‘ओमानमा मेरा दुईवटा नाम छन्’
साढे चार वर्षअघि ओमानका लागि नेपाली राजदूत बनेर जाँदै गर्दा शर्मिला पराजुली ढकालसँग डाक्टरको उपाधि थिएन । नेपालबाट अंग्रेजीमा स्नातकोत्तर गरेर दुबईबाट बिजनेसमा मास्टर्स सकेकी उनले राजदूत बनेकै बेला नेपाल संस्कृत विश्वविद्यालयबाट पीएचडी पूरा गरिन् । अहिले उनी डा. शर्मिला बनेकी छिन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले एक दर्जन राजदूतहरुलाई फिर्ता बोलाउँदा अहिले शर्मिला पनि ओमानबाट नेपाल फर्केकी छिन् ।
शर्मिला कूटनीतिक क्षेत्रबाट राजदूत बनेकी होइनन् । राजदूतका रुपमा नाम आउँदा उनीमाथि विभिन्न आशंका र आरोपहरु समेत थिए । अमूक दलको कोटाबाट राजदूत बनेको उनीमाथि आरोप लाग्यो । मेनपावर व्यवसायसँग नजिक रहेको चर्चा पनि चल्यो । अनुभव नभएको व्यक्तिलाई राजदूत बनाएर पठाएको आरोप लाग्यो । राजेन्द्र महतोको पार्टीको कोटाबाट राजदूत बनेको आरोप पनि शर्मिलाले खेपिन् ।
साढे चार वर्षसम्म ओमानमा राजदूत बनेर काम गर्दा शर्मिला अहिले एकदमै खुशी देखिएकी छिन् । आफूले नेपालको नाम उँचो बनाएर फर्किएको उनी बताउँछिन् । साढे चार वर्षे कार्यकालको अनुभव सुनाउँदै शर्मिलाले रातोपाटीसँग भनिन्, ‘कतिले मलाई चिन्नुहुन्नथ्यो । राजदूतको गरिमा पनि ठूलो हुन्छ, त्यसैले यो मेरो व्यक्तिगत कारण आएको होइन भनेर बुझें । शर्मिलाले कस्तो काम गर्छे भनेर पनि निकै कमलाई थाहा थियो । म त्यो दिन पनि आक्रोशित थिइँन, म अहिले पनि छैन । आक्रोश लिएकी भए म आफैं जलेर खरानी हुन्थें ।’
शर्मिलाले रातोपाटीसँग भनिन्, ‘ढुंगामा फूल फुलाउने मान्छे हुँ म । त्यो देखिहाल्नुभयो सबैजनाले । नेपालको न्युज ओमानका पत्रिकामा यति धेरै आउने कि नेपालीहरु त गर्व गरेर रुनुहुन्थ्यो खुशीले । तपाई आउनुअघि काम गर्ने ठाउँमा हामी नेपालीलाई कस्तो हेप्थे, अहिले त तपाई देशको राजदूतको अन्तर्वार्ता आएको छ भन्छन् रे ।’
गैरकूटनीतिक क्षेत्रबाट राजदूत बनेकी शर्मिलासँग रातोपाटीले उनले सँगालेको अनुभव, ओमान दूताबासले गरेका कामहरु र खाडी क्षेत्रका नेपाली राजदूतहरुले खेल्नुपर्ने भूमिका लगायतका विषयमा कुराकानी गरेको छ ।
तपाईं कति समय ओमानका लागि नेपालको राजदूत हुनुभयो ? र, योबीचमा कतिपटक नेपालमा सरकारहरु फेरिए ?
४ वर्ष ७ महिना । योबीचमा चारवटा सरकार फेरिए । म राजदूत हुँदा प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसको केही महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवालाई ओमानको भ्रमण नै गराएँ । चुनावपछि केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो । अहिले म फिर्ता आउने बेलामा फेरि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो ।
साढे चार वर्ष राजदूत हुँदा के–के गर्नुभयो ?
ओमानमा पहिलो राजदूत भएर जान पाएँ, यो आफैंमा एउटा गर्वको कुरा थियो । पहिलो राजदूत भएका कारणले प्रशासनिक सुधार गर्ने, अफिस विस्तार गर्ने, राजदूतको निवासदेखि लिएर विभिन्न कूटनीतिक गतिविधि, सुरुवातका कुराहरु गर्नुपर्ने नै भयो । म २०१७ मेमा गएकी थिएँ, सेप्टेम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवा चारदिने अफिसियल भ्रमणमा आउनुभयो । ४० जना प्रतिनिधिमण्डल जानुभएको थियो । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रममन्त्री, महिला तथा बालबालिका मन्त्रीसमेत जानुभएको थियो ।
त्यहाँ धेरै राम्रो उच्चस्तरीय भ्रमण भयो । ओमानको क्याबिनेटका ९ जना मन्त्रीहरुसहित प्रधानमन्त्रीले विमानस्थलमा प्लेनसम्मै गएर हाम्रा प्रधानमन्त्रीज्यूलाई रिसिभ गरेर गार्ड अफ अनर दिनुभयो । त्यसपछि अफिसियल ब्याङकेटको व्यवस्था गर्नुभएको थियो । त्यो धेरै राम्रो र भव्य भ्रमण भयो । त्यसको एक हप्तासम्म त त्यहाँका सबै पत्रपत्रिकामा नेपाल हेडलाइन न्युज बनेको थियो । सबैतिर हामी थियौं । त्यो एक प्रकारले निकै ठूलो उपलब्धि भयो । यो घटनापछि त्यहाँका मन्त्री, सरकारी अधिकारी र कूटनीतिज्ञहरुसँग हाम्रो सम्बन्ध विकसित भयो । त्यो भ्रमण निकै छिटो गर्नुपर्ने थियो । किनभने, प्रधानमन्त्री देउवा न्युयोर्क जाने कार्यक्रम थियो ।
त्यसबेला कुन सन्दर्भमा प्रधानमन्त्री देउवाले ओमानको भ्रमण गर्नुभएको थियो ?
हाम्रा खाडी क्षेत्रका राजदूतहरुको सम्मेलन गर्ने कुरा चलिरहेको रहेछ । अन्तबाट अलि ढिलो रेस्पोन्स आएको थाहा पाएपछि मैले नै पहल गरौं कि भनेर परराष्ट्र मन्त्रालयमा सोधेँ । तपाई भर्खर जानुभएको छ, सक्नुहुन्छ र ? भन्ने जवाफ आयो । मैले गर्नुस् भन्नुस्, म गर्छु भनें ।
अर्को कुरा, त्यहाँका तत्कालीन सुल्तानलाई सञ्चो थिएन । (जसको अहिले देहान्त भइसकेको छ र अहिले नयाँ सुल्तान छन् ।) उहाँ धेरै बिरामी भएकाले उच्च तहको भ्रमण नै भएको थिएन ओमानमा । नरेन्द्र मोदीको पनि हाम्रा प्रधानमन्त्रीले भिजिट गरेको डेढ वर्षपछि मात्रै भ्रमण भयो । धेरै भ्रमणहरु रोकिएको अवस्था थियो । धेरै गाह्रो अवस्था थियो ।
त्यो अवस्थामा पनि नेपालबाट प्रधानमन्त्री आउने भनेपछि मैले निकै छिटो रेस्पोन्स लिने वातावरण बनाएर काम गरें । उहाँहरुले पोजेटिभ रेस्पोन्स दिनुभयो । त्यसको अहिले पनि ओमानमा कुरा हुन्छ । त्यसपछि त काम नै काम भयो । मैले दुईपक्षीय कल्सल्टेसन मेकानिज्म सम्झौतामा हस्ताक्षर गरें । मस्कटमा मध्यपूर्वका क्षेत्रका नेपाली राजदूतहरुलाई बोलाइयो । उहाँहरु सबै त्यहाँ आउनुभयो । दक्षिण अफ्रिका, इजरायल र पाकिस्तानका नेपाली राजदूतहरु पनि आउनुभएको थियो ।
लाखौं नेपाली युवा खाडी देशमा रोजगारी गर्छन् । खाडी क्षेत्रमा कार्यरत नेपालीका समस्या समाधान गर्न ती देशमा कार्यरत नेपाली राजदूतहरुको कुनै नेटवर्क पनि बनेको छ ?
जब कोभिड सुरु भयो, त्यसपछि उस्तै–उस्तैखालका समस्या खाडी मुलुकमा आए । मैले आफ्नै पहलमा राजदूतहरुको भर्चुअल मिटिङ बोलाएँ । हामी सबै बसेर कसरी समस्या समाधान गर्ने भनेर कुराकानी गर्ने गरेका थियौं । विदेशमा रहेका नेपालीहरुलाई कसरी फिर्ता गर्ने भन्नेमा अन्योल पनि थियो ।
त्यो अन्योल हुनुको कारण, कति मान्छे खासमा त्यहाँ छन् भन्ने वास्तविक डाटा नभएकाले थियो । त्यहाँ बसेका हामी राजदूतहरुले त्यहाँको समस्या र यकिन डाटा सरकारलाई दिन सक्ने हो भने सरकारलाई पनि प्लान गर्न सजिलो हुन्थ्यो । यसमा मैले अलिकति ग्याप देखिरहेकी थिएँ । त्यही भएर हामी राजदूतहरु बसेर साझा रुपमा एउटा रिपोर्ट बनाएर त्यसलाई हाम्रो परराष्ट्र मन्त्रालयका सचिवज्यूलाई बुझायौं ।
परराष्ट्र मन्त्रालयबाट पनि एक–दुईचोटि हामी सबै सरोकारवालाहरुलाई राखेर बैठक गर्नुभएको थियो । त्यो सबैका बाबजुद प्रतिवेदन दिएपछि काम निकै छिटो अघि बढ्यो । पर्सनल र प्रोफेसनलरुपमा मैले त्यतिबेला भ्वाइस दिएको हो । किनभने, भ्वाइस सुन्ने गरी दिनुपर्छ । हाम्रो दायित्व पनि हो, कूटनीतिक निकायमा बसेपछि । त्यही भएर धेरै विचार गरेर, सक्रिय रुपमा सहभागी भएर काम गरेको हो ।
पहिलोचोटि चार्टर्ड फ्लाइट पठाउने पनि देखिहाल्नुभयो, हामी (ओमान दूतावास) नै पहिलो थियौं । हामीले हरेक व्यक्तिलाई पीसीआर नगरी पठाएनौँ । त्यतिबेला पीसीआर गर्न नै सजिलो कहाँ थियो र । कोभिडका बेला गाह्रो गरी हामीले काम गर्यौं । ओमान लगभग नेपालभन्दा दोब्बर भूभाग छ । ठाउँ–ठाउँबाट मानिसहरुलाई ल्याएर, ह्वाट्सएप ग्रुप क्रिएट गरेर, कोअर्डिनेशन गरेर, खटेर, हरेक नेपाली घरमा पुगेपछि मात्रै ह्वाट्सएप ग्रुपबाट हटाएका छौं ।
हामीले ७ वटा रेक्स्यु फ्लाइट अर्गनाइज्ड गर्यौँ । भाडा सहज थिएन, त्यही कारण धेरै नेपालीहरुले महंगो भाडा पनि तिर्नुपर्यो । सरकारले मलाई पठाएकै नेपालीको रक्षाका निम्ति हो । मैले त कसरी त्यहाँ बसेका नेपालीहरुलाई सुख दिने भनेर हेर्ने हो भन्ने सोचेर काम गरें ।
तपाईले खाडी मुलुकमा नेपाली कति छन् भन्ने डाटाको समस्या औंल्याउनुभयो । ओमानको हकमा चाहिँ त्यहाँ कार्यरत नेपालीहरुको डाटा कस्तो थियो ? कति नेपालीहरु कार्यरत छन् ओमानमा ? उनीहरुसँग दूतावासको सम्बन्ध कस्तो रह्यो ?
हामीले दूतावासमार्फत कोभिडको भोलेन्टियर ग्रुप क्रिएट गरेका थियौं । हरेक काममा कम्युनिटीलाई संलग्न गराएकी छु । समुदाय र दूताबास नङ–मासुजस्तो भएर बसेका छौं । किनभने, ग्याप हुनुहुँदैन । दूतावासले समुदायसँग मिलेर काम गर्दा दुईवटा कुरा फाइदा हुन्छन् । एउटा : नजिकिएर उनीहरुको समस्या के हो भनेर थाहा पाइन्छ । दोस्रो : दूतावासको स्रोत र जनशक्ति कम हुँदा नेपालीहरु नै सहयोग गर्न आउनुहुन्छ । उहाँहरुको इन्ट्रेस्ट पनि नेपालीलाई सहयोग गर्ने र हाम्रो पनि त्यही भएपछि झन् राम्रो सम्बन्ध विकास हुनेरहेछ । अहिले मैले फर्कने बेलामा देखेँ नि त ।
ओमानमा काम गर्ने हरेक श्रमिकलाई राम्रो सम्मान छ । हामीले कहिल्यै विभेद गरेनौं । कुनै पनि व्यक्तिलाई विभेद गरेनौं । कुनै पनि व्यक्तिको गुनासो आएन । म आउँदासम्म एउटा पनि नेपालीको शव अस्पतालमा थिएन । एउटा पनि मान्छे, जेलमा लामो सजाय भोगेर पर्नुभएको छैन । हामीले सबै क्लियर गर्यौँ ।
एकजनाको सडक दुर्घटनाको केस थियो । ‘हिट एन्ड रन’ केस थियो । गाडीले हानेर भागेको । चालक पत्तै लागेन । फाइल क्लोज हुन लाग्दा पनि पत्तै लागेन । त्यसपछि जसले इन्सुरेन्सहरुको नियमन गर्नुहुन्छ, त्यहाँको अध्यक्षलाई भेट्न गयौं । नेपालीको मृत्यु भएको छ, परिवार कुरेर बसेको छ ।
एक हप्ताजति मैले आफैं अध्ययन गरें । नेपालमा पनि सम्पर्क गरें । त्यसपछि त्यहाँ गएर कुराकानी गरें, सम्बन्ध बनाएँ । हिँड्ने बेलामा एउटा नेपालीको मृत्यु भएको छ, तपाईंहरुको सहयोग गर्ने केही सोच छ भने सहयोग गर्नुप¥यो भनेपछि, उहाँले हामी छौं भन्नुभयो । मैले सरकारी निकायमा पनि कुरा गरें, टेक्निकल कुरा पनि सबै गरें । टेक्निकल कुरामा म गएँ ।
मैले भनेपछि यही प्रक्रियाबाट त्यहाँबाट १५ हजार ओमानी रियाल मृतकको परिवारले पाउनुभयो । अर्को पनि इन्सुरेन्स कम्पनी रहेछ, त्यस कम्पनीको मान्छेलाई पनि बोलाएर कुरा ग¥यौं । उहाँलाई कन्भिन्स ग¥यौं । चिया–कफी खुवायौं । त्यो कम्पनीले पनि दूतावासको पहलपछि ५ हजार रियाल दिएछ । हाम्रो पहल नभएको भए यस्तो सम्भव नै थिएन । यो एउटा उदाहरण मात्रै हो । यस्ता धेरै काम राजदूतले गर्नुपर्छ । कतिपय काम त भन्न पनि मिल्दैन । नेपाललाई ओमानमा तपाईले स्थापित नै गर्नुभयो भनेर अस्ति पनि त्यहाँका परराष्ट्रमन्त्रीजीले भन्नुभयो ।
ओमानमा मेरा दुईवटा नाम छन् : एउटा पिपुल्स एम्बेसडर । अर्को, एक्टिभ एम्बेसडर । मलाई त्यहाँ नेपालीले त बिदाइ गरे–गरे, भारतीय तीनवटा समुदायले पनि बिदाइ पार्टी दिए । ‘नारीरत्न’ अवार्ड दिए उनीहरुले । ओमानमा ८ लाख भारतीय छन्, नेपालीहरु २० हजार छन् ।
उसोभए तपाईंसँग नेपाली मात्रै होइन, भारतीय पनि खुशी भए ?
उनीहरुले धेरै सहयोग पाए । त्यहाँका अन्य देशका राजदूतहरुले पनि मेरो तारिफ गर्नुभयो । नेपालको प्रतिनिधित्व गरिरहेकी छु, त्यतिबेला इज्जत पाएको देख्दा मलाई पनि निकै खुसी लाग्छ । किनकि, त्यो शर्मिला पराजुली नभएर नेपालले पाएको इज्जत हो । मलाई देखेर नेपाल कस्तो रहेछ भन्ने उहाँहरुलाई थाहा भयो ।
हामीले अन्य देशका राजदूतहरुलाई बोलाउने, कहिले यो ग्रुप, त्यो ग्रुपसँग अन्तक्रिया गरिरहने । कार्यक्रमहरु गर्ने आदि गर्यौं । मस्कट फेस्टिभल भन्ने कार्यक्रम थियो, २४ दिनसम्म त त्यहाँ स्टल राखेका थियौं । दिनभर कर्मचारी र अधिकारीहरुले दूतावासमा काम गर्ने, रातभर स्टलमा गएर बस्ने । कति गाह्रो भयो होला । कम्युनिटीबाट अनुरोध गरेर ५ जना भोलेन्टियर लिएका थियौं । ती भोलेन्टियर र स्टाफहरुका कारण काम गर्न सजिलो भयो । त्यसको समापन पनि निकै राम्ररी गर्यौं । अरु दूतावासहरुले पनि स्टल भिजिट गर्नुभयो । नेपालको त सबैभन्दा राम्रो स्टल रहेछ भन्नुभयो ।
ओमान र नेपालको सम्बन्ध सेतु के रहेछ ? श्रम गन्तव्य कि अरु पनि ?
अहिले त दुई देशको सम्बन्ध साह्रै राम्रो भयो र सबै क्षेत्रतिर गयो । पहिले हामी श्रमिक पठाउने र उनीहरु श्रमिक लिने मात्र थियो । म गैसकेपछि छवि परिवर्तन भएको छ । हामीले साहित्यमा काम गरेनौं कि । खेलकुदमा काम गरेनौं कि । कूटनीतिमा काम गरेनौं कि । यहाँ (काठमाडौंमा) दोस्रो लगानी सम्मेलन गरेका थियौं, ओमान सरकारको लगानी बोर्डका अध्यक्षलाई ल्याएर सम्मेलन गरेनौं कि । त्यसपछि डेभलपिङ डिप्लोमेसीको काम गरेनौं कि । हेल्थ डिप्लोमेसीको काम गरेनौं कि । कुन चाहिँ एरिया हामीले छोएनौं ? टप–टप ओमानका महिलाहरुलाई बोलायौं । शाही परिवारका महिलाहरुलाई बोलाएर कार्यक्रम गर्यौं । त्यहाँका महिला राजदूतसहित २ सय महिलालाई बोलाएर हामीले २०१८ मा भव्य कार्यक्रम गर्यौँ ।
कोभिडअघि यस्ता कामहरु गरेपछि नेपालको न्युज त्यहाँका पत्रिकामा यति धेरै आउने कि नेपालीहरु त गर्व गरेर रुनुहुन्थ्यो खुशीले । तपाई आउनुअघि काम गर्ने ठाउँमा हामी नेपालीलाई कस्तो हेप्थे, अहिले त राजदूत कस्तो स्मार्ट भन्छन् रे ! तपाईको राजदूतको अन्तर्वार्ता आएको छ, हेर्नुस् भन्छन् रे । त्यसै यस्तो भन्दैनन् ।
मैले भन्नैपर्दैन, आउनेबेलामा उहाँहरुको आँखामा छल्किएको पानीले बताउँछ । म एकदमै खुसी किन छु भने मैले आफ्नो कार्यकालमा निकै आनन्दपूर्वक समय बिताएँ । मलाई पठाउने देशले पनि सधैं मलाई देखेर गर्व ग¥यो, परराष्ट्र मन्त्रालयबाट पनि मैले सधैं सहयोग पाएँ ।
एउटा राजदूतले चाहने हो भने खाडी मुलुकमा कति काम गर्न सक्दोरहेछ ?
मान्छे भन्छन्, नि यस्तो–उस्तो समस्या छ भनेर । त्यस्तो होइन । आफूलाई काम गर्न मन छ भने आफैं गर्नुपर्छ । कतिपय कामहरु त नयाँ नयाँ पनि भए । कहिल्यै नभएको नेपालको म्युजियमको पहिलो सम्झौता नै ओमानसँग छ । जमिन नै हेर्नुस् न, मैले दूतावासका लागि घर किनेको भए कति समय लाग्थ्यो ? त्यही क्याबिनेट डिसिजन होइन ? मैले नमूना बनाउनुपर्छ है भनें । बाटो गाह्रो छ तर हिँड्नुपर्छ भनेर प्रतिवद्ध भएर लाग्यौं ।
सन् २०१३ मा ओमानमा नेपालको कूटनीतिक कार्यालय स्थापना भएको । २०१७ मा म पहिलो राजदूत भएँ । पहिलो राजदूत भएपछि, त्यहाँ गएपछि ओहो सबैभन्दा ढिलो आउने राजदूतावास र सबैभन्दा धेरै सेवा पाउने दूतावास जस्तो भयो । उहाँहरुको जमिन त सकिइसकेको थियो । चीनको, अमेरिकाको, भारतको, कूटनीतिक क्षेत्रमा दूतावास भवन छ, हाम्रो चाहिँ थिएन ।
म नेपाली हुँदा सधैं गर्व गर्छु । हामीसँग के छैन, स्रोत साधन छैन कि ? सबै कुरा छ । राजनीतिको कुरा गर्नुहुन्छ भने भर्खरै परिवर्तन सुरु भएको हो । राजनीतिको कुरा गर्नुहुन्छ भने भर्खरै परिवर्तन सुरु भएको हो, रातारात परिवर्तनको कल्पना गरेर पनि हुन्न । आफ्नो जिम्मेवारी मात्रै पूरा गरे पुग्छ । यसले गरेन, उसले गरेन होइन । आफ्नो उपस्थितिलाई आफैंले न्याय गर्नुप¥यो । ड्युटी गरे पुग्यो ।
के तपाईले आफ्नो कार्यकालमा ओमानमा नेपाली दूतावासका लागि जमीनको प्रवन्ध गर्नुभयो ?
त्यहाँ ३५ वर्षअघि बस्ने देशहरुले जमिन पाएका छन् । त्यो पनि दिएको जमिन होइन, उताकै देशबाट पाएका । मैले म अब भवन बनाउँछु भनेपछि, नेपालमा कुराकानी गरें, त्यसपछि त्यहाँको सरकारसँग कुराकानी गरें । र, पनि जमिन नै थिएन । उहाँहरुले कति कुराकानी गर्नुभयो । मैले कुरै नसुनी अब म प्रतिक्षा गर्न सक्दिनँ भनेपछि । अहिले आएर भारतीय र अमेरिकी दूतावासको नजिकै जग्गा पाइयो । पछि आउने देशहरु कहाँ–कहाँ पछाडि पुगेका छन्, हामीले त आइकोनिक जमिन पायौं । यो भनेको ओमानले हामीलाई कसरी हेर्छ भन्ने हो ।
अहिले भवन निर्माणका लागि डिजाइनिङ हुँदैछ । निर्माणको प्रोसेसमा गइसक्यो । ४ हजार १ सय वर्ग स्क्वायर मिटर जमिन लिएका छौं । त्यो जमिन हाम्रो भएको २ वर्ष भयो । बनाउनका लागि यो पटक परराष्ट्रलाई राम्रै बजेट परेको छ । अब जाने राजदूतलाई घर बनाउनका लागि तयारी अवस्था छ ।
अर्को एउटा महत्वपूर्ण उपलब्धि पनि मैले सुनाउनैपर्छ, मेरो कार्यकालमा डिप्लोम्याटिक र अफिसियल पासपोर्ट होल्डरहरुलाई ओमान जाँदा भिसा नचाहिने र त्यसैगरी ओमानबाट अफिसियल पासपोर्ट होल्डरहरु आउँदा भिसा नचाहिने सम्झौता भएको छ । यो सम्झौता व्यवहारमा लागूसमेत भइसकेको छ । अब ई–पासपोर्टको काम पनि ओमान दूतावासबाटै जारी गर्ने गृहकार्य अघि बढिसकेको छ, जुन खाडी मुलुकमा पहिलो हुनेछ । यसको तयारीका लागि ओमान गएको नेपालको सरकारी टोलीले सम्झौता अनुसार बिना भिसा भ्रमण गरेको छ ।
तपाईंको पृष्ठभूमि कूटनीतिक थिएन । राजदूत हुँदै गर्दा पहिलो अनुभव थियो । कस्तो महसुस भयो ? राजदूत हुन परराष्ट्र मन्त्रालयकै ठूला अधिकारीहरु र ठूला नेताहरु जाँदा ठीक हुने रहेछ कि कूटनीतिक क्षेत्रभन्दा बाहिरको मान्छे पठाउँदा राम्रो हुँदोरहेछ ?
डायनामिक र देशलाई माया गर्ने मान्छे राजदूत हुनुपर्छ । मल्टी टास्किङ गर्न सक्ने क्वालिटी हुनुपर्छ । धेरै कुरा एकैचोटि गर्नुपर्छ । हामी डाइनामिक छैनौं, मल्टी टास्किङ छैनौं, फ्लेक्जिबल छैनौं र डाउन टु अर्थ छैनौं भने । यो पोजिसन फिट हुँदैन । तदर्थवादले डिप्लोम्याट बनाउँदैन ।
मलाई त कति धेरै गर्व लाग्थ्यो, नेपालको प्रतिनिधि हुन पाउँदा । मैले बदलामा त्यही पाएँ । मैले आफूलाई जस्तो देख्छु, अरुले पनि त त्यही देख्ने हो । मैले आफूलाई सानो देखेको भए अरुले पनि त त्यही देख्थें नि । मान्छेमा मानवीय गुण हुन्छ । जेनेटिक, वातावरणीय गुण हुन्छ । मलाई बच्चैदेखि अलिकति नेतृत्वकला विकास भएको थियो । हामी अलि कूटनीतिक तरिकाकै मान्छे हौं, टाइटल चाहिँ थिएन । तर, सामान्य गर्नुपर्ने जीवनका कुराहरु, हामीलाई के गर्नुपर्छ भन्ने थाहा थियो ।
खासमा तपाईं कसरी राजदूत हुनुभयो ? कसको सिफारिसमा हुनुभयो ? मिडियामा राजेन्द्र महतोले सिफारिस गर्नुभयो भन्ने पनि आयो । कोटाका कुराहरु पनि आए.....
म दुबईमै पढिरहेकी थिएँ । त्यतिखेर बिजनेसमा मास्टर्स सकिएको थियो । त्यसअघि यहीँबाट अंग्रेजी साहित्यमा मास्टर्स गरेर बसेकी थिएँ । त्योबेला सन् २०१५ मा जब संविधान बन्यो, त्यतिबेला मैले पनि आम नेपालीझैं नेपाललाई कसरी समृद्ध बनाउने भनेर सोचेकी थिएँ । यति धेरै स्रोत साधन भएका देशहरु छन्, उनीहरुसँग राम्रो सम्बन्ध कसरी राख्ने ? त्यसका लागि उनीहरुको विदेश नीति पढियो भने हाम्रो देशमा पनि धेरै विकसित हुन्थ्यो । आर्थिक विकास हुन्थ्यो । त्यसैले इकोनोमिक डिप्लोम्यासी विकसित गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो ।
राजदूतको ५०–५० सिस्टम रहेछ । त्यही भएर उहाँहरुले पिक गर्नुभयो, म त्यही भन्छु । प्रस्ताव आएपछि श्रीमान् र आमासँग छलफल गरें । देशका लागि केही गर्ने नै हो, गर्नुपर्छ भनेर हौसला दिनुभयो । त्यसपछि हुन्छ भनेर लागेँ ।
म राजदूत मात्रै नभएर अन्य पदका लागि पनि तयार थिएँ । मन्त्रीका लागि पनि तयार थिएँ । राजनीति गर्नका लागि पार्टी थिएन, तर केही गर्न मन थियो । म धेरै नै सामाजिक थिएँ । त्यसपछि यो एउटा अवसर पनि आयो ।
कसै न कसैमार्फत एप्रोच त गर्नुभयो होला ?
मैले एप्रोच गर्नुपरेन, मलाई नै प्रस्ताव आयो । हामीलाई तपाईंजस्तै मानिस चाहिएको छ भनेपछि मलाई त मन्त्री नै बनाउन लागे कि भन्ने लागेको थियो । त्यसका लागि मैले आफूलाई तयार राखेकी थिएँ । अवसर सधैं आउन सक्छ, तयार चैं हामी हुनुपर्छ । अवसर भनेको राजदूतकै मात्र भनेको होइन, देशका लागि केही गर्ने, जनताका लागि काम गर्ने हरेक अवसर आउन सक्छ ।
देशमा कस्तो गरिबी छ हेर्नुस् न, हरेक क्षेत्रमा काम गर्न जरुरी छ । कूटनीतिक क्षेत्र मात्र होइन, देशमा धेरै त्यस्ता क्षेत्र छन्, जहाँ काम गर्न जरुरी छ । दुःख लाग्छ नि कहिलेकाँही । त्यो भोक ममा पनि थियो । तर, मैले कूटनीतिक माध्यमबाट देशको प्रतिनिधित्व गर्न पाएँ । आज मलाई धेरै कुराहरु थाहा छ ।
तपाईंले कूटनीतिकरुपमै जवाफ दिनुभयो । तर, हामीले जान्न खोजेको चाहिँ कुन पार्टीको कोटाबाट तपाई राजदूत बन्नुभएको थियो भन्ने हो....
मेरो समयमा चारजना प्रधानमन्त्री हुनुभयो । मेरो कार्यकाल पूरा भएर पनि थपिएको हो । चारजना नै प्रधानमन्त्री मेरो कार्यकालमा खुसी हुनुहुन्थ्यो । कसले भनौं ?
तपाईं कोटाबाट राजदूत हुनुभएको होइन त ?
उहाँहरुले साझा जस्तै गर्नुभएको हो । एउटा शर्मिला भन्ने राम्रो मान्छे छ, उहाँ क्षमतावान् हुनुहुन्छ भनेरै प्रस्ताव गर्नुभएको हो । त्यहाँ हुँदा पनि म पिपुल्स एम्बेसडर थिएँ । मैले कुनै दलको पक्षपोषण पनि गरिनँ । अहिले पनि कोही म यो पार्टीको भनेर भन्न आउँदैन । अहिले त पार्टी नभएर पो अप्ठ्यारो भइसक्यो । पार्टी चाहिने रहेछ, जे गर्न पनि । मलाई कसैले पनि तपाई क्षमतावान् हुनुहुन्छ, आउनुस् भन्दैनन् ।
आखिर शेरबहादुर देउवालाई पनि थाहा रहेछ कि तपाई क्षमतावान् हुनुहुन्छ, राम्रो काम गर्नुभएको छ । उहाँले ओमानको भ्रमण नै गर्नुभएको रहेछ । तर, तपाईंलाई किन फिर्ता बोलाउनुभयो ?
उहाँले यही भन्नुभएको थियो, तपाईले नेपाललाई दिलाउनुभएको सम्मान म कहिल्यै बिर्सन्नँ । तर, एउटा राजदूतको समय भनेको ४ वर्ष राम्रो समय हो । यति समय निकै राम्रो कार्यकाल हो । म पूर्ण ४ वर्ष कार्यकाल पूरा गरेर फेरि केही समय थपिएर फर्कन पाएँ । म त्यो भाग्यमानी मध्येकी एक हुँ । मलाई यसमा गुनासो छैन । म त यति धेरै खुसी भएँ, एक महिनामा आउनू भन्नुभएको थियो, २० दिनमै खुसी भएर नेपाल आएँ ।
सरकारले फिर्ता बोलाएकोमा गुनासो गर्ने पूर्वराजदूतहरू पनि हुनुहुन्छ होला नि ?
हुनुहुन्छ होला । मलाई फोन गर्नेहरुले एकदम खुसी लाग्यो, तपाईले तपाईको सक्सेस स्टोरी सुनाउनुपर्छ, तपाई कसरी चारजना प्रधानमन्त्री हुँदा पनि रहनुभयो र आफ्नो कार्यकाल कसरी सफल बनाउनुभयो, त्यो स्टोरी सुनाउनुपर्छ भन्नुभएको छ । भोलि (शुक्रबार) एउटा संस्थाले कार्यक्रमसमेत राखेको छ ।
अब फेरि यसैगरी राजदूतकै रुपमा काम गर्ने सोच राख्नुभएको छ कि ? यसबारे लविङ पनि गर्नुभएको छ ?
म अहिले निकै गम्भीर भएकी छु । बुझेपछिको गम्भीरता हो यो । धेरै क्षेत्रमा काम गर्नुपर्छ, मैले भनिहालें । यदि मेरो क्षमता सरकारलाई चाहिएको छ र आवश्यक पर्यो भन्नुभयो भने म त्यहाँ हुनेछु । राजदूत नै हुनका लागि त म एकपटक भइ नै हालें । यदि योग्यता र क्षमता छ भने कुन ठाउँमा शर्मिलाजस्तो राजदूत चाहिएको छ भनेर सोच्नुपर्यो । नचाहिएको पनि हुन सक्छ । तर, मेरो कुरा गर्नुहुन्छ भने जति पनि मेरा अनुभवहरु समेटेकी छु, मेरो पार्टी र राजनीतिको अनुभव छैन । तर, मसँग धेरै नेपालीहरुको श्रद्धा र प्रेम म फर्केर आउँदा बोकेर आएकी छु । म खुसी पनि छु । यो स्टेप नै मेरो जीवनको टर्निङ प्वाइन्ट हुन सक्छ ।
यो देशलाई कसरी आर्थिक संकटबाट निकाल्ने ? मलाई समस्या पनि थाहा छ । समाधान पनि थाहा छ । त्यही भएर खाली त म पक्कै बस्दिनँ । सरकारले यत्रो ठूलो जिम्मेवारी दिएर पठाएको थियो, म कार्यकाल सकेर आएँ । म उहाँहरुलाई धन्यवाद पनि दिन चाहन्छु । आगामी दिनमा पनि, अरु मानिसहरु पनि हुनुहुन्छ, उहाँहरुलाई पठाए हुन्छ, मै जानुपर्छ भन्ने छैन । ढुंगामा फूल फुलाउने मान्छे त हुँ म । त्यो देखिहाल्नुभयो सबैजनाले । म चैं के भन्छु भने नागरिकको क्षमतालाई देशले प्रयोग गर्नुपर्छ । नागरिकको क्षमता चिनेर सरकारले सही ठाउँमा राख्नुपर्छ भन्ने मेरो कुरा हो ।
तपाईंको चार वर्षे अनुभवका आधारमा भन्नुपर्दा हाम्रा राजदूतावास र कूटनीतिक क्षेत्रका समस्याचाहिँ के रहेछन् ? विशेष गरी खाडी मुलुकमा हामीले गर्नुपर्ने, राजदूतले गर्नुपर्ने काम के रहेछन् ?
हरेक समस्यालाई राजदूतहरुले आफैं हेर्नुपर्छ । टिम बनाएर हुन्छ कि कसरी हुन्छ । राजदूतहरु मलाई के लाग्छ भने मैले अघि पनि भनें, डाइनामिक हुनुपर्छ ।
तर, पुरानो मान्छेलाई सम्मानस्वरुप वा पार्टीमा योगदान गर्नुभएको छ भनेर राजदूत बनाउने चलन छ नि ?
त्यो त समय खेर फाल्नुमात्रै हो । आराम गर्न कोही नजानुस् । म पनि आराम गर्न गएकी होइन । सरकारले राजदूत छनोट गर्दा देशलाई माया गर्ने, देशप्रेमी र जनतालाई आफ्नै परिवार, छोराछोरीजसरी माया गर्ने मान्छे पठाउनुपर्छ । राजदूतको ग्रन्थी त्यस्तो हुनुपर्छ । यो न्युनतम शर्त हो । अरु त हामीमा हुनुपर्ने गुणहरु कति छन्, कति ।
सही समयमा सही निर्णय गर्न सक्ने राजदूत हुनुपर्छ भन्छु । चौबिसै घण्टा काम गर्ने हुनुपर्छ । यति बज्यो फोन उठाउँदिनँ भन्ने हुनुहुँदैन । हामीलाई देशले यति ठूलो जिम्मेवारी दिएर पठाएको किन त ? गर्नु त प¥यो नि हामीले । जसमा देश प्रेम छ, ऊ जाने हो । नत्र त व्यापार बिजनेस छन्, अरु काम छन् नि ।
दूतावासहरुमा स्रोत साधनको अवस्था के छ ?
स्रोत साधन सीमित नै छ । तर, अहिलेको जमानामा अधिकतम उपभोग कसरी गर्ने भनेर हामी पनि अलिकति प्राविधिक पनि हुनुपर्यो ।
परराष्ट्र मन्त्रालय र दूतावासबीच कोअर्डिनेशनको कत्ति जरुरी छ ?
अत्यन्तै जरुरी छ । मेरो हकमा समस्या भएन । अरुका हकमा त मैले पनि सुनें । तपाईले पनि सुन्नुभयो । पत्रिकामा पनि आए । राजीनामा दिएर मान्छेहरु फिर्ता नै आउनुपर्यो । मेरो हकमा चाहिँ मैले एकदिन पनि भोग्नुपरेन । मेरो विचारमा राजदूत प्रोएक्टिभ हुनुपर्छ । तपाईको भिजन क्लियर छ भने कसैले पनि बाधा व्यवधान ल्याउनै सक्दैन । गर्दै गर्दैन कसैले ।
म आउने बेलामा मैले ड्राइभर, खाना बनाउने हेल्परलाई धन्यवाद दिएँ । मलाई मिटिङमा समयमै नपुर्याइएको भए म पुग्थें ? मलाई सबैभन्दा सहयोग गर्ने त उहाँहरु हो नि । को–अपरेशन एकदम महत्वपूर्ण छ । लिडरसिपसँग मिसन, भिजन र उद्देश्य क्लियर हुनुपर्छ । भ्रष्ट आचरण हुनु पनि हुँदैन, गर्न पनि दिनुहुँदैन ।
अन्त्यमा, तपाई राजदूत हुँदै गर्दा मेनपावर व्यवसायीको परिवारसँग जोडिएको, कूटनीतिक क्षेत्रको अनुभव नभएको, पार्टीको कोटाबाट आएको जस्ता समाचार आएका थिए । साढे चार वर्षपछि फर्केर हेर्दा कस्तो लाग्छ ?
मैले त्यतिबेला के सोचें भने मेरो क्षितिज र सोचाइ फराकिलो छ । मिडियामा आएका कुरालाई पनि त्यति ध्यान दिइनँ । इग्नोर गरें । अर्को कुरा, त्यो जनताको चासोको विषय पनि थियो । त्यसैले केही गल्ती होला कि भनेर त्यसलाई सकारात्मक रुपमा लिएँ र सचेत बनें । कतिले मलाई चिन्नुहुन्थ्यो । सबैलाई सबै कुरा थाहा पनि थिएन । त्यो एउटा पदका कारण आइरहेको कुरा थियो । राजदूतको गरिमा पनि ठूलो हुन्छ । यो मेरो व्यक्तिगत कारण आएको होइन भनेर बुझें । शर्मिलाले कस्तो काम गर्छे भनेर पनि निकै कमलाई थाहा थियो । पछिल्लो समय त उहाँहरुले नै सहयोग र समर्थन गर्नुभयो । अहिले त मिडियाले पनि राम्रो सर्पोट गर्नुभयो । मैले गरेका कामहरु उजागर गरेर मानिसहरुलाई पनि थाहा दिनुभयो । उहाँहरुले प्रेरित पनि गर्नुभयो । कोभिडका बेला नेपाल फर्कनेहरुलाई टिकट काटेको समयमा त ३ हजारभन्दा धेरै मानिसहरुले सबैतिरबाट सम्पर्क गरेर धन्यवाद भनेर म्यासेज गर्नुभएको छ । अक्सिजन सिलिन्डर पठाएका बेलामा प्रशंसा गर्नुभएको छ । अरु बेलामा हौसला दिनुभएको छ ।
म त्यो दिन पनि आक्रोशित थिइँन । म अहिले पनि छैन । हुने कुरै भएन । म यसरी लिन्छु । रिस राख्ने त कहिल्यै होइन । आक्रोश लिएकी भए म आफैं जलेर खरानी हुन्थें ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो