शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले अधिवेशन : पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत

बिहीबार, ११ कात्तिक २०७८, १९ : २३
बिहीबार, ११ कात्तिक २०७८

नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत चयन भएका छन् । मंगलबारदेखि पोखरा सभागृहमा जारी महानगर अधिवेशनमा नेतृत्वका लागि दाबी गरेका ५ जना आकांक्षीमध्ये चार जनाले मनोनयन फिर्ता लिएसँगै न्यौपाने सर्वसम्मत रूपमा अध्यक्ष चुनिएका हुन् ।

महानगरको निर्वाचनमा एमालेका प्रभावशाली नेता खगराज अधिकारी र पृथ्वी सुब्बा गुरुङले आफूनिकटकालाई नेतृत्वमा ल्याउन चाहेकाले अधिवेशन तीन दिनसम्म लम्बिएको थियो । तीन दिनदेखि नेतृत्व चयनका लागि पूर्व खेलकुद मन्त्री जगत विश्वकर्मा, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, खगराज अधिकारी, सांसदहरू र अन्य नेताले लगातार छलफल गरेका थिए ।

खगराज अधिकारीले अगाडि बढाएका न्यौपाने विद्यार्थी राजनीतिबाटै आएका युवा नेता भएकाले अधिकांश नेता कार्यकर्ताले उनको पक्षमा निरन्तर लबिङ गरेपछि अन्त्यमा पृथ्बीसुब्वाले अगाडि सारेका तेजनारायण अधिकारी र दीपक पौडेल पछि हट्न बाध्य भएका थिए । अध्यक्षमा न्यौपानेसहित तेजनारायण अधिकारी, दीपक पौडेल, धनबहादुर नेपाली र हरि त्रिपाठीले उम्मेदवारी दिएका थिए । न्यौपाने महानगर कमिटीका पूर्व सचिव हुन् ।

अध्यक्षमा चयन भए लगत्तै न्यौपानेले कम्युनिष्ट आन्दोलनलाई जोगाएर लैजाने चुनौती रहेको बताए । उनले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पूर्ति गर्नु एमालेको दायित्व रहेकाले त्यसलाई मध्यनजर गरेर आफू अगाडि बढ्ने बताए ।

त्यसैगरी महानगरको उपाध्यक्षमा राजकुमारी भुजेल निर्विरोध भएकी छन् । उमा परियार, बैनबहादुर गुरुङ, मोहन गुरुङ र सुस्मिता केसी भट्टराईले मनोनयन फिर्ता लिएपछि उनी निर्विरोध भएकी हुन् । त्यसैगरी सचिवमा जीवनप्रसाद आचार्य निर्विरोध भएका छन् । गोकर्ण अधिकारीले मनोनयन फिर्ता लिएपछि उनी सचिवमा निर्विरोध भएका हुन् । उपसचिवमा रामचन्द्र थापा र सीता विक चयन भएका छन् ।

उपसचिव पदका लागि भने १६ जनाको उम्मेदवारी परेको थियो । अन्यले मनोनयन फिर्ता लिएपछि थापा र विक निर्वाचित भएका हुन् । महानगर कमिटीमा भौगोलिक तर्फबाट सदस्यहरू ३३ जना निर्विरोध चयन भएका छन् । भौगोलिकतर्फ ३३ वडाका ४६ जनाको उम्मेदवारी परेको थियो । प्रत्येक वडाका १ जना सदस्य चयन हुने व्यवस्था विधानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप