शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन पार्टीको महाधिवेशन मंसिरमा, एमाले र राप्रपाको जुध्यो

बिहीबार, ११ कात्तिक २०७८, २२ : ३५
बिहीबार, ११ कात्तिक २०७८

आगामी मंसिरमा तीन पार्टी नेपाली काँग्रेस नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन हुने भएको  छ ।  आज मात्रै काँग्रेस र राप्रपाले महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेका छन् भने एमालेले यसअघि नै महाधिवेशनको मिति तय गरिसकेको छ । 

काँग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्नेगरी बिहीबार संशोधित कार्यतालिका सार्वजनिक गरेको छ ।  काँग्रेस निर्वाचन समितिले बिहीबार आगामी मंसिर २४ देखि २६ गतेसम्म १४ औं महाधिवेशन गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।  

पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले कार्यतालिका ल्याएको हो । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए । सोही अनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याएको हो । यसअघि काँग्रेसले तीन पटक महाधिवेशन सारेको थियो । ​

काँग्रेसले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा कारण भदौ ७ देखि १० सम्मका लागि महाधिवेशन सारियो । तर, क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई कारण देखाएर फेरि भदौ १६ देखि १९ सम्म गर्ने निर्णय भयो ।

क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसकेपछि मंसिर ९ देखि १३ सम्म सारिएको थियो । उक्त मितिमा पनि महाधिवेशन हुन नसकेपछि काँग्रेसले नयाँ मिति तय गरेको हो । यसैगरी राप्रपाले पनि मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ । यो राप्रपाको एकताको महाधिवेशन हो । 

यसअघि पार्टीको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म गर्ने भनिएपनि तल्लो तहको अधिवेशन नै सम्पन्न हुन नसकेका कारण झण्डै दुई साता पर सार्ने निर्णय भएको हो । यसअघि पनि राप्रपाले पटक पटक महाधिवेशनको मिति सार्दै आएको थियो । 

बिहीबार पार्टीका त्रय अध्यक्षहरूको उपस्थितिमा बसेको पार्टीको केन्द्रीय बिशेष समितिको बैठकले महाधिवेशन मंसिर ११, १२ र १३ गते काठमाडौमा गर्ने निर्णय गरेको पार्टी केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए ।

बैठकले सक्रिय सदस्य बनाउने अवधि कार्तिक १५ गतेसम्म बढाउने निर्णय गरेको छ भने  केन्द्रीय निर्वाचन समितिले कार्तिक २६ भित्र सक्रिय सदस्यहरुको नामावली जिल्लाहरुमा पठाउने गरी निर्णय भएको छ ।  यसैगरी सक्रिय सदस्यको दावी विरोध कार्तिक २७, २८ र २९ गते गर्ने तथा अन्तिम नामावली कार्तिक ३० गते प्रकाशन गर्ने निर्णय भएको भद्राले जानकारी दिए । 

यसैगरी  जिल्ला अधिवेशन कार्तिक २३ भित्र तथा सातैवटै प्रदेशसभाबाट प्रदेश कार्य समितिको निर्वाचन कार्तिक २८ गते गर्ने निर्णय पनि बैठकले गरेको छ ।  यस्तै एमालेले पनि मंसिर १० देखि १२ गतेसम्म चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । आजै बसेको एमालेको बैठकले महाधिवेशन प्रतिनिधिको विषय पनि टुङ्ग्याएको छ ।

निर्णयअनुसार महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधिहरू सहभागी हुनेछन्  ।  ललितपुरमा बसेको स्थायी कमिटी बैठकले  १५३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनकाअनुसार हरेक निर्वाचन क्षेत्रबाट १५ सयजना पार्टी सदस्यबाट ३ जना प्रतिनिधि छनोट हुने छन् ।

भूगोल कमिटीहरूबाट कुल ११९६ जना प्रतिनिधि छानिने छन् । र, बाँकी गैर भूगोलबाट ३४० जना गरी कुल १५३६ प्रतिनिधि छानिने ज्ञवालीले जानकारी दिए । महाधिवेशनमा ५१ प्रतिशत समावेशी अनि ४९ प्रतिशत खुल्लाबाट प्रतिनिधित्व गर्ने र विधानत महिलाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।

 दलहरुले सार्वजनिक गरेको महाधिवेशनको मितिअनुसार एमाले र राप्रपाको मिति जुध्न पुगेको छ ।  यसैबीच अर्को प्रमुख पार्टी माओवादी केन्द्रले पुसमा राष्ट्रिय भेला आह्वान गरेको छ । माओवादीले पुस १३, १४ र १५ गतेका लागि भेला तय गरेको हो।  त्यसका लागि माओवादीले सांगठनिक लगायतका गतिविधिलाई तिव्रता दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप