शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

३१ वर्षीय युवा बने एमालेको पालिका अध्यक्ष

बिहीबार, ११ कात्तिक २०७८, १६ : ५६
बिहीबार, ११ कात्तिक २०७८

नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत गुल्मीको इस्मा गाउँपालिकामा ३१ वर्षीय युवा राजेन्द्रविक्रम कुँवर अध्यक्ष पदमा निर्वाचित भएका छन् । कुँवर ९३ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन् । उनको प्रतिस्पर्धी नारायण पैयानीले ४६ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी विनबहादुर गौतमले १० मतमात्र प्राप्त गरे ।

उपाध्यक्ष पदमा नारायण पराजुली सर्वसम्मत चयन भएका छन् । सचिवमा गनुप्रसाद अधिकारी निर्वाचित भएका छन् । त्यस्तै उपसचिवमा नविन अर्याल र कल्पना अधिकारी सर्वसम्मत चयन भएका छन् ।

इस्मा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कुँवर विद्यार्थी नेता हुन् । २०६२÷०६३ को जनआन्दोलनमा अनेरास्ववियुको जिल्ला सदस्यबाट जनआन्दोलनमा सक्रिय उनी हस्तीचौरका बासिन्दा हुन् । एमाले गुल्मीको इतिहासमै कुँवरले सबैभन्दा कम उमेरमा पालिकाको नेतृत्व हासिल गरेका हुन् ।

जिल्लाका १२ वटा पालिका मध्ये ३ पालिकाको अधिवेशन अझै हुन सकेको छैन । रेसुङ्गा नगरपालिकामा हरि पोखरेल र पदम अर्याल दुवैले अध्यक्ष पदको दाबी नछाडेपछि सहमतिको प्रयास गरिएकोे जिल्ला पार्टी अध्यक्ष मधुकृष्ण पन्तले बताए ।

उता, धुर्कोट गाउँपालिकामा हिमप्रसाद पन्थी र लोकबहादुर केसी दुवैले अध्यक्ष पदको दाबी नछाडेपछि नेतृत्व चयनमा सकस भएको छ । मदाने गाउँपालिकामा अध्यक्षको दावेदार धेरै देखिएका छन् । गाउँपालिका उपाध्यक्ष सरिता खड्का, प्रेम केसी, प्रेम घिमिरे, चक्रबन्दु भुसाल लगायतले अध्यक्षको दावेदारी नछाडेको बताइन्छ ।

बिहीबार साँझसम्म सहमतिको प्रयास गरिने र त्यतिन्जेल सहमति नभए मतदानमार्फत नयाँ नेतृत्व चयन गरिने जिल्ला अध्यक्ष पन्तले बताए ।

यसअघि मुसिकोट नगर कमिटीमा प्रकाश काफ्ले , कालिगण्डकीमा रामजी ढकाल, सत्यवतीमा भीमप्रसाद पाण्डे, रुरुक्षेत्रमा परशुराम ज्ञवाली, छत्रकोटमा पिताम्बर अर्याल,  गुल्मीदरवारमा कृष्ण खनाल र मालिका गाउँपालिकामा ओम कार्की सर्वसम्मत रुपमा नेतृत्वमा चयन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप