शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक

महाधिवेशन मंसिर २४ देखि २६ सम्म गर्ने निर्णय
बिहीबार, ११ कात्तिक २०७८, १८ : ५४
बिहीबार, ११ कात्तिक २०७८

नेपाली काँग्रेस महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भएको छ । काँग्रेस निर्वाचन समितिले बिहीबार आगामी मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।  पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले कार्यतालिका ल्याएको हो । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए । सोही अनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याएको हो ।

 कात्तिक २१ गतेबाट कार्यतालिका प्रारम्भ हुने निर्वाचन समितिले जनाएको छ । सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन । यीमध्ये रसुवा बारा र रौतहटको  क्रियाशील सदस्यताको सूचीसमेत सार्वजनिक भएको छैन । उक्त जिल्लामा अधिवेशनको कार्यतालिका पनि बनाइएको छ ।

वडा अधिवेशन हुन नसकेका १३ जिल्ला मध्ये बाँकी ११ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन र  कात्तिक ३० गते पालिका अधिवेशन  हुनेछ । यस्तै मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन भएको जिल्ला अधिवेशन हुने छ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने छ ।

यस्तै हिमाली जिल्ला सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन कात्तिक २७ र जिल्ला अधिवेशन मंसिर एक गते हुने छ । यस्तै जिल्ला अधिवेशन हुन बाँकी जुम्लामा पनि मंसिर एक गते अधिवेशन हुने छ ।  पालिका अधिवेशन सम्पन्न भएका बाँकी ६४ वटा जिल्लामा मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रीय अधिवेशन हुने छ ।

यस्तै एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा मंसिर ६  र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशन हुनेछ । मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ । 

। 

यसअघि काँग्रेसले तीन पटक महाधिवेशन सारेको थियो । ​काँग्रेसले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा कारण भदौ ७ देखि १० सम्मका लागि महाधिवेशन सारियो । तर, क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई कारण देखाएर फेरि भदौ १६ देखि १९ सम्म गर्ने निर्णय भयो । क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसकेपछि मंसिर ९ देखि १३ सम्म सारिएको थियो । उक्त मितिमा पनि महाधिवेशन हुन नसकेपछि काँग्रेसले नयाँ मिति तय गरेको हो ।

यस्तो छ महाधिवेशन कार्यतालिका


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप