शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारी लुम्बिनी आउँदै : बुद्धमूर्ति अनावरणदेखि बज्रयान महाविहारको उद्घाटन गर्ने

आइतबार, १४ कात्तिक २०७८, ०९ : ४८
आइतबार, १४ कात्तिक २०७८

राष्ट्रपति विद्यादेवी भण्डारी आज (आइतबार) लुम्बिनी आउँदैछिन् । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ह्वाइट जेड स्टोन धातुको बुद्धमूर्ति अनावरण गर्न र लुम्बिनीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी आउन लागेकी हुन् ।
राष्ट्रपति भण्डारीले लुम्बिनीमा बज्रयानी विहारको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले विमानस्थलमा बुद्ध मूर्ति आइतबार १ बजे अनावरण गर्ने कार्यक्रम रहेको बताए ।
लुम्बिनी गार्डेन फाउण्डेशनका महासचिव एकराज गिरीका अनुसार म्यानमारका भिक्षु कालीगढद्वारा झण्डै ६ महिना लगाएर तयार गरिएको उक्त मूर्ति १.९ मिटर लम्बाई र ६० सेन्टीमिटर चौडाई तथा १ हजार ८ सय किलोको छ ।
म्यानमारमा बनाइएको यो मूर्ति भारत हुँदै नेपाल ल्याइएको हो । साढे दुई अर्बको मूर्ति अर्थमन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार शुल्क नलाग्ने गरी भित्र्याइएको हो । 


राष्ट्रपतिसँगै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाण पनि मूर्ति अनावरण कार्यक्रममा सहभागी हुन आउने भएका छन् । उनी बिहानै रूपन्देही आएर तिलोत्तमाको पार्टी कार्यक्रममा सहभागी भएर विमानस्थल जाने कार्यक्रम छ ।
यस्तै बुद्धजन्मस्थल लुम्बिनीमा प्राचिन कलासहितको नेपाली बज्रयानी विहार आजै राष्ट्रपतिबाट उद्घाटन गर्ने कार्यक्रम छ ।  नेपाली लगानीमै ३५० वर्षपछि यो शैलीको बज्रयानी महाविहार निर्माण भएको हो ।
विहारका अध्यक्ष प्रा.डा.नरेशमान बज्राचार्यले स्वदेशी लगानीमै विहार तयार भएको बताएका छन् ।

राष्ट्रपतिको व्यस्तता यस्तो छ

जिल्ला प्रशासन कार्यालयका अनुसार अनुसार भण्डारी आइतबार बिहान १० बजे विमानस्थल आउने छिन् । त्यसपछि लुम्बनी हुने कार्यक्रम उनी सहभागी हुने छिन् । लुम्बिनी लुम्बिनीमा बनिरहेको बज्रयान महाविहारको उद्घाटन गर्ने र त्यसपछि मायादेवी मन्दिरको दर्शनमा जाने कार्यक्रम छ ।

११ः४५ मा बुद्धमाया होटलमा लुम्बिनी विकासको विषयमा राष्ट्रपतिलाई जानकारी दिने कार्यक्रम तय भएको छ । यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालको अवस्था जानाकारी दिने कार्यक्रम पनि राखिएको छ । राष्ट्रपतिले लुम्बिनीमा निर्माण भएको ५ हजार क्षमताको ध्यान हल अवलोकन गर्ने कार्यक्रमसमेत छ । सो हलको शिलान्यास राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

लुम्बिनीको भ्रमण गरेर राष्ट्रपति गौतमबुद्ध विमानस्थल जाने कार्यक्रम छ । त्यहाँ उनले बुद्धमूर्ति अनावरण गर्ने कार्यक्रम छ । बुद्धमूर्ति अनावणपछि उनी काठमाडौं फकर्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप