बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

जथाभावी बालुवा उत्खननले रौतहटको लालबकैया नदीका २ पुल भासिने खतरा

शनिबार, १३ कात्तिक २०७८, ०८ : २०
शनिबार, १३ कात्तिक २०७८

ऋषि निर्माण सेवाले जथाभावी बालुवा उत्खनन गर्दा रौतहटस्थित लालबकैया नदीको २ वटा पुल भासिने जोखिम बढेको छ । कटहरिया नगरपालिकाबाट नदीको ठेक्का लिएका उक्त निर्माण सेवाले जेसिबी प्रयोग गरेर जथाभावी बालुवा उत्खनन गर्दा कटहरिया र गर्जाघाट बकैया नदीको पुल भासिने जोखिम बढेको हो ।

अहिले एका बिहानैदेखि जेसिबी प्रयोग गरेर ठेकदार ब्रह्‍म नारायण यादवका मानिसहरु कटहरिया पुल देखि मात्र ५० मिटर दक्षिण र गर्जापुलको दुबै तर्फ मात्र १ सय मिटर टाढा बाट दैनिक सैयौं टिपर,ट्याक्टर बालुवा ढुवानी गरिरहेका छन् । 

कुनै पनि भौतिक संरचना पक्की निर्माण भएको स्थानबाट कम्तीमा ५ सय मिटर टाढा बाट नदीजन्य पदार्थ निकाल्नुपर्ने कानुनी व्यवस्था रहेको डिभिजन सडक कार्यालय चन्द्रपुरका प्रमुख रामनरेस केशरीले बताए । 

तर कटहरिया र गुजरा नगरपालिकामा सबै  जनप्रतिनिधि र नेताहरु मौन बसेको कारण ठेकदारले आफ्नो फाइदाको लागि झन्डै २० करोड रुपैयाँको  लागतमा निर्माण भएका २ वटा पुल भासिने जोखिम बढेको छ ।

पूर्वमन्त्री प्रभु साहको पहलमा करिब १० करोडको लागतमा कटहरिया, गमहरिया घाट लालबकैया नदीमा केही वर्षअघि पुल निर्माण भएको थियो । त्यसैगरी रौतहट क्षेत्र ३ का तत्कालीन संघीय सांसद पूर्व मन्त्री गोविन्द चौधरीको पहलमा झन्डै ९ करोडको लागतमा केही वर्षअघि गर्जाघाट लालबकैया नदीमा पुल निर्माण भएको थियो ।

स्थानीय निर्वाचनपछि  सम्बन्धित जनप्रतिनिधिले आफ्नो पालिका भित्रको सार्वजनिक सम्पतिको रेखदेख गर्नुपर्ने संविधानमै व्यवस्था छ । कटहरिया र गुजरा नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यसहितको सर्वसम्मतिमा बर्षेणी लालबकैया नदीको टेण्डर गर्ने गर्दछन् ।

ठेक्का पाएका ठेकेदारले प्रत्येक वर्ष कटहरिया र गर्जा घाट लालबकैया पुल छेउबाट नै बालुवा गिट्टी उठाउँदा पनि मात्र बजेट चलाउने जनप्रतिनिधिहरु मौन बसेका हुन्छन् ।

वर्तमान अवस्थामा कटहरिया, गर्जाघाट लालबकैया नदीको पुलको रेखदेख अथवा सुरक्षा संरक्षण कसले गरिदिने ठूलो प्रश्न उठेको छ ।

रौतहटका सिडियो कृष्ण बहादुर शाहीले उक्त दुई पुलको रेखदेख गर्ने जिम्मा कटहरिया, गुजरा नगरपालिका र डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको भएको बताए । साथै उनले अवैध उत्खनन अविलम्ब रोक्का गराउने प्रतिबद्धता जनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप