बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ला लिगा–रियल सोसिडाड फेरि शीर्ष स्थानमा

शुक्रबार, १२ कात्तिक २०७८, ११ : ४७
शुक्रबार, १२ कात्तिक २०७८

रियल सोसिडाड फेरि स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा सेल्टा भिगोलाई उसैको मैदानमा २–० गोलले हराउँदै सोसिडाडले पुनः शीर्ष स्थान कब्जा गरेको हो ।​ सोसिडाडलाई जिताउन अलेक्जेन्डर इसाक र आरिट्ज इलुस्टोन्डोले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा इसाकले ५४औं मिनेटमा खाता खोलेका थिए । ७९औं मिनेटमा इलुस्टोन्डोले माइकल मेरिनोको पासमा गोल गर्दै सोसिडाडको अग्रता दोब्बर बनाए ।

घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएको सेल्टा भिगोले गोल गर्न भने सकेन । ५७ प्रतिशल बल पोसेसन राखेको सेल्टा भिगोले १४ वटा पोस्ट प्रहार गरेको थियो । सेल्टा भिगोको लगातार प्रयासमा सोसिडाडका गोलरक्षक म्याथ्यु रायन बाधक बने । ४३ प्रतिशत बल पोसेसन राखेपनि सोसिडाड महत्वपूर्ण जित निकाल्न सफल भयो । सोसिडाडका गोलरक्षक म्याथ्यु रायन ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै सोसिडाडले २४ अंक बनाएको छ । ११ खेलमा सात जित, तीन बराबर र एक हार खेपेको सोसिडाडले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई तीन अंकले पछि पारेको छ । एक खेल कम खेलेको रियलको २१ अंक छ । सोसिडाडसँग पराजित सेल्टा भिगो १० अंक सहित १४औं स्थानमा छ ।

बिहीबार रातिनै भएको अर्को खेलमा साविक विजेता एट्लेटिको म्याड्रिड र लिभान्तेले २–२ तथा ग्रानाडा र गेटाफेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । बराबरीसँगै छैटौं स्थानमा उक्लिएको एट्लेटिकोले १० खेलबाट १९ अंक बनाएको छ । पराजित लिभान्ते रेलिगेसनको दबाबमा छ । १९औं स्थानमा रहेको लिभान्तेको ६ अंक छ । आठ अंक बनाएको ग्रानाडा १७औं स्थानमा छ । तीन अंकमा सिमित गेटाफे तालिकाको अन्तिममा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप