आमा मलाई बाँच्न दे
जस्तै कतै मरु–छातीमा हिम–कन्दारा चर्कन्थ्यो,
जस्तै कतै आगन्तुक पुग्ने बाटो बिर्सिन्थ्यो;
कतै विकराल पत्थर पेटमा एउटा शिशु उफ्रन्थ्यो,
जस्तै कतै गम्भीर समुद्रमा सानो प्रकाश उड्दै घुम्थ्यो
चाट्यो कतै आधी रातले विकराल ओठ फट्टाएर
सौन्दर्य कृतज्ञता हेर्न आएथ्यो एक अकेला एक यात्री !
पीप रगतको दीप–प्यालामा पुतली झैँ बल्यो त्यो यात्री ।
यो उर्वर धरतीमाथि त्यो आमाको बन्जर शिशु–दान,
छाती बच्चा–ओठले नकौँटेको बात्सल्य सुको बाँझो पहरो
सिँगान बच्चाको नलागेको हात आमा न रोगीको
बच्चाको शरीरले नथिचेको काम मसान वा कंकालको
एकान्त कोठा मध्यस्थ थियो... त्यहाँ म मारिँदा
ए आमा ! तिमी साक्षी थियौ !
तिम्रा दुवै हात हत्यारा थिए ! तिम्रो बल नारकीय थियो ।
बेचैन छ यो विस्तृत शून्यता मेरो यो अकस्मात् घटनामा
मेरो चीत्कारबिना निष्प्राण छ एक कतै विपनामा !
घाँटी थिएन त्यो थिचिएको एक सङ्गीतको रात टुटेको !
आँखा होइन त्यो नीलो गगनमा चम्किने झरिलो तारा फुटेको
ए कोप्रामा नाचिरहेका, ए धूलामा बिस्कुट चपाइरहेका उन्मादी,
तिमीहरू ! फेरि निदाउन सक्छौँ र फेरि बिउँझन्छौँ;
म त एक सर्को घामसम्म छुनसम्म सक्तिनँ,
म भने झल्को संसारसम्म हेर्न सक्तिनँ ।
कतै पैशाचिक साम्रज्यको झकमक रङ्गमञ्चमा
वासना नाच्दथ्यो छमछम कतै !
ए नीला टाढाटाढाका शून्यताका दर्शकहरू !
मेरो बाबु सफा बुज्रुक गधा किन भएन ?
मेरी आमा प्रेम जानेकी मैली सुँगुर्नी किन भइन ?
ए माकुरी ! त्यकहाँ जाली घर नबुन्
(तँ पनि बच्चा भन्दै आफै बलिदान बन्छेस् ।)
ए नीलो फक्याउँदो टाढाटाढाको मौनता !
मेरो बाबु बुज्रुक गधा किन भएन ?
कोत्रिँदैछ च्वाँसोले सम्झनाले अझै त्यो
पिशाची तिम्रा खोपिल्टे आँखामा,
जीर्ण–शीर्ण कुत्कुत्याउँदै छ तिम्रो झुत्रो बसेको बाँकी यौवनमा ।
तँ कतै नशा र उन्मादले देखिन्छेस लथपथ ।
कोत्रिँदैछ ध्वाँसोले सम्झनाले अझै त्यो
त्यो छाया लम्किँदैछ आधारात पर्खिबस्ने,
विना समय तेरो आँखाबाट चिमोट्न सक्ने ।
त्यो मुहार, त्यो दाग, जहाँ नारीत्वलाई पट्याउने
हात होइनन् दुईवटा गिद्दका पखेँटाहरू छन् ।
समय पाएमा ती ढुङ्गाहरू बौरिन, बोल्न सक्छन् होला,
गुफाहरू समयमा तिमीहरू गर्जन घन्कन सक्छौ होला
म भने यो विस्तृत संसारमा आमा भन्दै चिच्याउन फेरि म सक्तिनँ ।
मेरो घाँटीलाई ‘बा’ भन्दै फेरि सुकाउन म सक्तिनँ
तिमी भने मेरो स्वरमा आवाज केही छैन भन्छौ,
देख्तिनँ भन्छौ, बुझ्दिनँ भन्छौ !
तिमी भने मेरो स्वरमा आवाज केही छैन भन्छौ ।
जसको हातमा अझै मेरो गर्धन रक्ताम्मे झुन्डेको छ,
जसको कानले मेरो मुटुको ढुकढुकी– ढुकढुकी सुनिरहेको छ ।
म मरेको दृश्यले जसलाई पानी पानी कम्पित पार्छ
मेरो रगत जसको मुटुमा घच्चा दिन्छ, छचल्किन्छ
म मरेको छैन ! ए मानिस, म मरेको छैन !
मलाई शङ्का छ ए आमा ! म किन मरेको छैन !
मलाई सम्झेर अझै तिमी त्यहाँ थर्किन्छौ भने
ए आमा ! मलाई शङ्का छ किन अझै म मरेको छैन ।
मलाई डर छ, त्यो बच्चा पुलमुनि फ्याँकिएको थियो ।
गङ्गाको छातीमा अर्को गालीको निसाना थियो
शुक्रको घाँटीमा अर्को डोरीको सुर्कनो थियो,
त्यो सेतो कात्रोले छोपेको मुख त्यो बच्चाको होइन,
ए मानिस ! ‘म बुद्ध’–को चिचिलो त्यो अनुहार थियो ।
जसले सिङ्गमरमरलाई कमलो ओठले चुम्न बिरायो,
त्यो सेतो कात्रोले छोपेको मुख ‘म बुद्ध’–को चिचिलो अनुहार थियो ।
जसको कृत्यले कालिदासको कलम एकबाजी खोच्याउन सक्छ,
आइमाईको भुँडीमा मानव–दूत बास बस्न हिच्किचाउन सक्छ,
सायद त्यसको पेटमा बिच्छी एक फेर डस्न डराउन सक्छ,
जसको कृत्यले कालिदासको कलम एकबाजि खोच्याउन लङ्गडाउन सक्छ,
ए टुकुचा खोलाका यात्री हो ! यो टुकुचा खोलाको नयाँ इतिहास हो ।
यो शिशु संवत्सरको पहिलो प्रभात हो र
तिम्रो घुँडानेरको सानो बालक पुलको डिलमा उभिएर यो नीलो सन्ध्याको नीलो सुगन्धित माला टक्र्याइरहेछ ।
तिम्रो गालिगाँठानेरको सानो अति सानो शिशु
पुलको डिलमा उभिएर यो नीलो सन्धाको नीलो फूल उचालिरहेछ ।
ए टुकुचा खोलाका यात्री हो ।
तिमीहरूले त्यो बच्चालाई पुलबाट निहुरेर हेरेको भए,
ए टुकुचा खोलाका यात्रीहरू !
त्यो बच्चाको सेतो गर्धन र कमलो मुहारलाई अँगालको भए,
त्यसको चुम्बनले तिम्रो ओठ अवश्य चोख्याएका छौ ।
आफ्नो देशको ऐतिहासिक कुकृत्यमा छाती दोब्राएर पछुताएका छौ ।
ए टुकुचाका यात्रीहरू !
त्यो बच्चाको सेतो गर्धन सुटुक्क फेरि चुमेको भए
मलाई आशा छ, त्यो अज्ञात बच्चाले हाम्रो संसारलाई क्षमावाचन गर्ने छ ।
फेरि आमाको कोखमा बास बस्न सङ्घर्ष मन्जुर गर्नेछ ।
ए बगरकधी मसाने आमा, हिमकन्दराकी भूत
म एकान्तमा तेरो नजिकै टुकुर टुकुर आउने छु,
बाटो दोबाटोमा बच्चाको मकुन्डो लगाएर घच्घच्याउनेछु,
तिमीलाई तिम्रो आँखाभित्र तिम्रो वरिपरि नाङ्गै घिच्याउँदै
तिम्रो पछाडि कुममा बिस्तारो बुइ चड्दै घाँटी समातेर झुन्डिनेछु ।
संसारकी आमासँग मेरो तोते बोलीले म मेरो जन्म फिर्ता माग्ने छु ।
जब तँ एकान्तमा एक्लिन्छेस, लाई अगाडि आउन दे;
मलाई तेरो आँखा अगाडि फेरि नाच्न दे !
नउठा, फेरि नउठा तेरो हत्यारो हात;
नबना तेरो पिशाची कान्ति !
मेरो गर्धन ननिचोर आमा,
तेरो बज्रहस्त नउठा,
मलाई बाँच्न दे आमा ! तेरो स्मृतिमा मलाई बाँच्न दे ।
अब तेरो एउटा छोरो तेरो अगाडि दूध माग्देन,
वचन दे आमा ! वचन दे !!
अब तेरो कानमा विना स्वर गाउने सानो सङ्गीत;
अब म तेरो छातीमा लाजले उड्ने हलुका सानो सेतो प्वाँख ।
तेरो आँखाको विना पथको यात्रा,
तेरो पहरे दिलमा विना आँशु फुट्न दे
कामुक सङ्गीत यो विना प्यानुको
तारमा स्वर यो विना झङ्कारको ।
एक अभिमन्यु–हत्या औ षड्यन्त्र
तेरो स्वर्ग–जेल बज्न दे, झन्किन दे,
यो एकान्त भित्ता फोर्न दे, झन्किन दे, दे आउन,
तँलाई पिल्स्याई पिल्स्याई मार्न दे आउन,
पछुतो–छुरीमा विप–धूलो उडाउन दे ।
मोहन कोइरालाको जन्म विसं १९८३ मङ्सिर २९ गते बाबु ईश्वरीप्रसाद कोइराला र आमा प्रियादेवीका माहिला सुपुत्रका रूपमा डिल्लीबजार, काठमाडौँमा भएको थियो । उनी नेपाली साहित्यमा प्रयोगवादी धारा भित्र्याउने कवि हुन् । उनको पहिलो कविता ‘बुझिसके’ विसं २००७ सालमा शारदा पत्रिकामा प्रकाशन भएको थियो । लामा र जटिल प्रकारका कविता लेख्ने उनका कवितामा मानवतावाद गहिरिएर आएको पाइन्छ । उनको सबैभन्दा चर्चित कविता फर्सीको जरा हो ।
स्वअध्ययनबाट नै कविता लेख्न सुरु गरेका कोइरालाले विसं २०३८ सालको मदन पुरस्कार पनि जित्न सफल भएका थिए । कोइराला विसं २०५६ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपतिसमेत भएका थिए ।
(आमा मलाई बाँच्न दे कविता ‘मोहन कोइरालाका कविता’ (२०३०) कविता सङ्ग्रहबाट लिइएको हो ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीमाटीमा मृत भेटिएकी महिलाको पोस्टमार्टम : लिभरको समस्याले मृत्यु
-
स्कोनको बुढानीलकण्ठ जग्गा विवादमा जिल्ला अदालतले मगायो प्रमाण र लिखित जवाफ
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ