शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद्को निर्णय : किसानलाई राहतदेखि बढुवासम्म

बिहीबार, ११ कात्तिक २०७८, २० : ४५
बिहीबार, ११ कात्तिक २०७८

सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने भएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठासम्म जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठादेखि ३ बिघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ बिघाभन्दा बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशतका दरले सरकारले न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागत बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको हो । त्यसको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाउने र कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

उनले भने – ‘हालैको बेमौसमी वर्षाबाट धान बालीमा भएको क्षतिको सम्बन्धमा कृषकलाई राहत उपलब्ध गराउने । पूर्ण रूपमा क्षति भएकाको हकमा साना किसान(बढीमा १० कठ्ठासम्म वा सो बराबर जग्गा भएको) लाई क्षतिको अधिकतम ६५ प्रतिशत, मध्यम किसान(१० कठ्ठादेखि ३ बिघासम्म वा सो बराबर जग्गा भएको)लाई क्षतिको अधिकतम ३० प्रतिशत र ठुला किसान(३ बिघा भन्दा बढी) र आंशिक क्षति भएकालाई अधिकतम २० प्रतिशतका दरले राहत स्वरूप नेपाल सरकारबाट न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागत बराबरको रकम उपलब्ध गराउने । सो को लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाउने र उक्त कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई स्वीकृतिका लागि पेस गर्ने ।’

बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखापरीक्षक पदमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ । त्यसै गरी भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, बेलायतका लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि नेपाली राजदूतमा प्रा.श्रीधर खत्रीलाई नियुक्तिको लागि सिफारिस गरेको प्रवक्ता कार्कीले बताए । त्यस्तै, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई भारत भ्रमणको स्वीकृति दिने, नेपाली सेनाका उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने, सुनकोसी मरिन डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिने लगायतको निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप