आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

रोममा जी-२० शिखर सम्मेलन सुरु

शनिबार, १३ कात्तिक २०७८, २० : ५७
शनिबार, १३ कात्तिक २०७८

इटलीको राजधानी रोममा शनिबारदेखि जी २० को शिखर सम्मेलन सुरु भएको छ ।   आइतबारसम्म चल्ने दुई दिने सम्मेलनमा विश्वका प्रभावशाली मुलुकसहित १९ देश र युरोपेली संघका प्रतिनिधिहरू सहभागी भएका छन् । 

सम्मेलनमा भौतिकरूपमै वा भर्चुअल माध्यमबाट सहभागी हुन मिल्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार चीनका राष्ट्रपति सि चिन फिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका केही शीर्ष नेताहरू भने भर्चुअल माध्यमबाट सहभागी भएका छन् ।

कोरोनाभाइरसको महामारीका कारण आफूहरू सम्मेलनमा भौतिक रुपमा उपस्थित हुन नसकेको बैठकस्थलमा नजानु भएका नेताहरूले स्पष्ट पारेका छन् । सम्मेलनमा विशेषगरी जलवायु परिवर्तन, कोरोनाभाइरसको महामारी, पुरानै अवस्थामा फर्किने प्रयासलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ । 

सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा ‘विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य’ शिर्षकमा छलफल केन्द्रीत भएको थियो ।  त्यसैगरी दोस्रो दिन आइतबार ‘जलवायु परिवर्तन र वातावरण’ र ‘दिगो विकास’ मा केन्द्रीत छलफल हुने जनाइएको छ ।

सम्मेलनको नेतृत्व सम्मेलन आयोजक मुलुक इटलीका राष्ट्रपति मारियो ड्राघीले गरेका छन्। सम्मेलनलाई सम्वोधन गर्दै उनले भने, “हामीले यो महामारीभन्दा अगाडिका सम्मेलनमा राष्ट्रियता, संरक्षणवाद र एकपक्षीयवादमा छलफल गर्ने गरेका थियौँ, तर अहिले सवैको साझा समस्या र चुनौतीका बारेमा छलफल गर्नु परेको छ ।”

कुनै देश तथा क्षेत्र विशेषमा छलफल गरेर वा कुनै देश विषेशले मात्रै लड्न नसक्ने भएकाले साझा चुनौतीका बारेमा विचार गर्नुपरेको उनले बताए । अन्तर्राष्ट्रियस्तरमा आर्थिक सहकार्य र सहयोगका लागि भन्दै जी २० शिखर सम्मेलनको सुरुवात सन् १९९९ मा भएको हो ।  

जी-२० अन्तर्गत अर्जेन्टीना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत, अमेरिका र युरोपेली संघ पर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप