शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने सम्बन्धमा पार्टीभित्र छलफल भएको छैन : डा. संग्रौला

शुक्रबार, १२ कात्तिक २०७८, १७ : २२
शुक्रबार, १२ कात्तिक २०७८

नेपाली काँग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा.डिला संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्नेबारे पार्टीमा छलफल नभएको स्पष्ट पारेकी छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको बताइन् ।

उनले भनिन्, ‘लोकतन्त्रको मूलभूत मान्यता भनेको स्वतन्त्र न्यायपालिका पनि हो । सर्वोच्च अदालतमा छलफल चलेका विषयमा काँग्रेसले कहिल्यै हस्तक्षेप गर्दैन । यो विषयमा गठबन्धन दलभित्र छिनोफानो गर्नुपर्छ ।’ पार्टीभित्र संस्थागत रुपमा यो विषयमा छलफल नभएको उनले बताइन् । ‘संसदीय दलमा पनि यो विषयमा छलफल भएको छैन,’ उनले भनिन्, ‘व्यक्तिगत रुपमा भन्दा यो कुरा अदालतबाट टुङ्गो लगाउने वा संसदबाट टुङ्गो लगाउने हो भन्नेबारे गठबन्धनमा छलफल होस् ।’

उनले न्यायपालिका जनताको आस्थाको केन्द्रबिन्दु भएको बताइन् । ‘न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका शक्ति पृथकीकरणअनुसार चल्नुपर्छ,’ उनले भनिन्, ‘सबै नेपाली जनताको आस्थाको केन्द्र सर्वोच्च अदालत नै हो । अहिले नेपाली जनतामा निराशा पैदा भएको छ ।’

उनले सर्वोच्च अदालत स्वतन्त्र रहेको सुनाउँदै यसको दायराभित्र हस्तक्षेप गर्न नहुने पनि बताइन् । उनले भनिन्, ‘विद्यमान समस्याको निरुपण त्यही क्षेत्रमा, त्यही मातहतमा बसेर खोजी गर्दा राम्रो हुन्छ । हरेक कुरामा राजनीति छिरायो भने राम्रो हुँदैन ।’

गठबन्धन दलभित्र अहिले न्यायालयमा देखिएको विवादबारे छलफल गरेर चाँडै निकास खोज्नुपर्ने उनले बताइन् । ‘यसको निरुपण संसदले गर्ने कि न्यायालयले भनेर छलफल हुनुपर्छ,’ उनले भनिन्, ‘यो समस्या यथास्थितिमा राख्दा ठूलो संकट आउँदैछ भनेर विज्ञहरु भनिरहेका छन् ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप