको रङ वा सुगन्ध बिगार्दैन त्यसैगरी आफ्ना अनुयायीहरूबाट नेताले लाभ लिने मात्रै होइन तिनको सुन्दरतामा अझ निखार ल्याउने काम गर्न सक्नुपर्छ ।
जुनसुकै क्षेत्रलाई गति दिनका लागि, दिशा प्रदान गर्नका लागि प्रभावकारी नेतृत्व चाहिन्छ । नेतृत्वको अभावमा एउटा परिवार पनि खुसी र सम्पन्न हुन सक्दैन ।
एउटा समाज रचनात्मक दिशामा लम्कन सक्दैन र एउटा राष्ट्र अग्रगामी बाटोमा हिँड्न सक्दैन अर्थात् समग्र विकासका लागि कुशल नेतृत्वको आवश्यकता पर्दछ । यस अर्थमा परिवर्तनका लागि आत्मविश्वासले भरिएको इमानदार, प्रतिबद्ध, धैर्यशील, पारदर्शी र सकारात्मक दृष्टिकोण भएको, जिम्मेवारीलाई बहन गर्ने क्षमता भएको नेतृत्व चाहिन्छ ।
समाजका प्रत्येक एकाइमा नेतृत्वको संस्थापन गरिएको हुन्छ । राज्यको उत्पत्तिसँगै नेतृत्वको संस्थापन भएको इतिहास पाइन्छ । नेतृत्व भनेको समाज डो¥याउने साधन हो । उक्त साधन उत्तम भयो भने सही बाटोमा हिँडेर गन्तव्यसम्म पुग्न सकिन्छ अन्यथा समाज विकासको गति कुहिरोभित्र हराएको काग जस्तो रुमलिरहन्छ । नेतृत्वको अभाव भनेको भीड हो, अन्योलता हो, अराजकता हो र दिशाहीनता पनि हो ।
नेतृत्वका लागि नैतिक शक्ति महत्त्वपूर्ण पुँजी हो । यसको अभावमा ऊ प्रेरक हुन सक्दैन । नैतिकताको अर्थ अन्धाधुन्ध कुनै निश्चित नियमहरूको सूची पालना गर्नु मात्र होइन । यसको अर्थ नीतिपूर्ण मार्ग अवलम्बन गर्नु लाभकारी हुन्छ भन्ने कुराप्रति विश्वस्त हुनु हो । नैतिकताको दृढ अभ्यासले हामीलाई सबैसँग मित्रतापूर्ण सम्बन्ध बनाउन सहयोग गर्छ ।
नेतृत्व आफैंमा सहज हुँदैन । नेतृत्व केवल विचारले गर्दछ । विचारको नेतृत्व चेतनाले गर्छ । चेतनामा विकास हुनका लागि स्वार्थता र व्यक्ति केन्द्रित सोच त्याग्नु पहिलो काम हो । विचार आफैमा फराकिलो हुन्छ । त्यसभित्र सामूहिकता रहेको हुन्छ । समानता, आर्थिक विकास, उच्चतम सकारात्मक सोच र विकासोन्मुख धारणा विचारका सुन्दर पक्ष हुन । यहीभित्रको दायरामा रहेर नेतृत्वले नेतृत्व गरेमा परिवर्तन र समृद्धि टाढा छैन ।
विचारविनाको नेतृत्व भनेको लगामविनाको घोडा जस्तै हो । जुन जतिखेर पनि घातक हुन सक्छ । नेपालमा देखिएका घटनाक्रम पनि विचारविनाको राजनीति हो, यस्तो राजनीति मिथ्या मात्र हो । विचारविनाको नेतृत्वले क्षणिकतामा प्रभाव पारे पनि त्यसले दीर्घकालीन रूपमा पार्ने प्रभावका बारेमा न त नागरिक, कार्यकर्ता नै जानकार र सचेत भए न त नेताहरू नै जसले गर्दा नेपालको राजनीतिक व्यवस्था सधैँ नै उथलपुथल भइरह्यो ।
बोल्ने र गर्नेका बीचमा आकाश जमिनको अन्तर छ, त्यो समेत भेउ नपाउनेहरूको पछाडि आम जनता लाग्दा सम्पूर्ण जनताको विवेक बन्धक भएको छ । जसको भरपुर फाइदा नेताहरूले लिइरहेका छन् । आफैभित्रको क्षमतालाई बन्धक राखेर कसैको पछाडि दौडनु भनेको दास बन्नु हो । आफूसँग विचार र विवेककोे भण्डार अथाह हुन्छ तर त्यसको प्रयोग नै हामी गर्न सक्दैनौँ । नेपालको राजनीतिक र सामाजिक सोच र प्रवृत्तिले आफैभित्रको क्षमतामा विश्वास नगरी अर्काको पछि लाग्नु बाध्यता जस्तै बनिदियो ।
नीति प्रधान हुनुपर्ने अवस्थामा जब नेतृत्व आत्माकेन्द्रित र स्वार्थमा अल्झिन्छ, त्यसले सिङ्गो देश र जनतालाई नै असर गर्छ । व्यक्ति आफूलाई नै केन्द्रमा राखेर गरिने नेतृत्वको आयु भनेको अल्पायु हो । यसले नेताका स्वार्थ घुलित सपना मात्र साकार हुन्छन् र भइरहेका पनि छन्; जसबाट जनताका आवश्यकता र असहजता सम्बोधन हुन सक्दैनन् । यो यथार्थ र तीतो सत्य हो । यति जानकारी हुँदाहँुदै पनि तिनै राजनीतिक दलका नेताहरूलाई आफ्नै दाइ नाता जोडिरहेका हुन्छौँ । हामीले टेकेको धरातल र बुझाइएको धरातल निकै फरक छ । राजनीतिको मूल मर्म र मान्यता नै बिर्सिएका अथवा थाहा नभएकाहरू नेपालको नेतृत्वमा हाबी बनिरहेका छन् । उनैका लागि हामी ज्यान दिन तयार छौँ, परिवार बिर्सिएका छौँ । आफन्त र समाज बिर्सिएका छौँ भने दोषी को ? हामी आम नागरिक या हामीले छानेको हाम्रो नेतृत्व ? उत्तर खोजिनु जरुरी छ ।
नेतृत्वको परीक्षाविपरीत र विषम परिस्थितिमा हुने गर्दछ । अनुकूल अवसरमा देखा परेको नेतृत्व प्रायः ऐतिहासिक हुँदैन । सङ्घर्ष र प्रतिकूलताले जन्मेको नेतृत्व आफ्नो क्षेत्रमा कोसेढुङ्गा साबित हुन्छ । योग्य र अनुभवी नेताहरूले विश्व इतिहास रचेका छन् । इतिहासको पाना पल्टाउँदा नेपोलियन बोनोपार्ट, विस्टर्न चर्चिल, जर्ज वासिङ्टन र महात्मा गान्धी जस्ता नेताहरूले आफ्नो कुशल नेतृत्वद्वारा जनताको मार्गदर्शन गरेको सर्वविदित नै छ ।
नेता बन्न लाखौँ मानिसको भीडलाई पछाडि लगाउनुपर्छ भन्ने होइन । न त चर्को आवाज हुनु जरुरी छ । असल नेता हुन उसमा बलियो इच्छाशक्ति, आत्मविश्वास, अरूलाई अभिप्रेरित गर्नसक्ने क्षमता, जिम्मेवारी र उत्तरदायित्वको भावना, प्रभावकारी सञ्चार सीप, इमानदार सोच र चरित्र तथा त्यागको भावना जस्ता गुण विद्यमान हुनु जरुरी छ । ठूलो नेता उसको पछाडिको भीडले होइन यथार्थपरक लक्ष्यले निर्धारण हुनुपर्छ र लक्ष्यसँगै उसमा मूल्य मान्यता र आदर्श हुनु जरुरी छ ।
कुशल नेतृत्वको गुण भनेको निश्चित समयसम्म नेतृत्वमा बसेपछि नेतृत्वको हस्तान्तरण गर्नुपर्छ भन्ने सोच सहितको व्यवहार पनि हो । तत्पश्चात एउटा अभिभावकको भूमिकामा बस्न सक्ने प्रवृत्तिको विकास हुनुपर्छ ।
वर्तमान अवस्थामा हाम्रा सबैजसो नेतृत्व तहमा रहेका नेताहरू नेतृत्वमा रहिरहन चाहाने हुनाले नेपाली राजनीतिमा असहजता बढ्दै गएको छ र राजनीतीक दलभित्र गुट उपगुटको वातावरण सिर्जना भएको छ । यसले गर्दा राजनीतिक दलहरू सधैँ जनता केन्द्रितभन्दा पनि आफ्नो गुट र पार्टी जोगाउनमा व्यस्त रहने हुँदा जनताका समस्या ज्युँकात्युँ छन् ।
विकास र समृद्धिका लागि प्रशस्त सम्भावना र स्रोत साधन हुँदाहँुदै पनि हरेक क्षेत्रमा नेतृत्वको कमिजोरीले हामी पछि परिरहेका छौँ । पेन्सन खाने उमेर भएकाले स–सम्मान बिदा हुने र नयाँ युवा पुस्तालाई नेतृत्व दिने बेला भइसकेको छ । सफलता मिल्ला नमिल्ला तर पहल परिवर्तनको गर्न जरुरी छ ।
दैनिकी धान्ने नेतृत्व होइन । दैनिकी बदल्ने नेतृत्व आजको आवश्यकता हो । खोल ओढेर र पूर्वाग्रह नराखी एकपटक सोच्नुपर्ने भएको छ । यो देशलाई अब साँच्चिकै माया गर्ने नागरिक, कार्यकर्ता र नेतृत्व चाहिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबिच भेटवार्ता
-
सहकारीका सफ्टवेयरमा ‘लक सिस्टम’ लागू गरिँदै, कोशीमा १९ कम्पनी सूचीकृत
-
पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट