एसएलसी पास गरेर कृषि पेसामा लागेका कृषिमन्त्री महिन्द्र रायका पाँच चुनौती
सर्लाही हरिपूर्वामा मध्यमवर्गीय किसान परिवारमा २०११ असार १५ गते जन्मिएका महिन्द्र राय यादव एसएलसी पास गरेर खेती किसानीमा लागेका थिए । त्यतिबेला उनी सोचेका थिएनन् कि ‘आज कृषि कर्म गर्दै छु, भोली गएर कृषि मन्त्री बन्छु ।’ कृषि मन्त्री त धेरै टाढाको कुरा यसरी सक्रिय राजनीति गर्छु भन्ने पनि उनको दिमाग थिएन । उनी महिन्द्र कृषि मन्त्रालय हाँक्न थालेका छन् ।
शुभकरण यादवका जेठो छोरा महिन्द्र राय यादव भारतका गुरुजी रामअवतार साहबाट प्रारम्भिक शिक्षा लिएका हुन् । पछि भारत सितामढी भौप्रसादमा सानीआमाको घरमा बसेर त्यहीको एक छिमेकी गाउँको स्कूलमा चार कक्षासम्म पढेका उनी हजुर बुवाको मित्रको गाउँ भूभैरव गएर पाँच कक्षासम्म पढेका थिए । छ कक्षादेखि आफ्नै गाउँको त्रिभुवन माध्यमिक विद्यालय गौशालाबाट २०२७ सालमा दोस्रो श्रेणीमा एसएलसी पास गरेका उनको घरको आर्थिक अवस्था राम्रो नभएको कारण उनी अगाडि पढ्न सकेनन् । त्यसमा पनि घर जेठो छोरा भएको कारण घर व्यवहार हेर्नुपर्ने भएको हुनाले उनी पढाई छाडेर खेती किसानीमा लागेका थिए ।
महेन्द्रप्रसादको बुवा किसान थिए, पढे लेखेका थिएनन् र उनका आमा चुल्हीया देवी राय यादव पनि त्यस्तै थिइन् तर उनको आमा अनपढ भएपनि घरको सारा जिम्मा उनकै काँधमा थियो । महेन्द्रप्रसाद पाँच दाजु भाइ तथा दुई दिदी वहिनी थिए । एसएलसीसम्म अध्ययन गरेका यादवको राजनीतिक यात्रा २०३७ सालबाट कम्युनिष्ट पार्टीको सदस्यता लिई सुरु भएको थियो । उनी विगतमा नेकपा एमालेका केन्द्रीय सदस्य र पार्षद समेत रहेका थिए ।
गाउँकै स्कूलमा पढ्दा महेन्द्रप्रसाद होस्टलमा बस्थे । त्यहाँ उनको सम्पर्क श्याम प्रसादसँग भयो । श्याम वाम विचारका थिए । त्यस्तै वाम विचारका शिक्षक रत्नेश्वरलाल कर्ण र गोरेबहादुर खपाङ्गीसँग पनि उनको सम्पर्क थियो । वाम विचारबाट प्रभावित भएपछि पनि उनी राजनीतिमा लागेका थिएनन् उनी ।
एसएलसी पास भएर घर फर्केपछि खेतीपातीमा लागेका थिए । उनी राजनीतिभन्दा निकै टाढै थिए । उनका काकाका छोरा गगनदेव राय यादव जिल्ला पञ्चायतका सदस्य थिए त्यसले गर्दा परिवारमा राजनीति चहल पहल भइरहन्थ्यो । त्यसले पनि उनलाई प्रभाव पारेको थिएन उनी आफ्नो पुरा ध्यान घर सम्हाल्नेदेखि कृषि कर्ममा लगाएका थिए ।
साझा संस्था लुटेर राजनीति
२०३६ सालमा क्रुर पंचयाती व्यवस्थाको विरोध भइरहेको थियो । त्यसको लागि जनमत संग्रहको राजनीति माहोल बनेको थियो । त्यसकै प्रचार प्रसारमा भरतपुरका सीताराम भण्डारी उनको गाउँ वसन्तपुरमा पुगेका थिए । सो गाउँमा भण्डारीले केही युवाहरुलाई भेला गरेर राजनीति प्रशिक्षण दिएका त्यसमा महिन्द्र राय यादव पनि पुगेका थिए । र त्यही दिनदेखि उनी युवाहरुको लहैलहैमा आन्दोलनमा लागेका थिए ।
सोही क्रममा केही युवाहरुको साथमा सर्लाहीकै साझा संस्थान लुट्ने काम भयो र सशक्त आन्दोलनको त्यो शुरुवात भयो । केही युवाको साथमा हरिपुरवा गाउँमा रहेका धनी व्यक्तिहरुको घर लुट्न गए । त्यहाँ रामअसीस साह, तेजनारायण साह जस्ता पञ्चायती पक्षधर धनीहरु थिए । उनीहरुले बहुदल पक्षधर केही युवाहरु आफ्नो गाउँमा आउँदैछन् भनेर ती धनी व्यक्तिहरुले प्रहरी बोलाएर राखेका थिए । महिन्द्रका साथमा गएका युवाहरुले प्रहरीमाथि ढुगांमुढा गरे र त्यसको जवाफमा प्रहरीले गोली प्रहार गरे ।
त्यही महिन्द्रको समुनेमा सातजनाले सहादत प्राप्त गरे । गोली चल्दा एकजना टेलर मास्टरको घरमा लुक्न गएका थिए त्यहाँ पनि गोली पुग्यो तर गोली धानको कोठीमा लाग्यो, महिन्द्रलाई लागेन । लागेको भए उनी पनि त्यही दिन सहिद हुन्थे ।
मानन्धर समूह रोजे
बहुदलप्राप्तिको आन्दोलनमा होमिए महिन्द्र राय यादव । २०३७ सालमा जनमत संग्रहको नतिजा आयो । पञ्चायती व्यवस्थाको जित भयो र बहुदल पक्षको हार । काँग्रेसले धोका दिएको कारण बहुदल हारेको उनको ठम्याइँछ । त्यसपछि उनले विष्णु मानन्धरसँग भेटेर कम्युनिष्ट रोजे । नेपाल कम्यूनिष्ट पार्टी (मानन्धर समुह) को सदस्यता लिएर राजनीति यात्रा सुरु गरे ।
त्यसबेला सर्लाहीमा सो पार्टीको कुनै संगठन थिएनन् र उनले संगठन बनाउन थाले । मानन्धर समुहको एउटा नीति थियो कि जिल्ला पंचायत तथा गाउँ पंचायतको कुनैपनि चुनावहरुमा भाग लिनुपर्ने र सोही अनुसार उनले जिल्ला पंचायतको इलाका सदस्यमा चुनाव लडे तर उनी चुनाव हारे । ०४२ सालमा सत्याग्रह आन्दोलन शुरु भयो । त्यसबेला राजनीतिमा झन सक्रिय भएर लागे उनी ।
२०४६ सालको आन्दोलनमा सर्लाहीमा वाम मोर्चा बनाउने निर्णय भयो जसमा उनी मानन्धर समुहको तर्फबाट सहभागि थिए । आन्दोलनको क्रममा महिन्द्र राय यादव गिरफ्तार भए । चैत्र २६ गते प्रजातन्त्रको घोषणा भएपछि उनलाई जेल मुक्त गरियो । २०४८ सालको चुनावमा पनि उनी पराजित भएका थिए ।
एमालेमा प्रवेश
महिन्द्र रायको कथन थियो कि एमालेसँग मिलेर मूलधारको पार्टीमा जाउ तर विष्णु मानन्धरले मान्न तयार भएनन् । त्यसपछि सोही पार्टीमा रहेका सीतानन्दन राय र जितेन्द्र देवसँग मिलेर उनले पार्टीमा विद्रोह गरे अनि सीतानन्दन रायको नेतृत्वमा एमालेमा प्रवेश गरे । त्यसपछि उनले एमाले पार्टीको तर्फबाट जिल्लामा संगठन बनाउन थाले र एमालेको जिल्ला सचिव पनि भए ।
नेपालगन्जको महाधिवेशनबाट मात्र एमालेको केन्द्रीय सदस्य बन्न सफल भए उनी । सातौँ महाधिवेशन जनकपुरमा भयो त्यसमा उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए तर हारेका थिए । त्यही बेलादेखि मधेसीहरुको एमाले पार्टीमा अन्तरसंघर्ष शुरु भयो । २०५५ सालमा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा बनेको सरकारमा महिन्द्रप्रसाद निर्माण तथा यातायात राज्यमन्त्री बनेका थिए ।
जनकपुर महाधिवेशनबाट चुनाव हारेका सीतानन्दन राय, जितेन्द्र देव र महिन्द्र रायलगायतका मधेशी नेताहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै एमाले पार्टी मधेस विरोधी पार्टी हो भनेका थिए । मधेसको अधिकारका लागि एमाले सांसदहरु ४३ दिनसम्म संसद अवरुद्ध गर्दै रहे त्यसको लागि माधव नेपालले महेन्द्रप्रसादसँग लिखित स्पष्टीकरण माग गरेका थिए । त्यसपछि उनीहरुको संघर्ष झन चर्कियो र अन्त्यमा एमाले पार्टीबाट बिद्रोह गरे ।
महन्थ ठाकुरको अध्यक्षतामा २०६३ पुस १३ गते तराई मधेस लोकतान्त्रिक पार्टी खोले । तत्कालिन तमलोपा उनी महामन्त्री थिए । मधेस आन्दोलनको समयमा जन्मेका पार्टी भएकाले तुरुन्तै दोस्रो मधेस आन्दोलन भयो जसमा महिन्द्रप्रसादको सक्रिय सहभागिता रह्यो ।
तमलोपा स्थापनाको बेला निर्माण भएको विधान समावेशी तथा लोकतान्त्रिक विधान थियो तर पछि त्यसलाई संशोधन गरी महन्थ ठाकुर लगायतले नयाँ विधान ल्याएका थिए । नयाँ विधान ल्याएपछि आफूलाई कुनै जानकारी नदिएको भन्दै त्यसको विरोध गरेर उनी तमलोपा छाडेर तराई मधेश लोकतान्त्रिक पार्टी बनाएका थिए । सो पार्टीबाट उनी उद्योग मन्त्री भएका थिए । उनी त्यो पार्टीलाई लामोसमय चलाएपछि मधेशका विभिन्न ६ वटा दल मिलेर राजपा बनाएका थिए । सो दलका उनी अध्यक्षमण्डलका सदस्य थिए ।
तर त्यो पार्टीमा पनि महन्थ ठाकुरको क्रियाकलापबाट उनी सन्तुष्ट थिएनन् । उनले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग एकीकरण गर्नुपर्छ भनि पार्टीमा पटक पटक कुरा उठाउन थाले तर उनको कुराको सुनुवाई भइरहेको थिएन । तैपनि उनी एक्लै भएपनि उपेन्द्र यादवसँग निरन्तर संवाद गरिरहेका थिए ।
अन्ततः समाजवादी पार्टी र राजपा नेपालको एकीकरण भएर जसपा बन्यो । जसपा बनेपछि उनी महन्थ ठाकुरको पक्ष छाडेर उपेन्द्र यादवको पक्षमा लागेका थिए । महेन्द्र राय यादवले साथ दिएपछि उपेन्द्र यादव बलियो भएका थिए ।
मन्त्री यादवले ५ पटक संसदीय निर्वाचनमा विजयी हासिल गरेका छन् । २०५१ सालमा भएको मध्यावधि निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ सालमा नेकपा एमालेको तर्फबाट उनी सर्लाहीबाट निर्वाचित भएका थिए । यस्तै २०६४ सालको संविधानसभा सदस्यमा सर्लाहीबाट निर्वाचित भएको उनी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० सालमा सर्लाही ४ बाट विजयी भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा उनी सर्लाही २ बाट निर्वाचित भएका छन् ।
र अहिले उनी कृषि मन्त्री बनेका हुन् । सानैदेखि कृषि क्रम गरेका महिन्द्र राय यादव कृषि मन्त्रालय कसरी चलाउँला त्यो आउने दिनमा पुष्टि हुँदै गर्ला । तर अहिले उनी सामु कृषि मन्त्रालयमा चुनौतीका चाङ छन् ।
कृषिमा चुनौती
असोज २२ कृषि तथा पशुपन्छी विकास मन्त्रीमा सपथ खाएका महिन्द्र राय यादव त्यही दिन साँझ अबेर मन्त्रालयमा पदभार ग्रहण गरेका थिए । शनिवार अर्थात २३ गते विश्व खाद्य दिवसको उपलक्ष्यमा एउटा रेडियो सन्देश दिएर असोज २४ गते जनकपुर हुँदै मन्त्री यादव २५ गते सर्लाही पुगेका थिए ।
गृहजिल्ला सर्लाहीमा उनको भव्य स्वागत भयो । उनको दसैं पनि उतै बित्यो । दशैंमा बधाई र शुभकामना तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुँदै गर्दै आइतवार अर्थात असोज ३१ गतेदेखि वर्षा सुरु भयो । वर्षासँगै आएको बाढी पहिरो देशका विभिन्न ठाउँमा डुबान हुन थाले । र, सबभन्दा ठूलो कृषिमा असर गर्यो ।
बाढीले किसान पीडित भइरहेको बेला कृषि मन्त्री यादव सर्लाहीमै थिए । बाढीबाट पीडित किसानका लागि केही गर्नुपर्ने एक्सनमा जानु पर्ने तर मन्त्री नहुँदा मन्त्रालयमा अलमल थियो । मन्त्रालय मन्त्रीको पर्खाइमा बस्यो । तर मन्त्री आज भोली आज भन्दै कोजाग्रत पूर्णिमा अर्थात असोज ३ गते बल्ल काठमाडौमा आइ पुगे ।
गृह जिल्लाबाट मन्त्री काठमाडौ आइपुगेको जानकारी मन्त्रालयले पाएको थियो । मन्त्रालयका कर्मचारी मन्त्रीको प्रतिक्षमा बसेका थिए । तर त्यो दिन पनि मन्त्री मन्त्रालय गएनन् । उनी जिल्लाबाट आएपछि सिधै मन्त्रीपरिषद्को बैठकमा सहभागी हुन पुगे । बैठकमै ढिलो भएको कारण उनी त्यसको भोलीपल्ट यर्थाथ असोज ४ गते मात्र मन्त्रालय पुगे ।
असोज २२ गते मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री यादवको लागि असोज ४ दिन अलि फरक लाग्यो । उनको सामुन्ने चुनौतीका चाङ्ग खडा भयो । बाढीबाट पीडित किसानलाई उद्धार तथा राहत र क्षतिपूर्ति, कर्मचारी व्यवस्थापन, मल, किसान सूचीकरण, किसानको बक्यौता रकम भुक्तानीलगायतका समस्या उनका सामु एक साथ आइपुगे ।
बाढीबाट कृषिमा क्षति
कार्यभाल सम्हालेर कर्मचारीबाट ब्रिफिङ समेत नलिएका मन्त्री यादव दोस्रो दिन मन्त्रालय टेक्दा किसानलाई उद्धार तथा राहतको ठूलो चुनौति आइ लाग्यो । असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको थियो । उनी मन्त्रालय आएकै दिन बाढीले पाँच अर्ब भन्दा बढीको क्षति गरिसकेको छ । त्यसमध्ये चार अर्ब भन्दा बढी लुम्बिनी प्रदेशमा मात्र क्षति भएको थियो भने सुदूरपश्चिममा पनि झण्डै एक अर्बको क्षति भएको प्रारम्भिक रिर्पोट मन्त्रीको सामु पुग्यो ।
मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यसहितका कर्मचारीले यो प्रारम्भिक विवरण मात्र हो, आउनेक्रम सुरु भएको र क्षति अझै बढ्ने ब्रिफ गरेका थिए । कृषिमा यसअघि पनि बाढी पहिरोले क्षति नगरेको होइन, तर यो खालको र यो मात्रामा सायद धेरै लामोपछि भएको हो । घर लग्न ठिक पारिएको धान समेत खेतमै डुबेको छ । नकाटिएको धान समेत डुबेको छ । यसले आर्थिक वृद्धि दरमा असर गर्नुको साथै खाद्यान्न संकट निम्त्याउन सक्ने ब्रिफिङमा सुनाइएको थियो ।
त्यसपछि मन्त्री यादवले किसानको यो समस्यालाई कसरी समाधान गर्ने त्यसका लागि सम्पूर्ण शक्ति लगाउन मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए । प्रदेश सरकारसँग समन्वय गरेर क्षतिको विवरण चाँडै ल्याएर राहत तथा क्षतिपूर्तिको योजना बनाउन मन्त्री यादवले निर्देशन दिएका थिए । उनले तत्कालै सातवटै प्रदेशका कृषि मन्त्रीसँग छलफलको व्यवस्था गर्न भने । कात्तिक ९ गते सातवटै प्रदेशका कृषि मन्त्रीसहितको बैठक बस्दैछ ।
नव नियुक्त कृषि मन्त्री यादवका अहिलेको लागि सबभन्दा ठूलो चुनौती बाढी पीडित किसान नै हो । क्षति ठूलो मात्रामा भएको छ । देशको आर्थिक वृद्धि दरमा नै असर पुग्ने गरी क्षति भएको छ । यसलाई कसरी समाधान गर्ने भनि मन्त्री यादवको लागि चुनौति बढेको छ ।
रसायनिक मल
नेपालमा कृषि क्षेत्रका लागि सबभन्दा ठूलो समस्या भनेको रसायनिक मल नै हो । वर्षेनी मलको समस्या हुने गरेको छ । र, त्यसमा हरेक कृषि मन्त्रीको आलोचना हुने गरेको थियो । तर महेन्द्र राय यादवका लागि चुनौती झन थपिएको छ । सरकारले रसायनिक मलका लागि १२ अर्ब रुपियाँ विनियोजन गरेको छ ।
तर त्यो १२ अर्बले किसानलाई चाहिने मल खरिद गर्न सकिदैन । १२ अर्बले अढाई मेट्रिकटन मात्र आउनसक्छ जब कि नेपालमा ६ लाख मेट्रिकटन भन्दा बढी मल चाहिन्छ । अन्तरराष्ट्रिय रुपमा मलमा भएको मूल्यवृद्धिले गर्दा ६ लाख मेट्रिकटन मल खरिद गर्नका लागि २५ देखि ३० अर्ब रुपियाँ चाहिन्छ । त्यसको जोहो गर्न मन्त्री यादवका लागि चुनौती रहेको छ । रकमको व्यवस्था गरेर मात्र हुँदैन, भारतलगायत तेस्रो मुलुकबाट मल ल्याउनु परेको हुनाले समयमा मल आयात गर्न सक्छ कि सक्दैन त्यो अर्को चुनौती हो ।
अर्कोतिर सरकारले मल कारखाना खोल्ने घोषणा गरिसकेको छ । बजेटमै त्यो कुरा उल्लेख गरेको छ । सरकारले मल कारखाना खोल्ने घोषणा गरेको हुनाले त्यसलाई निरन्तरता दिने कि नदिने मन्त्री यादव समक्ष चुनौती रहेको छ । सरकारले घोषणा गरेको कामलाई अगाडि बढाएन भने आलोचना हुनसक्छ । अर्कोतिर कारखाना स्थापना गर्न चाहिने बजेटको जोहो गर्न मन्त्री समक्ष चुनौती रहेको छ ।
किसान सूचीकरण
मन्त्री यादवका लागि किसानको सूचीकरण गर्ने चुनौती पनि रहेको छ । यसअघिका सरकारले पुरै तामझामका साथ किसान सूचीकरण कार्यक्रम घोषणा गरेको थियो । त्यसको सुरुवात तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
नेपालमा कति किसान छन्, कस्ता कस्ता किसान छन् । साना ठूला किसान कति छन् । त्यसको आधिकारिक तथ्यांक कृषि मन्त्रालयसँग छैन । कृषि मन्त्रालयकै विभिन्न दस्तावेजमा फरक फरक तथ्यांक देखिन्छ । कुनै ठाउँमा ६५ प्रतिशत, कुनै ठाउँमा ६०/६६ प्रतिशत पनि उल्लेख छ ।
कृषि मन्त्रालयले कृषि तथ्यांकका लागि तथ्यांक विभागको भर पर्ने गरेको छ । तर अब आफै किसानको सूचीकरण गरी तथ्यांक संकलन गर्ने भनेको छ । त्यसको काम पनि सुरु भइसकेको छ । सुरुवात भएपनि कार्यप्रगति शुन्य छ । त्यसलाई पुन सञ्चालन गर्नका लागि मन्त्री यादवका लागि चुनौति रहेको छ । यो किसान सूचीकरण संघ, प्रदेश र स्थानीय तह मिलेर गर्ने तय भएको छ तर यसको बजेट कसरी व्यवस्थापन गर्ने, त्यसको कार्यविभाजन कसरी गर्ने चुनौती छ ।
कृषि ऐन तथा नीति
कृषि मन्त्रालय अझै बिना ऐन तथा नीतिले चलिरहेको छ । अर्थात कृषि मन्त्रालयसँग न आफ्नो कृषि नीति छ नै ऐन नै । निर्देशिका, कार्यविधि, नियमावलीको आधारमा मन्त्रालय सञ्चालन भइरहेको छ । कृषि मन्त्रालयले कृषि ऐन बनाउन वर्षौदेखि पहल गर्दै आइरहेको छ तर अझै बनेको छैन । एन बनाउनका लागि पटक पटक ड्राफ्ट बने, त्यसमा छलफल भयो तर त्यसले कहिले पूर्णता पाएन । पछिल्लो समय कृषि ऐनको ड्राफ्ट कानुन आयोगसम्म पुगेको छ । त्यसलाई कहिले पूर्णता दिने अझै टुगों छैन । मन्त्री यादवका लागि यो पनि यो एउटा चुनौती नै हो ।
कर्मचारी व्यवस्थापन
पछिल्लो समय कृषि मन्त्रालयअन्तर्गत विभिन्न तहका कर्मचारीको सरुवा भयो । संघका कर्मचारीलाई प्रदेश र प्रदेशका कर्मचारीलाई संघमा सरुवा गर्ने कार्य भयो । प्रदेशबाट पाँचजना सहसचिवहरू सरुवा भएर संघमा आएका छन् । तर उनीहरुलाई अझै कुनै जिम्मेवारी दिएको छैन ।
उनीहरु मन्त्रालय जान्छन्, हाजिर गर्छन् र घर फर्किन्छन् । मन्त्रालयमा विभिन्न महाशाखा प्रमुखविहिन छन् । कृषि विभाग खाली भएको पनि धेरै भइसक्यो अन्य थुप्रै ठाउँमा विभागीय प्रमुखहरु छैनन् । यसलाई कसरी व्यवस्थापन गर्ने त्यसको चुनौती पनि मन्त्री सामु आइपुगेको छ । पहिलो चुनौती त छ जना सहसचिवलाई कसरी व्यवस्थापन गर्ने रहेको छ ।