आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अफगानी नागरिक छिर्न नदिन सीमामा कडाइ

शनिबार, १३ कात्तिक २०७८, ०६ : १६
शनिबार, १३ कात्तिक २०७८

अवैध रूपमा नेपाल छिरेका अफगानिस्तानका ११ जना नागरिक केही दिनअघि काठमाडौँमा भेटिएपछि थप छिर्न नदिन नेपाल–भारतका खुला नाकामा कडाइ सुरु गरिएको छ । सो क्रममा नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाकामा पनि आवागमन गर्नेमाथि कडा निगरानी सुरु गरिनुका साथै राम्ररी चेकजाँच तथा सोधपुछ गरेर मात्रै भारतबाट आउनेलाई आउन दिइएको छ । तालिबानको कब्जापछि अफगानिस्तानबाट विस्थापित नागरिक नेपाल प्रवेश गर्न सक्ने आशङ्का बढेपछि नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

खुला नाकाका कारण आफगानीहरू बाँके हुँदै नेपाल प्रवेश गर्न सक्ने सम्भावना देखिएकोले केन्द्रबाट आएको निर्देशनबमोजिम नाकामा निगरानी बढाउनुका साथै चेकजाँचमा कडाइ सुरु गरिएको जमुनाहा नाकाका इन्चार्ज सई मीनबहादुर विष्टले बताए । उनले शङ्का लागेका मानिससँग सोधपुछ गरेर उनीहरूबारे निश्चित भएपछि मात्रै आवागमन गर्न दिइएको बताए । सीमामा तैनाथ गरिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सो सम्बन्धमा कडा निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । आफगानीहरूले भारत प्रवेश गर्नका लागि भारतीय आधारकार्डको प्रयोग गर्न सक्ने शङ्का रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । उनले तर पनि वेशभूषा र बोलीचालीबाट उनीहरूको पहिचान गर्न सकिने जनाए । अफगानिस्तानमा तालिबानको कब्जापछि हजारौँले देश छाडेका छन् र सो क्रम अझै पनि जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताइरहेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप