शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशनमा १५३६ प्रतिनिधि सहभागी हुने

तेस्रो धारका नेता भन्छन्– उल्टो भयो
बिहीबार, ११ कात्तिक २०७८, २२ : ३४
बिहीबार, ११ कात्तिक २०७८

नेकपा एमालेले आगामी मङ्सिरमा गर्न लागेको दसौँ राष्ट्रिय महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधिहरू सहभागी गराउने भएको छ । बिहीबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले  १५३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको हो ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार हरेक निर्वाचन क्षेत्रबाट १५ सयजना पार्टी सदस्यबाट ३ जना प्रतिनिधि छनोट हुने छन् । भूगोल कमिटीहरूबाट कुल ११९६ जना प्रतिनिधि छानिने छन् । र, बाँकी गैर भूगोलबाट ३४० जना गरी कुल १५३६ प्रतिनिधि छानिने ज्ञवालीले जानकारी दिए । महाधिवेशनमा ५१ प्रतिशत समावेशी अनि ४९ प्रतिशत खुल्लाबाट प्रतिनिधित्व गर्ने र विधानतः महिलाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।  

तेस्रो धारका नेता भन्छन्– उल्टो भयो

गत असोजमा ललितपुरको गोदावरीमा सम्पन्न एमाले विधान महाधिवेशनमा ६ हजार बढी प्रतिनिधित्व गराएको एमालेले नेतृत्व चयनजस्तो महत्त्वपूर्ण राष्ट्रिय महाधिवेशनमा लोकतान्त्रिक अभ्यासलाई खुम्च्याएर प्रतिनिधिहरूको सङ्ख्या ह्वात्तै घटाएको छ ।  प्रतिनिधिको सङ्ख्या घटाएर १५ सय सदस्य बराबर ३ जना प्रतिनिधि छान्ने स्थायी कमिटीको निर्णयप्रति तेस्रो घारका नेताहरूले भने असन्तुष्टि जनाएका छन् । 

‘यो त उल्टो बाटो भयो, हामी उल्टो बाटोतिर हिँडिरहेका छौँ,’ स्थायी कमिटीको बैठकपछि एक नेताले भने, ‘बिहान महाधिवेशनमा चाहिँ ६ हजार बढी सहभागी हुने, नेतृत्व छान्ने बेलामा चाहिँ १५ सय मात्रै प्रतिनिधित्व हुने यो लोकतन्त्रलाई सङ्कुचित पार्ने निर्णय हो ।’

यसैबीच बिहीबार बैठकमा चितवनमा हुने महाधिवेशनको व्यवस्थापकीय तयारीबारे नेता सुरेन्द्र पाण्डेले रिपोर्टिङ गरेका थिए । आगामी मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशन नारायणी किनारमा उद्घाटन गर्ने र सौराहामा समापन गर्ने पाण्डेले जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप