आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

रसुवा–टिमुरे सुख्खा बन्दरगाह २०२३ अप्रिलसम्म बनिसक्ने, लागत १ अर्ब ५० करोड (भिडियोसहित)

शुक्रबार, १२ कात्तिक २०७८, १७ : ४२
शुक्रबार, १२ कात्तिक २०७८

चीनसँग सीमा जोडिएको हिमाली जिल्ला रसुवाको टिमुरेमा यतिखेर सुख्खा बन्दरगाह निर्माणकार्य धमाधम भइरहेको छ । नेपाल–चीन अन्तरदेशीय व्यापार सहजीकरण निम्ति निर्माणधीन यस बन्दगाह सन् २०२३ अप्रिलभित्र तयार गरी प्रयोगमा ल्याउने सरकारको लक्ष्य छ ।

अहिले परियोजनाको काम धमाधम भइरहेको इन्टरमोडल यातायात विकास समितिले जानकारी दिएको छ । करिब १ अर्ब ५० करोड रुपैयाँ चिनियाँ आर्थिक तथा प्राविधिक सहयोगमा सुख्खा बन्दरगाह निर्माणाधीन छ । बन्दरगाहको शिलान्यास सन् २०१९ नोभेम्बर २० मा गरिएको थियो । त्यतिखेर बन्दरगाह निर्माण सन् २०२२ मे २० भित्र सम्पन्न गरिसक्ने लक्ष्य सरकारले राखेको थियो । परियोजना निर्माण अवधि ३० महिना तोकिएको थियो । 

तर, परियोजना विकासको काम थाल्दैगर्दा विश्वमा कोभिड–१९ महामारी फैलियो । सोहीकारण सुख्खा बन्दरगाह निर्माणकार्य पनि प्रभावित भयो । परियोजनको काम समयमै सम्पन्न गर्न नसकिने भएको इन्टरमोडल यातायात विकास समितिका महानिर्देशक आशिष गजुरेलले जानकारी दिए । चिनियाँ आर्थिक तथा प्राविधिक सहयोगमा बन्दै गरेको यस परियोजनामा काम गर्ने कामदारहरू समेत चिनियाँहरु नै रहेकाले कोभिडको समयमा काम हुन नसकेको र तोकिएको समयमै निर्माण सम्पन्न गर्न नसकिएको उनको भनाइ छ ।

अहिले भने बन्दरगाह निर्माणकार्य तीव्र गतिमा अघि बढिरहेको गतिमा काम अघि बढिरहेकाले संभवतः सन् २०२३ अप्रिलसम्म काम सम्पन्न भई बन्दगाह प्रयोगमा आइसक्ने गजुरेलले रातोपाटीलाई बताए । ‘हालसम्म परियोजनाको काम करिब १८.३५ प्रतिशत सकिएको छ । यही गतिमा काम भए अबको १८ महिना अर्थात् सन् २०२३ को अप्रिलसम्ममा निर्माण कार्य सम्पन्न भइसक्ने छ,’ गजुरेलले भने । 

यस्तो बन्दैछ सुख्खा बन्दरगाह
मितेरी पुलभन्दा करिब चार किलोमिटर वर बन्दै गरेको सुख्खा बन्दरगाहमा मल्टिकम्प्लेक्ससहितको ५ तल्ले भवन बनाइनेछ । सोही हाताभित्र एउटा ठूलो र एउटा सानो गरी दुईवटा गोदाम रहनेछन् । 
बन्दगाहमा एकैपटक अधिकतम १८० वटा ठूला मालबाहक कन्टेनरहरू अट्नसक्ने पार्किङ बनाइने इन्जिनियर शोभाकान्त राउतले जानकारी दिए । साथै, बन्दरगाहमा दुईवटा जाँचपास चौकीसमेत रहनेछ ।

उद्देश्य 
हाल नेपाल–चीन द्विदेशीय वाणिज्य व्यापारमा देखिएको सीमा तथा जाँचपास समस्या सम्बोधन गर्दै मालसामान आयात–निर्यात सहजीकरण गर्ने उद्देश्यले यो बन्दरगाहको निर्माण गर्न लागिएको हो । बन्दरगाह निर्माणपश्चात नेपाल–चीन दुबैतर्फ मालसामान आयात–निर्यात सहज हुने र सीमामा हाल देखिएका यावत् समस्याहरू हल हुने सरकारको अपेक्षा छ । 

हाल रसुवागढी नाकामै रहेको भन्सार कार्यालयबाट सामान्य मालसामान जाँचपास तथा कन्टेनर रुजु गर्नुपर्दा समस्या भइरहेको छ । बन्दरगाह तयार भएपछि हाल सडकमै त्यसै थन्किएका कन्टेनरहरूको समेत व्यवस्थापन हुने इन्टरमोडल यातायात विकास समितिले जानकारी दिएको छ ।

हाल यो नाका हुँदै चीनबाट लत्ताकपडासहित, खाद्यान्न, लसुन–प्याज, स्याउ, मेसिनरी वस्तुहरू तथा गाडीसमेत आयात भइरहेको छ । बन्दरगाह बनेपछि यी सबै वस्तुको जाँचपास एकै स्थानमा एकीकृत रूपमा हुने तथा भन्सार कार्यालय र मालसामान आयात÷निर्यातकर्ता दुबैलाई सहज हुने अपेक्षा गरिएको छ । 

हाल नेपाल सरकारले उत्तर र दक्षिण दुबै तर्फको नाकामा वाणिज्य सीमालाई चुस्तदुरुस्त र एकीकृत बनाउने प्रयास गरिरहेको छ । यस निम्ति सरकारले बोर्डरहरूमा एकीकृत जाँचपास चौकी र बन्दरगाह निर्माण गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप